नैतिक उज्यालोले उजागर हुने सामाजिक सम्बन्ध

तोमनाथ उप्रेती
२१ चैत २०८२ ७:३९
8
Shares

आजको विश्व प्रविधि-विस्फोट, जनसङ्ख्या दबाब, जलवायु परिवर्तन र नैतिक संकटको सामना गरिरहेको छ। यस्ता चुनौतीहरू कानुनी, आर्थिक वा प्राविधिक उपायले समाधान गर्न सकिँदैन। यहाँ अन्तर्मनको उज्यालो र आध्यात्मिक चेतनाको आवश्यकता अपरिहार्य छ।

प्रविधि क्षेत्रमा कृत्रिम बुद्धिमत्ता वा जैव-प्रविधिमा नैतिक सीमारेखा कायम नगरेको खण्डमा मानवीय जीवन जोखिममा पर्छ। यसैले व्यक्तिगत अन्तर्मनको उज्यालो मात्र नभई नेतृत्व र नीति-निर्माणमा पनि आध्यात्मिक दृष्टिकोण आवश्यक हुन्छ।

अध्यात्म जीवनको आभूषण हो। यसले मानिसलाई भित्री संसारसँग भेट गराउँछ। बाहिरका आडम्बरहरू क्षणभंगुर हुन्, तर अन्तर्मनको सत्य चिरन्तन हुन्छ।अध्यात्म कर्मकाण्ड होइन। यो आत्म-अन्वेषणको बाटो हो। ऋषि-मनीषीहरूले यसलाई सत्य, आत्मा र परमात्माको सन्देशका रूपमा व्याख्या गरेका छन्।

मानव जीवन समाजसँग घनिष्ट रूपमा जोडिएको छ। सामाजिक सम्बन्धहरू केवल आवश्यकताको आधारमा टिक्दैनन्, बरु नैतिक मूल्य र सद्भावनामा आधारित हुँदा स्थायी र सुन्दर हुन्छन्। जब हृदयमा नैतिक उज्यालो हुन्छ, मानिस आपसी समझदारी र सहिष्णुताको मार्गमा अघि बढ्छ।

नैतिकता नियम पालन गर्नु मात्र होइन यो आफ्नै इच्छालाई नियन्त्रण गरी, अन्यको हितलाई प्राथमिकता दिन सक्नु हो। यस्तो दृष्टिकोणले व्यक्तिगत सम्बन्ध मात्र होइन, समग्र समाजलाई पनि उजागर गर्छ। विश्वास, सम्मान र पारदर्शितामा आधारित सम्बन्धहरू नै जीवनको वास्तविक धरोहर हुन्।

सामाजिक जीवनमा द्वन्द्व र मतभेद अपरिहार्य छन्। तर जब मानिस नैतिकताको प्रकाशमा सोच्दछ, उसले विवादलाई सुल्झाउने र सहकार्यको मार्ग बनाउने क्षमता विकास गर्छ। सहिष्णुता र करुणा सामाजिक सम्बन्धलाई दिगो बनाउने मूल आधार हुन्।

सहिष्णु समाजको निर्माणको पहिलो आधार व्यक्ति-स्तरको अन्तर्मन सुधार हो। जब प्रत्येक नागरिकले आफ्नो अन्तरमनमा अनुशासन, नैतिक मूल्य र आध्यात्मिक चेतना विकास गर्छ, तब उसले आफ्नो स्वार्थका लागि होइन, समग्र समाजका लागि निर्णय र कार्य गर्ने क्षमता प्राप्त गर्छ। गीता, उपनिषद्, बौद्ध दर्शन लगायत प्राचीन ग्रन्थहरूले यही कुरा स्पष्ट पारेका छन् कि आत्म-जागरण र आत्म-परिष्कार नै समाजिक सद्भावको मूल आधार हो।

मानव सभ्यताको वास्तविक मूल्य बाह्य संरचना, प्रविधि वा शक्तिमा होइन, मानव हृदयभित्र प्रज्वलित चेतनाको उज्यालोमा निहित हुन्छ। जब हृदय उज्यालो हुन्छ, विचार शुद्ध हुन्छ। विचार शुद्ध हुँदा आचरण संयमित हुन्। आचरण संयमित हुँदा समाज सहिष्णु बन्छ। यस अर्थमा सहिष्णु मानव समाज कुनै कानुनी दस्तावेज वा राजनीतिक घोषणाबाट होइन, आत्मचेतनाले प्रकाशित हृदयबाट निर्माण हुन्छ।

सहिष्णुता आत्मबोधको उपज हो। उपनिषदले “तत्त्वमसि” भनेर आत्मा र समष्टिको ऐक्यबोध गराउँछ। जब व्यक्ति आफूलाई मात्र होइन, अरूलाई पनि आफ्नै अस्तित्वको विस्तारका रूपमा बुझ्न थाल्छ, तब द्वेष, अहंकार र हिंसाको आधार स्वतः कमजोर हुन्छ। यही आत्मिक अनुभूतिले सहअस्तित्वको भावना जन्माउँछ। सहिष्णु समाज भनेको मतभेदभित्र पनि मानवता जोगाउने चेतनाको उपस्थिति हो।

आध्यात्मिक तहमा सहिष्णुता करुणाको रूप हो। बुद्ध दर्शनले करुणालाई सबैभन्दा उच्च मानवीय गुण मानेको छ। करुणा तब सम्भव हुन्छ, जब हृदय संवेदनशील हुन्छ र पीडामा परेकालाई “अरू” होइन, “आफ्नै” ठानिन्छ।

यस्तो हृदय उज्यालोले भरिएको हुन्छ-जहाँ घृणाको अन्धकार टिक्न सक्दैन। जब समाजका सदस्यहरू करुणामा आधारित व्यवहार गर्न थाल्छन्, तब सामाजिक विभाजन, हिंसा र असहिष्णुता क्रमशः क्षीण हुँदै जान्छ।

आधुनिक समाजमा असहिष्णुता प्रायः अहंकार, असुरक्षा र आत्मविच्छेदनबाट जन्मिन्छ। व्यक्ति जब आत्मिक रूपमा रिक्त हुन्छ, तब बाह्य पहिचान—जात, धर्म, विचार वा शक्तिलाई नै सबैथोक ठान्न थाल्छ।

यही संकीर्णता सामाजिक टकरावको कारण बन्छ। तर आध्यात्मिक चेतनाले व्यक्तिलाई भित्र फर्काउँछ, आत्मसँग जोड्छ, र भित्री शून्यतालाई उज्यालोले भरिदिन्छ। आत्मसँग जोडिएको व्यक्ति अरूलाई नकारेर होइन, स्वीकार गरेर बाँच्न सिक्छ।

हृदयको उज्यालोले रचिने समाजमा न्याय केवल कानुनी अवधारणा हुँदैन, नैतिक अनुभूति बन्छ। त्यहाँ सहिष्णुता कमजोरी होइन, चेतनाको उच्चतम अवस्था मानिन्छ। यस्तो समाजमा शक्ति होइन, विवेक निर्णायक हुन्छ, प्रतिस्पर्धा होइन, सहकार्य मूल्यवान् हुन्छ।

यही आध्यात्मिक आधारमा उभिएको समाज दीर्घकालीन रूपमा शान्त, समावेशी र मानवीय हुन्छ। सहिष्णु मानव समाज अन्तर्मनको रूपान्तरणको फल हो। जब प्रत्येक व्यक्तिको हृदयमा आत्मज्ञानको उज्यालो बल्छ, तब समाज स्वतः उज्यालो हुन्छ। यही उज्यालो नै मानव सभ्यताको वास्तविक भविष्य हो।

महात्मा गान्धीले आफ्नो व्यक्तिगत जीवनलाई नैतिकता, सत्य र अहिंसामा समर्पित गरेर भारतीय स्वतन्त्रता आन्दोलनलाई मात्र सफल बनाएनन्, समाजमा सहिष्णुता र सहअस्तित्वको संस्कृति पनि प्रवर्द्धन गरे।

समान रूपमा, डा. अब्दुल कलामको जीवनमा शान्ति, सेवा-भाव र नैतिकता आत्मसात् गरेर उनले शिक्षा, विज्ञान र समाज सुधारका माध्यमबाट सहिष्णु समाजको निर्माणमा योगदान दिए। यी उदाहरणहरूले प्रमाणित गर्छन् कि व्यक्तिगत अन्तर्मनको उज्यालो समाजिक मेलमिलाप र सहअस्तित्वको मूल स्रोत हो।

व्यवहारिक अभ्यास हो। जब नागरिकले जातीय, सांस्कृतिक, धार्मिक वा भाषागत भिन्नतालाई सम्मान गर्छन्, तब मात्र समाजमा स्थायी सद्भाव कायम हुन्छ। स्क्यान्डिनेभियन मुलुकहरूको अनुभव यस सन्दर्भमा उल्लेखनीय छ।

स्वीडेन, नर्वे र डेनमार्कले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र मानव-अधिकारमा समावेशी नीति अपनाउँदै समाजमा असमानता न्यून गरेका छन्। यहाँको नागरिकहरूले अन्तरमनमा समानता, करुणा र सहिष्णुता विकास गरेका छन्, जसले सामाजिक विवाद, द्वन्द्व र असमानता कम गर्ने कार्य गरेको छ।

समाज शान्ति खोज्छ। तर समाजको मूल आधार व्यक्ति हो। अशान्त व्यक्ति मिलेर स्थिर समाज जन्मँदैन। शान्त अन्तर्मनले मात्र सहअस्तित्व सम्भव हुन्छ। त्यसैले, समाज सुधारको बाटो व्यक्ति-सुधार हो। व्यक्ति सुधारको बाटो अन्तर्मनको शुद्धि हो।हिन्दू योगले ध्यानमार्फत अन्तर्मनलाई निखार्छ। बौद्ध दर्शनले करुणा र माया मार्फत आत्मालाई पवित्र बनाउँछ।

शुद्ध चेतनाले द्वेषलाई भंग गर्छ। यसले मानिसलाई ‘म’ बाट ‘हामी’ तर्फ डोर्‍याउँछ। जब आत्माले भिन्नताको पर्दा हटाउँछ, तब सामाजिक मेलमिलाप जन्मिन्छ। जात, धर्म, भाषा, पद यी सबै कृत्रिम भित्ताहरू भत्किन्छन्। शुद्ध आत्मा मानवताको भाषा बोल्छ।सामाजिक सद्भाव कुनै व्यवस्थाले मात्र ल्याउन सक्दैन। कानुनले दण्ड दिन सक्छ, तर प्रेम जन्माउन सक्दैन। प्रेम र भाईचारो अन्तर्मनको उज्यालोबाट मात्र जन्मिन्छ।

सत्य के हो भने, बाह्य व्यवस्था सुधार्नुअघि भित्री व्यवस्था सुधार्नुपर्छ। यदि अन्तर्मन असन्तुलित छ भने, बाह्य सुधार असफल हुन्छ। तर अन्तर्मन शुद्ध भयो भने, समाज स्वतः शुद्ध हुन्छ।अध्यात्म बिना जीवन अधुरो हुन्छ। अन्तर्मन शुद्ध बिना समाज अस्थिर हुन्छ।

शुद्ध चेतनाले मात्र करुणा, समानता र सद्भाव जन्माउँछ। त्यसैले, अध्यात्म मार्गले आत्म-परिष्कार गरौं। आत्म-परिष्कारले सामाजिक सहअस्तित्व सुनिश्चित गर्छ। यही नै दिगो समाज निर्माणको शाश्वत सूत्र हो।

अन्तर्मनको शुद्धिकरणले मात्र व्यक्ति स्वयम् शान्त, सन्तुष्ट र सफल हुँदैन, वरन् समाज पनि सुन्दर, समृद्ध र स्थिर बन्न सक्छ। अध्यात्मिक अभ्यासले मानिसलाई आफ्नो भित्री स्वभावलाई चिनेर सुधार्न र आफू मात्र होइन, अरूको जीवनमा पनि सकारात्मक प्रभाव पार्न सक्षम बनाउँछ।

यसले हाम्रो दैनिक जीवनलाई मात्र होइन, सम्पूर्ण समाज र राष्ट्रलाई नै उज्यालो बनाउने सामर्थ्य राख्दछ। त्यसैले, अन्तर्मनको शुद्धिकरण र सामाजिक सद्भावलाई मानव जीवन र विकासको अभिन्न अङ्गको रूपमा लिन आवश्यक छ।

व्यक्तिगत चेतना र नैतिकता मात्र समाजलाई स्थायित्व, मेलमिलाप र समृद्धि तर्फ डोर्याउन सक्छ। जब प्रत्येक नागरिकले आत्म-परिष्कार, नैतिक मूल्य र सेवा-भाव आत्मसात् गर्छ, तब समाजमा समानता, न्याय, करुणा र सहिष्णुताको संस्कृति स्थापित हुन्छ। सामाजिक सम्बन्धहरूमा सजगता र सद्भावनाले केवल सतत मेलमिलाप मात्र सुनिश्चित गर्दैन।

यसले समुदायमा विश्वासको वातावरण बनाउँछ। मानिसहरू जब आफ्नो व्यवहारमा नैतिक उज्यालो प्रकट गर्छन्, तब समाजमा प्रेम, सम्मान र साझा उत्तरदायित्व विकसित हुन्छ।नैतिक उज्यालो केवल व्यक्तिको भित्री विकासको आधार होइन।

यो समाजलाई उजागर गर्ने, सम्बन्धहरूलाई मजबुत बनाउने, र सहिष्णु शान्तिपूर्ण वातावरण सिर्जना गर्ने शक्तिशाली साधन हो। प्रत्येक व्यक्ति जब हृदयको उज्यालो लिएर अगाडि बढ्छ, समाज स्वतः नै उज्यालो हुन्छ।

(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन्।)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *