संवेदनाका स्वरदेखि इन्द्रेणी सौन्दर्यसम्म

100
Shares

अक्षरहरूमा सौन्दर्यका अप्रतिम रङहरू देख्ने र भर्ने विशिष्ट स्रष्टा हुन्-ज्ञानेन्द्र विवश ! धेरैलाई साहित्य पनि कलाकै उपज हो भन्दा पत्यार नलाग्न सक्छ। अझ कतिले प्रतिवाद गर्लान् : साहित्य साहित्य नै हो; कला कला नै हो भनेर। यी दुईमा कसरी मिलन वा संयोजन सम्भव छ र!

परन्तु ज्ञानेन्द्र विवश जस्ता मर्मज्ञहरू भने साहित्य अपार, असीमित वा अनन्त कलाकै एक अंश÷अङ्ग हो; भाषिक कला हो भन्ने मान्यता राख्छन्। भाषामा कला भर्न सके साहित्य जन्मिन्छ। साहित्यलाई सौन्दर्यपूर्ण बनाउन त्यति सजिलो छैन सबैका लागि; जति सजिलो ज्ञानेन्द्र विवश जस्ता सौन्दर्य सचेत निबन्धकारलाई छ।

सौन्दर्यले भरिपूर्ण निबन्ध सिर्जना गर्ने उनी वर्तमानका सशक्त निबन्धकार हुन्। उनी निरन्तर रङहरूसँग डुबुल्की मारिरहन्छन्। अनि ती रङहरू भावना र विचारमा उछिनपाछिन गर्दै मडारिइरहन्छन्। त्यसैले ज्ञानेन्द्र विवशका निबन्ध बढी कलात्मक हुने गर्छन्। अझ ललितकलासँग उनको अभिन्न सम्बन्ध रहेको छ। ललितकलाका बारेमा निरन्तर विचार मग्न बनेर टिप्पणी गरिरहनु उनको दैनिकी भने पनि हुन्छ।

पूर्वी नेपाल, खोटाङको सुन्दर धरतीमा जन्मेका ज्ञानेन्द्र विवश बेग्लै स्वभाव र विशेषताका व्यक्ति हुन्। त्यस्तो व्यक्ति जो निरन्तर देशका कुनाकाप्चा हेर्न, घुम्न अनि त्यहाँबाट नयाँ नौला जीवनका रङहरूसँग आत्मसात् गरी भाषिक कला निर्माण गर्न लागिरहन्छ। अनि जन्मन्छन् नेपालीमा सुन्दर र मर्मस्पर्शी नियात्रा र निबन्ध, कहिलेकाहीँ कविता पनि !

‘साहित्य जीवन र समयको साँचो प्रतिविम्ब हो।’ भनेर साहित्य, कला र जीवनलाई समीकरण गर्ने वा साहित्य-कला भनेका जीवनका सुन्दर र अभिन्न अङ्ग हुन् भन्ने विचार सम्प्रेषण गरी त्यसतर्फको आफ्नो अभिरुचि र साधनालाई ध्वनित गराउने साधक हुन् ज्ञानेन्द्र विवश ! उनी सौन्दर्यवादी साहित्यकार, निबन्धकार हुन्। अनुभूतिको जीवन्ततामा उनी रमाउँछन् मात्र होइन अन्ततः ऊर्जावान् बन्न पुग्छन्।

उनको निबन्ध सिर्जनालाई एकातिर अनुभूतिको गहिराइबाट मापन गर्न सकिन्छ भने अर्कातिर कलागत उचाइ गन्तव्य बन्छ। उनी उच्च मानवीय संवेदना भएका सर्जक हुन्। आज निबन्ध र ज्ञानेन्द्र विवश एकअर्काका पूरक वा पर्यायको रूपमा स्थापित छन्। समय र साधनाले प्रदान गर्ने नवीन चेतना, दृष्टिकोण, मान्यता उनमा मिहिन रूपमा उपलब्ध भएको बोध हुन्छ।

प्रकृति, संस्कृति, जीवन, समय र परिवेश यी पञ्चतत्त्वसँग सदैव एकाकार भइरहेको अनुभूति दिलाउने गरी निबन्ध सिर्जना गर्ने विवश आफ्ना निबन्धमा जीवनका उकाली–ओराली तथा सुखदुःखका रङहरूमा रङ्गिदै जीवन सार्थकताका लागि लेखनका माध्यमबाट प्रयत्नरत देखापर्छन्।

यसै आधारभूमिको उपजका रूपमा नेपाली साहित्यमा उनले जन्माएका-हुर्काएका-चढाएका कोसेलीहरू हुन्-पीडाका अनुभूतिहरू (कवितासङ्ग्रह, २०४८) अनि १७ वटा सबै निबन्ध-नियात्रा र जीवनीका किताबहरू।

२०५४ सालमा त्यतिखेरका उम्दा चारजना श्रीओम श्रेष्ठ ‘रोदन’ (२०२०), भीष्म उप्रेती (२०२४), युवराज नयाँघरे (२०२६) र ज्ञानेन्द्र विवश (२०२७) निबन्धकारहरूको नवोन्मेषतर्फ अग्रसर भइरहेको निबन्धलेखनलाई जनसमक्ष प्रस्तुत गर्ने र नेपाली निबन्धको वर्तमान कता लागिरहेछ भन्ने बोध गराउने हेतुले मैले संवेदनाका स्वरहरू (संयुक्त निबन्ध संकलन) सम्पादन गरेको थिएँ।

त्यतिखेर जल्दोबल्दो रूपमा सक्रिय उल्लिखित युवा निबन्धकारका चार-चारवटा निबन्ध छानेर तिनको विश्लेषणसहित प्रकाशनमा ल्याइएको थियो। चारै स्रष्टाका प्रतिनिधिमूलक निबन्ध छनौट गरिएको थियो।

हिजो चारै जना स्रष्टाको निबन्धीय भविष्य उर्वर र उज्ज्वल हुनसक्ने सङ्केत मैले आफ्नो समीक्षात्मक लेखनमा व्यक्त गरेको थिएँ भने आज चारै जनाको प्रतिस्पर्धी साधना र प्राप्तिले विशेष महत्त्व पाएकै छ।

यसबाट म अत्यन्त हर्षित र गौरवान्वित बनेको छु। निबन्ध लेखन गुणात्मक एवं संख्यात्मक दुवै दृष्टिले उन्नत अवस्थामा पुगेको म बोध गर्छु चारै जनाको। यो नेपाली निबन्ध फाँटका लागि अत्यन्त गर्वको कुरा हो।

त्यतिखेर सम्पादकीयमा मैले निबन्धकार ज्ञानेन्द्र विवशका बारेमा यस्तो लेखेको रहेछु- ‘कलाकार बलबाहु-अरनिको’ शीर्षकको व्यक्तिवृत्तको लेखन-प्रकाशनबाट २०४२ सालदेखि निबन्धयात्रा प्रारम्भ गरेका ज्ञानेन्द्र विवश समसामयिक परिवेशका घटना शृङ्खलाहरूलाई अनुभूतिका कलात्मक जलपले सजाएर प्रस्तुत गर्नु नै आफ्नो निबन्ध लेखनको अभीष्ट ठान्छन्। उनका निबन्धमा तर्कशीलताको प्राधान्य रहन्छ। विसङ्गतिप्रति व्यङ्ग्य कस्न उनी खप्पिस देखापर्छन्।

व्याख्या, वर्णनात्मकता उनका निबन्धको अर्को उल्लेख्य पक्ष हो। उनी परम्पराप्रति मोहभाव दर्साउँछन्। आत्मपरक व्याख्यात्मक शैली अँगालेर निबन्ध लेख्ने विवशका निबन्धहरू विचारशीलताले भरिपूर्ण हुन्छन्।

कलामय जीवनप्रति उनी विशेष अनुराग राख्तछन्। मानवीय जीवन पद्धतिमा उनको अभिव्यक्ति केन्द्रित देखापर्छ। सहरी परिवेशप्रति वितृष्णा तथा ग्रामीण जीवनप्रति आकर्षण प्रदर्शन गर्न उनी चाहन्छन्। सामाजिक सुधारको चाहना निबन्धगत उल्लेख्य वैशिष्ट्य हो।’

उतिबेलाको मेरो टिप्पणी आज पनि यथावत् छ, सान्दर्भिक छ भन्दा फरक पर्दैन। ज्ञानेन्द्र विवशको निबन्धीय विषयवस्तु, शैली, चिन्तन, चासो र तत्परता पनि उत्तिकै जीवन्त छ। फरक यत्ति हो, तत्कालीन जीवनदर्शन र शैलीगत चमत्कारमा भनौँ चिन्तन र प्रस्तुतिमा अवश्य परिमार्जन, परिष्कार आयो; गुणात्मकताको वृद्धि हुनपुग्यो।

उत्कृष्टतातर्फको यात्रा अघि बढ्यो। संवेदनाका स्वरहरूमा विवशका ‘सहिद, संस्कृति र संस्कार’, ‘मृगस्थलीमा प्रणय संलाप’, ‘एकान्तमा एकछिन’ र ‘शरद्को सौन्दर्य’ शीर्षकका चारवटा निबन्ध समेटेर तिनको संक्षिप्त टिप्पणी गरिएको छ। रचना शीर्षकले लेखकीय अवलोकन र चेतनालाई सङ्केत गरेको हुन्छ।

प्रारम्भदेखि अहिलेसम्मको विवशको निबन्धयात्रा प्रकृति र संस्कृतिकै ध्रुवमा परिभ्रमण गरिरहेको अनुभूति हुन्छ। यात्राको लामो शृङ्खलामा थुप्रै निबन्ध, नियात्राका कृति आए विवशका।

पछिल्लो कृति सौन्दर्यकै अन्वेषणमा केन्द्रित भएर देखापर्‍यो इन्द्रेणी सौन्दर्य (२०८२)। यसमा विविध विषयक्षेत्रसँग सम्बन्धित ५७ वटा निबन्धहरू छन्। सबैजसो निबन्धले निबन्धकार विवशको व्यक्तित्वलाई उचालेका छन्, कलमलाई तिखारेका छन् अनि शैली माझिएको पुष्टि गरेका छन्।

संवेदनाका स्वरहरूबाट मूर्त रूपमा निबन्धयात्रा प्रारम्भ गरेका निबन्धकार ज्ञानेन्द्र विवश इन्द्रेणी सौन्दर्यसम्म आइपुग्दा वयगत, लेखन शिल्पगत, विषयगत, चिन्तनगत वैशिष्ट्यले परिपक्व बन्दै आएको प्रमाण यात्राक्रममा मुखरित हुँदै आएका रहस्यमय निबन्ध-रचनाले प्रस्तुत गर्छन्। निबन्ध भनेको व्यक्तिसत्ताको सौन्दर्यपूर्ण उपस्थिति हो। विवशका निबन्ध यसै जगमा उठेर झाङ्गिन पुगेका छन्।

अन्त्यमा, प्रकृति र जीवनको रङ समायोजन गर्ने उत्सुकता र अभिव्यञ्जनाले निबन्ध स्रष्टा ज्ञानेन्द्र विवशलाई अविस्मरणीय बनाउँदै लगेतर्फ सन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा पनि निबन्ध र नियात्रा लेखनको अनुरागले विश्राम नलिओस्। लेखन निर्बाध गतिमा अग्रसर भइरहने अपेक्षासाथ विदा लिन्छु। धन्यवाद।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *