उद्योगी–व्यवसायीलाई तर्साएर र धम्क्याएर नभएर संवादमार्फत राजस्व बढाउनेतर्फ लाग्नुस् : अर्थमन्त्री वाग्ले
वीरगन्ज (पर्सा)। अर्थमन्त्री स्वर्णिम वाग्लेले राजस्वको लक्ष्यभन्दा धेरै रकम सङ्कलन गर्नेगरी काम गर्नका लागि वीरगन्ज भन्सारका कर्मचारीहरूलाई निर्देशन दिएका छन्। अर्थमन्त्री वाग्लेले आज यहाँस्थित वीरगन्ज भन्सार कार्यालयको निरीक्षण गर्दै लक्ष्यअनुसारको राजस्व उठाउन पनि दबाब पर्ने भए तापनि संवादमार्फत नै राजस्वको लक्ष्यभन्दा धेरै रकम उठाउन अनुरोध गरे।
‘लक्ष्यअनुसार राजस्व उठाउनका लागि एउटा दबाब पनि पर्ने गर्छ। त्यतिबेला उद्योगी–व्यवसायीहरू मारमा पनि पर्ने गर्छन्। तर, उद्योगी व्यवसायीलाई धरपकड र छापा मार्नेभन्दा पनि फकाई–फकाई वा संवादबाटै राजस्व उठाउनेतर्फ अघि बढ्न निर्देश गर्दछु’, उनले भने, ‘घुसको लेनदेन हुने गरेका विभिन्न खालका गुनासाहरू पनि रहेका छन्। त्यस्ता गुनासालाई पनि अन्त्य गर्न जरुरी छ।’
अर्थमन्त्री वाग्लेले राम्रो काम गर्नेलाई प्रशंसा/पुरस्कृत गर्ने र नराम्रो काम गर्नेलाई हतोत्साहित गर्ने नीतिअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। ‘सरकारको माथिल्लो तहबाटै सदाचारको नीति अघि बढ्ने भएकाले तल्लो तहमा पनि सो कायम गर्न जरुरी छ। त्यो कुरा यहाँहरूले पनि पालना गर्नुहोला’, उनले भने, ‘बजार अनुगमन त हामीले गर्नुपर्ने हुन्छ। तर, बजार अनुगमनको पनि दुरुप्रयोग हुनेतर्फ सचेत र सहज हुनका लागि अनुरोध गर्दछु।’
अर्थमन्त्री वाग्लेले उद्योगी–व्यवसायीलाई तर्साएर र धम्क्याएर नभएर संवादमार्फत राजस्व उठाउने कार्यमा लाग्न अनुरोध गरे। ‘कडाइ गरेर एक वर्ष त राजस्व धेरै उठाउन सकिएला तर, उद्योगी व्यवसाय गर्न नै हतोत्साहि हुने वातावरण भने बनाउने छैनौँ’, उनले भने, ‘राजस्वको लक्ष्य पूरा गरेको खण्डमा तपाईँहरू मेरो नोटिसमा आउनुहुनेछ। सरकारले हामीले जुन विराट लक्ष्य लिएका छौँ, त्यसलाई परिपूर्ति गर्न सकिनेछ।’
अर्थमन्त्री वाग्लेले बदमासी गर्ने विरुद्धमा राज्य एकदमै निर्मम भएर अघि बढ्ने बताएका छन्। ‘भ्रष्टाचारलाई मलजल गर्ने समूह र व्यक्तिहरूमाथि नेपालको मौजुदा कानुन कार्यान्वयन गरेर नै छाड्नेछौँ’, उनले भने, ‘अहिले हिजोजस्तो समय छैन। समयले अहिले काँचुली फेरेको छ। नयाँ चाल र लयलाई समात्नुपर्छ भन्ने छ। अब सेवाप्रवाहमा नयाँ अनुभव गर्न पाउनुपर्नेछ।’







डिसी नेपाल







Facebook Comment