मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय नेपालीको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को प्रतिनिधिमण्डलसँग आज भएको छलफलमा उनले एनआरएनएले उठाउँदै आएका विभिन्न एजेन्डा महत्त्वपूर्ण भएकाले तिनलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए।
मन्त्री खनालले नागरिकतासम्बन्धी विषयमा केही कानुनी जटिलताका कारण थप अध्ययन र कानुन संशोधनको आवश्यकता रहेको उल्लेख गरे। देशलाई आर्थिक रूपान्तरण गर्न ठूला लगानी परियोजनामा ध्यान केन्द्रित गर्न आग्रह गर्दै उहाँले सेवा क्षेत्रमा पनि संस्थागत पहल आवश्यक रहेको बताए।
पोर्चुगलमा रहेका नेपालीको समस्यालाई लिएर मन्त्रालयले मानवीय आधारमा पहल गरिरहेको जानकारी दिँदै उनले प्राविधिक कठिनाइ हुँदाहुँदै पनि मानवीय दृष्टिकोणबाट समाधान खोज्न सम्बन्धित देशसँग संवाद भइरहेको जानकारी दिए। सो छलफलमा एनआरएनएका पदाधिकारीले नागरिकता, लगानी, श्रम आप्रवासन र विदेशस्थित नेपालीहरूको सुरक्षासम्बन्धी विषय उठाएको एनआरएनए सचिवालयले जनाएको छ।







डिसी नेपाल







Facebook Comment