भदौ २४ गतेको घट्नालाई अनुसन्धान गर्न भ्याइएन भन्ने कस्तो तरिका हो ? : भीष्मराज आङ्देम्बे

डिसी नेपाल
१९ चैत २०८२ १५:४३
64
Shares

काठमाडौं। नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनपछि बिहीबार बसेको नयाँ प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै राष्ट्रिय एकता र लोकतन्त्रप्रतिको प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै दल भिन्न भए पनि देश एउटै भएकाले कसैले देशमा रगत बगाउन नपरोस् भन्ने संकल्प गर्नुपर्ने बताए।

उनले भने, ‘डुबे सबै डुब्छौं, उठे सबै उठ्छौं। र सँगै उठ्छौं। दल भिन्न होला तर देश एउटै हो। संकल्प गरौं अब कसैले रगत बगाउन नपरोस्। फागुन २१ को निर्वाचनमा उत्साहका साथ ठूलो संख्यामा सहभागी भएर समस्त नेपालीहरूले लोकतन्त्रप्रतिको बलियो निष्ठा प्रकट गर्नु भएको छ।’

आङ्देम्बेले कांग्रेसको इतिहास र नेतृत्व क्षमतामा गर्व व्यक्त गर्दै विपक्षी दलसँग सहकार्यको भावना व्यक्त गरे। ‘कुनै बेला कांग्रेसले अपनाएको बाटोमा विपक्षमा खरो उभिएर अब दलहरूबाट देश चल्दैन भन्ने मित्रहरू पनि नयाँ दल खोलेर सबैभन्दा ठूलो दल बनेर यहीँ संसदमा हुनुहुन्छ। नेपाली कांग्रेस निर्वाचनबाट दोस्रो दल बनेपनि पार्टीले बोकेको सिद्धान्त, विचार र बाटो अझ सबल र सफल बनेको छ,’ उनले भने।

सांसदले कांग्रेसको निरन्तरतामा आधारित दृष्टिकोण र जिम्मेवार प्रतिपक्षको भूमिकामा जोड दिए। उनले हरेक कालखण्डमा परिवर्तनको नेतृत्व कांग्रेसले गर्दै आएको र अरुले उठाएको जायज मुद्दालाई निष्कर्षमा कांग्रेसले नै पुर्याएको बताए।

‘हरेक कालखण्डमा कि त हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गर्दै आयो कि त अरुले उठाएको जायज मुद्दालाई निष्कर्षमा कांग्रेसले नै पुर्यायो। त्यस हिसाबले कांग्रेस जेनजी विद्रोहले उठाएको मुद्दालाई पनि निष्कर्षमा पुर्याउन प्रतिबद्ध छ। एक जिम्मेवार प्रतिपक्षी दलको रूपमा यो परिवर्तनलाई साथ दिन र खबरदारी गर्न कांग्रेस प्रतिवद्ध छ। परिवर्तनको स्वर र भावनालाई आत्मसात गरेर नेपाली कांग्रेसको विशेष महाधिवेशनले विभिन्न दृष्टिकोण पारित गरेको स्मरण गर्न चाहन्छु,’ उनले भने।

उनले भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यसपछि गरिएको छानविन आयोगको प्रतिवेदनप्रति लक्षित गर्दै प्रश्न समेत गरे।

उनले भने,‘आज हामी जहाँ यो बैठक बसिरहेका छौं यो हाम्रो संसद भवन होईन। हाम्रो संसद भवन भदौ २४ गते खरानी भयो। यो बेला त्यो खरानीलाई सम्झौं, अनि संकल्प गरौं यसरी काम गरौं ताकी भविस्यमा यो देशलाई खरानी बनाउन कोहि अघि नसरुन्।

किन खरानी भयो संसद भवन ? किन जल्यो सिंहदरबार ? किन ध्वस्त बनाइए अनेकौं भौतिक संरचना ? म सभामुख महोदय सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु भदौ २३ र २४ दुवै दिनका घटनालाई एकएक केलाउन जरुरी छ।’

उनले भदौ २३ गतेको घटना देख्ने २४ को नदेख्ने अनि कसैले २४ को ध्वंस देख्ने, २३ को दमन नदेख्ने भन्दै प्रश्न गरे।

‘कसैले २३ गतेको घटना देख्ने २४ को नदेख्ने। कसैले २४ को ध्वंस देख्ने, २३ को दमन नदेख्ने। यो प्रवृत्ति एकदम गलत छ। हुँदाहुँदा सरकारले बनाएको जाँचबुझ आयोगले सम्म २३ गतेको घटनाको अनुसन्धान ग¥यो, कारवाहीको सिफारिस ग¥यो। तर २४ को घटनाको अनुसन्धान गर्न भ्याइएन भन्यो। यो कस्तो तरिका हो ? पटकपटक समय थप्ने, तर समय पुगेन भन्ने यो कर्म जाँचबुझ आयोगमा रहेका व्यक्तिहरुबाट नियतवश भएको होईन भनेर भन्न मिल्ने देखिन्न,’ उनले अगाडि भने।

उनले जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक गर्ने कि सरकारले पनि गोरखापत्रमा पढ्ने भन्दै प्रश्न गरे। ‘यस विषयमा सरकारले सुझबुझपुर्ण ढंगले कानुन र प्रक्रियाको मर्यादा राखेर आफुलाई प्रस्तुत गरोस्। काँग्रेस दोषी कोहि उम्किनुहुन्न, निर्दोष कोहि फँस्नुहुन्न भन्ने मान्यता बिगतदेखिनै बोक्दै आएको छ। यो मान्यतामा हामी आज पनि प्रष्ट र दृढ छौं,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *