अण्डाको मूल्य क्रेटमा १५ रुपैयाँले बढ्यो
काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले आइतबारदेखि लागू हुनेगरी अण्डाको नयाँ मूल्य सार्वजनिक गर्दै सबै प्रकारका अण्डामा प्रतिक्रेट १५ रुपैयाँ वृद्धि गरेको जनाएको छ । संघका अनुसार अब ठूलो अण्डा एक्स एलको मूल्यप्रति क्रेट ४७५ रुपैयाँ पुगेको छ । यसअघि ४६० रुपैयाँ रहेको थियो । त्यस्तै ठूलो अण्डा ४५० रुपैयाँ पुगेको छ । यसअघि यसको मूल्य ४३५ रुपैयाँ प्रतिक्रेट रहेको थियो र मिडियम अण्डा ४०० रुपैयाँ पुगेको छ । यसअघि यसको मूल्य ३८५ रुपैयाँ रहेको थियो ।
संघले अण्डा उत्पादक किसानहरूसँगको छलफल तथा कार्यसमिति बैठकको निर्णयअनुसार २०८२ साल चैत २२ गतेदेखि लागू हुनेगरी नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरिएको जानकारी दिएको छ । मूल्य निर्धारण गर्दा चितवनलाई आधार मानिएको संघले जनाएको छ । संघले देशभरका किसान तथा व्यवसायीलाई सोही मूल्य अनुसार बिक्री–वितरण गर्न अनुरोध गरेको छ । साथै, चितवनबाट अन्य जिल्लामा अण्डा ढुवानी गर्दा ढुवानी भाडा, कार्टुन तथा क्रेट खर्चबापत थप १४५ रुपैयाँ लाग्ने पनि सूचनामा उल्लेख गरिएको छ ।
अण्डाको मूल्य वृद्धि हुनुमा ढुवानी तथा प्याकेजिङ सामग्री महँगो हुनु प्रमुख कारण रहेको संघले जनाएको छ । यद्यपि, सामान्यतया गर्मी मौसममा उत्पादन घट्ने भएकाले पनि अण्डाको मूल्य बढ्ने प्रवृत्ति रहने गरेको छ । संघका सचिव मदन पोखरेलले बजार स्थिरता कायम राख्न र किसानको उत्पादन लागत सुरक्षित गर्न मूल्य समायोजन गरिएको बताएका छन् ।







डिसी नेपाल







Facebook Comment