झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

डिसी नेपाल
२६ चैत २०८२ २०:३२
92
Shares

झापा। फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र असिनासहितको वर्षाले खेतबारी उजाड बनाएको छ। मुख्य खाद्यान्न र नगदेबालीका रूपमा रहेको मकैदेखि तरकारी, फलफूल र माहुरीपालनसम्ममा यसको असर परेको छ।

जिल्ला कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार कृषि क्षेत्रमा फागुन अन्तिम सातादेखि चैत दोस्रो सातासम्मको अवधिमा मात्रै रु ३ अर्ब १९ करोड २९ लाख ८२ हजार बराबरको क्षति भएको छ।

यसबाहेक १ अर्ब ७२ करोड ७३ लाख ७४ हजार ६ सय रुपैयाँ बराबरको बाली पूर्ण रूपमा नष्ट भएको छ। झापाका १५ वटै पालिकामा क्षति देखिए पनि सबैभन्दा ठूलो मार मकैबालीले बेहोरेको छ। हावाहुरीसँगै परेको असिनाले बालीनाली थिचिएपछि उत्पादन नै नउठ्ने अवस्थामा पुगेको किसानहरू बताउँछन्।

सबैभन्दा प्रभावित क्षेत्रमध्ये बाह्रदशी गाउँपालिका रहेको छ। यहाँ लगाइएको मकैबालीमध्ये झण्डै ७५ प्रतिशत नष्ट भएको छ। सात वडा रहेको पालिकामा ८४० हेक्टर क्षेत्रफलमा लगाइएको मकैबालीमा क्षति पुगेको प्रमुख विष्टले बताए।

मकैमा मात्रै रु २७ करोड २७ लाखभन्दा बढीको क्षति भएको छ भने आंशिक क्षति रु ७५ करोड ५७ लाख नाघेको छ। वडागत विवरणले क्षतिको गम्भीरता थप स्पष्ट पार्छ। बाह्रदशी–२ र ३ मा ठूलो क्षेत्रफलमा लगाइएको मकै पूर्ण रूपमा नष्ट भएको छ। अन्य वडामा क्षति भएको छ।

बाह्रदशी गाउँपालिका–१ मा ४३९ हेक्टर क्षेत्रफलमा मकैखेती गरिएकामा २५ हेक्टर क्षेत्रफलमा पूर्ण र ३३ हेक्टर क्षेत्रफलमा आंशिक क्षति भएको छ। त्यस्तै बाह्रदशी–२ मा ७८० हेक्टर क्षेत्रफलमा मकैखेती लगाइएकामा ५९६ हेक्टरमा पूर्ण र ५७ हेक्टर क्षेत्रफलमा आंशिक क्षति भएको प्रमुख विष्टले बताए।

बाह्रदशी ३ मा ६९३ हेक्टर क्षेत्रफलमा मकैखेती लगाइएकामा ५१९ हेक्टर क्षेत्रफलमा पूर्ण र ५० आंशिक क्षति भएको छ। बाह्रदी ४ मा ५४७ हेक्टर क्षेत्रफलमा मकै खेती लगाइएकोमा २६९ हेक्टर क्षेत्रफलमा पूर्ण र १३३ हेक्टर क्षेत्रफलमा आंशिक क्षति भएको छ। बाह्रदशी ५ मा ९५७ हेक्टर क्षेत्रफलमा मकैखेती लगाइएकामा १६७ हेक्टर क्षेत्रफलमा पूर्ण र ४०० हेक्टर क्षेत्रफलमा आंशिक क्षति भएको छ। बाह्रदशी ६ मा ६५३ हेक्टर क्षत्रेफलमा मकै खेती लगाइएकोमा २० हेक्टर पूर्ण र ६७ हेक्टर क्षेत्रफलमा आंशिक क्षति पुगेको प्रमुख विष्टले बताए।

बाह्रदशी–७ मा ५३० हेक्टर क्षेत्रफलमध्ये ३३ मा पूर्ण र १०० हेक्टर क्षेत्रफलमा आंशिक क्षति भएको छ। मकैपछि तरकारी बालीमा उल्लेख्य असर परेको छ। विभिन्न वडामा साना क्षेत्रफल भए पनि तरकारी बाली नष्ट हुँदा दैनिक आम्दानीमा निर्भर किसान प्रत्यक्ष मारमा परेका छन्। तरकारी बालीतर्फ बाह्रदशी–१ मा १, बाह्रदशी–२ मा २, बाह्रदशी–३ मा ५, बाह्रदशी ४ मा ३, बाह्रदशी ५ मा २ बाह्रदशी ६ मा १ र बाह्रदशी ७ मा २ हेक्टरमा क्षति पुगेको हो। प्रमुख विष्टका अनुसार असिनासहितको वर्षा र हावाहुरीको दोहोरो प्रभावले किसान मारमा परेका छन्।

‘फूल लागेको र गोडाइको अवस्थामा रहेका बालीमा असिनाबाट अत्यधिक क्षति भयो’, उनले भने। स्थानीय तहहरूले प्रारम्भिक तथ्याङ्क सङ्कलन गरिरहेका छन् भने राहत तथा पुनःस्थापनाका उपायबारे छलफल थालेको उनको भनाइ छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *