कविता : सामन्तको मृत्यु

प्रकाशचन्द्र खतिवडा
२८ चैत २०८२ ८:०२
20
Shares

अक्सर मान्छे बिचलित बन्छ
आत्म सम्मानमा ठेस लागे पछि
हामी द्रवीभूत बन्न सकेनौं
पाषाण हृदय बोकी
मान्छेहरु अकालमै मरिरहेछन्
थुप्रँदै लासको चाङ माथि
म शवयात्री बन्न सकिनँ
आफ्नै मृत्युले गिज्याए पछि।

अक्सर मान्छे आन्दोलित बन्छ
सपनाहरु लुटिए पछि
हामी क्लान्त छैनौ
यात्रा जारी राख्दा पनि
मान्छेहरु लामबद्ध छन्
क्रान्तिको ज्यारुभाटा बोकी
म युद्धको शंङ्खघोष गर्छु
रगत र पसिना चुसिए पछि।

अक्सर म क्रान्तिका कुरा गर्छु
अन्यायले थिचिए पछि
मान्छेहरु प्रतिगमनले थलिएका छन
अस्मिता धुलिसात बनाइएको छ
मान्छे दास जस्तै बनाइएका छन
खोशिएको छ चेतना
म प्रतिगमनको प्रतिवाद गर्छु
चेतनाको दियो बले पछि।

अक्सर मान्छेहरुलाई जीवन प्रिय लाग्नु पर्ने
जिजीविषा बिउँतिए पछि
हामी अकालमा मर्न चाहन्नौ
चुपचाप मृत्यु बोकी
हार्ने छैनन मान्छेहरु युद्ध
भाग्ने छैनन मैदान छोडि
समयले इन्क्लाव भन्ने छ
विजयको शिखर चढे पछि।

अक्सर मैले लेख्छु भुइँ मान्छेको कथा
रोजी रोटी खोशिए पछि
हामी निर्धाहरुको वकालत गर्छौ
शिरमा कफन बोकी
मान्छेहरु सीमा रेखा कोरि रहेछन
मेटिएको भूगोल साक्षी राखी
मैले मानचित्र कोर्नै पर्छ
हराइ रहेको देश पढे पछि।

अक्सर हुटिट्याउँले कहाँ आकाश थाम्छ र ?
हुटिट्याउँले आकाश थाम्ने फुँइ लाए पनि
मान्छेहरु विदीर्णता खेप्न चाहँदैनन्
स्वच्छन्दताको नारा बोकी
हामी अधीर बन्नु छैन
हाम्रो आस्था मारिए पनि
म सती जानु छैन
सामन्तको मृत्यु भए पनि।

सुन्दरहरैंचा-०६, दुलारी, मोरङ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *