सर्लाहीमा एसईईका लागि ३५ परीक्षा केन्द्र तोकियो

डिसी नेपाल
१२ चैत २०८२ १८:५४
16
Shares

सर्लाही। आगामी चैत १९ गतेदेखि देशभर एक साथ सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि सर्लाहीमा ३५ वटा परीक्षा केन्द्र तोकिएको छ।

शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाका अनुसार अघिल्लो वर्षको तुलनामा यस पटक तीन वटा परीक्षा केन्द्र घटाइएको छ।

इकाइका अनुसार जिल्लाको बरहथवा नगरपालिका–५ हात्तीडण्डास्थित जनहित मलभोगिया माध्यमिक विद्यालय, बरहथवा–९ मुर्तियाको मुक्तेश्वर गणेश रामसखी माध्यमिक विद्यालय र धनकौल गाउँपालिका–३ हरकठवाको जनता माध्यमिक विद्यालयमा यसअघि कायम रहेका परीक्षा केन्द्र यस वर्ष हटाइएको छ।

विद्यार्थी संख्या कम हुनु मुख्य कारण देखाउँदै ती केन्द्रहरू खारेज गरिएको जनाइएको छ भने धनकौलस्थित जनता माध्यमिक विद्यालयमा अघिल्ला वर्षहरूमा अनुशासनविपरीत गतिविधि दोहोरिँदै आएकाले पनि केन्द्र हटाउने निर्णय गरिएको इकाइले जनाएको छ।

परीक्षा सञ्चालन निर्देशिका अनुसार एउटा परीक्षा केन्द्रमा कम्तीमा ३०० विद्यार्थी हुनुपर्ने प्रावधान छ। यस वर्ष केन्द्र हटाइएका विद्यालयका विद्यार्थीहरूलाई नजिकका अन्य केन्द्रमा समायोजन गरिएको छ।

यस वर्षको एसइई परीक्षामा सर्लाहीबाट ११ हजार ३७१ परीक्षार्थी सहभागी हुनेछन्। तीमध्ये १० हजार २८५ नियमिततर्फ र १ हजार ८६ जना ग्रेडवृद्धितर्फका परीक्षार्थी रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *