श्रममन्त्रीलाई पदमुक्त गर्ने प्रधानमन्त्रीको निर्णय

डिसी नेपाल
२६ चैत २०८२ १५:५६
1.0k
Shares

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन्।

प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार आज साहलाई पदबाट हटाउने निर्णय गरेका हुन्। लामो समयदेखि निष्क्रिय अवस्थामा राखिएकी स्वास्थ्य बिमा बोर्डको सदस्य रहेकी मन्त्री साहकी श्रीमतिलाई साह मन्त्री भएपछि पदीय मर्यादाको दुरुपयोग गरी पुनः नियमित काममा सक्रिय गराएको भन्दै रास्वपाले बिहीबार नै कारबाहीका लागि प्रधानमन्त्री समक्ष सिफारिस गरेको थियो।

बुधबार नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने पार्टीसमक्ष पेस गरेको थियो। रास्वपाले साहको यो गतिविधिबाट पार्टीको छवि, आर्दश, सिद्धान्त र मर्यादामाथि आँच आउने देखिएको निष्कर्षसमेत निकालेको थियो। यसैका आधारमा प्रधानमन्त्री शाहले श्रममन्त्री साहलाई पदमुक्त गरेको प्रेस विज्ञ दीपा दाहालले जानकारी दिए।

रास्वपाले पार्टी विधानको धारा २५ (४) (क) ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउन नदिन जिम्मेवारी सुम्पेको र पदको दुरुपयोग भएको अवस्थामा विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन (राईट टु रिकल) सक्ने व्यवस्था भएकाले मन्त्री साहलाई जिम्मेवारीबाट अलग गर्न सिफारिस गरिएको थियो।

साथै पार्टीले यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गम्भीरता नदेखिएकाले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहतालाई सचेत गराउन प्रधानमन्त्री शाहसमक्ष सिफारिस गरेको थियो। त्यसका आधारमा प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई सचेत गराइ सकेको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *