पूर्वराष्ट्रपति भण्डारीको चिन्ता- ओली-लेखक पक्राउ अस्थिरताको जोखिम बढाउनसक्छ

डिसी नेपाल
१४ चैत २०८२ १६:२२
124
Shares

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउप्रति चिन्ता व्यक्त गरेकी छन्। शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले पक्राउले दूरगामी प्रभाव पार्ने र अस्थिरताको जोखिम बढाउनसक्ने चिन्ता व्यक्त गरेकी छन्।

‘कार्की आयोगको प्रतिवेदन स्वयंमा पूर्ण नभएको कुरा अध्ययनहरूले देखाएको सन्दर्भमा सरकार गठन भएको पहिलो दिनमै उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिनु अत्यन्तै संवेदनशील र दूरगामी प्रभाव पार्ने विषय हो। यस प्रकारको अपरिपक्व निर्णय वर्तमान संविधान, प्रचलित कानुन तथा स्थापित लोकतान्त्रिक अभ्यासहरूसँग मेल नखाने देखिन्छ,’ उनले भनिन्।

कुनै पनि जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत प्रक्रिया, पर्याप्त अध्ययन तथा संस्थागत परामर्श आवश्यक हुने उनको भनाइ छ। हतारमा गरिएको निर्णयले विधिको शासनप्रति जनविश्वास कमजोर बनाउनसक्छ र मुलुकमा पुन: द्वन्द्व तथा अस्थिरताको जोखिम बढाउन सक्ने उनको चिन्ता छ।

‘सुशासनलाई मुख्य एजेन्डा बनाएर गठन भएको वर्तमान सरकारबाट यस्तो अपरिपक्व कदम चालिनु अत्यन्त दु:खद् विषय हो। लोकतान्त्रिक मूल्य, मान्यता तथा संवैधानिक मर्यादाको सम्मान गर्दै उक्त निर्णयलाई पुनर्विचार गरी फिर्ता लिनु उपयुक्त हुन्छ,’ उनले जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

उनले सरकारलाई संयमता अपनाउँदै विधि र प्रक्रियाअनुसार अघि बढ्न आग्रह गरेकी छन्। उनले मुलुकको स्थायित्व र लोकतान्त्रिक प्रणालीको संरक्षणतर्फ गम्भीर हुन अनुरोध गरेकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *