खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म
गण्डकी। आज मात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त भएका खडकराज पौडेल ‘गनेस’का बारेमा धेरैलाई थाहा नहुन सक्छ। उनका बारेमा थाहा हुनेलाई पनि पौडेल राजनीतिक दलका नेता भन्दा लेखक, साहित्यकार र अभियन्ताका रुपमा बढी परिचित थिए।
तर उनी गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की-१ बाट निर्वाचित भए। उनको राजनीतिक यात्राले आजदेखि थप अर्को फड्को मारेको छ। जसले गर्दा पर्यटकीय राजधानी पोखरामा जन्मिएका उनलाई मुलुकको सिङ्गो पर्यटन क्षेत्र सुधारको जिम्मेवारी प्राप्त भएको छ।
साहित्यिक वृत्तमा गनेस पौडेल नामले परिचित उनले यसअघि पोखरामा बसेर साहित्य लेखन, पठन संस्कृतिको प्रवर्द्धनसँगै सामाजिक मुद्दामा पैरवी गर्ने व्यक्तिको छवि बनाएका थिए। पौडेलले वातावरण, सम्पदा, कला, संस्कृति संरक्षणका मुद्दालाई विभिन्न कोणबाट प्रखर रूपमा उठाउँदै आएका थिए। विसं २०७४ मा उहाँको पहिलो उपन्यास ‘पैताला’ प्रकाशित भएको थियो। उनी अखबारी लेखनमा पनि उत्तिकै सिद्धहस्त छन्।
विश्वप्रसिद्ध लेखक जोन स्टेनबेकको पुस्तक ‘अफ माइस एन्ड मेन’को नेपाली संस्करण ‘मुसा मानुष’ पनि पौडेलद्वारा अनुदित कृति हो। पौडेल पोखरामा पठन संस्कृतिको विकासका लागि स्थापित र्यान्डम रिडर्स सोसाइटी अफ नेपालका परिकल्पनाकारसमेत हुन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित क्षेत्रका नागरिकका सरोकारका विषय उठानमा पनि उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
विसं २०३६ मा पोखरा महानगरपालिका-१४ मझेरीपाटनमा जन्मिएका पौडेलले पोखरा विश्वविद्यालयबाट एमबीए र त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातक गरेका छन्। उनीसँग शिक्षण पेसाको समेत अनुभव छ। पौडेल विसं २०७९ को स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बनेका थिए।
त्यसबेला ‘लौरो’ चिह्न लिएर चुनाव लड्नुभएका उनले पाँच हजार १२८ मत प्राप्त गर्दै पराजित भएका थिए। पौडेलले दलीय एकाधिकार, भ्रष्टाचार र बेथितिविरुद्ध ‘अटेरी अभियान’ सञ्चालन गरेका थिए।
साहित्य लेखनसँगै सामाजिक अभियानमा आफूलाई क्रियाशील बनाउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन सफल उनले वालेन्द्र शाह नेतृत्वको सरकारमा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन्।
पौडेल पर्यटनमन्त्री नियुक्त भएसँगै पर्यटकीय राजधानी पोखराका पर्यटन व्यवसायीलगायतले पर्यटन क्षेत्रको सुधार र दिगो विकासको अपेक्षा गरेका छन् । उहाँको कार्यकालमा पर्यटन क्षेत्रमा नीतिगत सुधारसँगै लगानीको सुरक्षा, पर्यटन पूर्वाधार विकास र प्रवर्द्धनका कामले गति लिने विश्वास गरिएको छ ।







डिसी नेपाल







Facebook Comment