गद्य कविता : जीवनको पर्याय

भूमिका गैरे तिमिल्सिना
२८ चैत २०८२ ८:०२

बिहान बिहान
सूर्यको किरणले स्पर्श गर्दा
मुहारमा जुन कान्ति आउँछ
हो त्यसैले गर्छ दिनको शुरुवात
मान्छेका अव्यवस्थित कामहरुलाई
समयको सुईले निर्धारण गर्छ
अनि त्यसैले व्यवस्थित बनाइदिन्छ
छरिएका चाहनाहरु पनि
हामीलाई
हरेक कुरा गाह्रा लाग्छन्
भाग्न खोज्छौँ तनावबाट
तर थाहा छैन
शान्तिको अर्थ खोज्छौँ बाहिर बाहिर
अनि भौतारिन्छौं
झिलिमिली संसारमा
अरुलाई खुसी देख्छौँ
आफू पनि त्यस्तै बन्न खोज्छौँ
तर बुभ्दैनौँ उसका भित्री पीडा अनि मर्म
केवल देख्छौँ त बाहिरी मुस्कान र आवरणमात्र

उसको सुख सयलले लोभ्याउँछ
तान्छ घरिघरि
लाग्छ ऊ कति खुसी छ
अनि शान्त पनि
शान्ति शान्ति शान्ति
तर त्यो कहाँ छ थाहा छैन
अबुझ मनले जब बुझ्छ
शान्ति त प्रकृतिमा हरियालीमा यो वसन्तमा अनि यी ऋतुहरूमा छ ।

जब सूर्यको किरण वनस्पति चराचर जीवमा प्रकृतिमा पर्छ
आहा ! त्यो सुन्दरता त्यो सृष्टि, त्यो निरन्तरता कति मनमोहक हुन्छ पत्तै छैन
जब बुझ्छौँ शान्ति हामीभित्र प्रकृतिको समीपमा छ
मनको चञ्चलता क्षणभरमा विलिन हुन पुग्छ।

हामी रमाउँछौ,
सत्यको समीप्यता छर्लङ्ग देखिन्छ ।
मन पुलकित हुन्छ अनि पर्यावरण प्यारो लाग्न थाल्छ
सृष्टि अद्‌भूत लाग्छ
प्रत्येक जराजरा, पातपात, कणकणको अस्तित्व भेट्छौँ, महत्त्व बुझ्छौँ
हो शान्ति हामी भित्रै छ, परिवर्तन हामी भित्रै छ ।
प्रकृतिमा पर्यावरणमा
केवल पर्यावरणमा छ शान्ति अनि जीवनको पर्याय !

गद्य कविता : उपमा

असाध्यै हामी आपसमा मिल्छौँ
दु: ख सुख सङ्गै बाडौँला भन्छौँ
एउटा रोटी दुई भागमा बाडूला
जीवनको सङ्घर्ष सङ्गै गरूला
परेको अंश आधा-आधा होला
आपसमा वैमनस्यता नहोला
त भन्छौँ, तर किन हो ?
तुलो अलि ढल्किएनि याद हुँदो रहेछ ।

मान्छे स्वभावैले लोभी हुन्छ भन्छन्
गुण प्रकृतिले स्तह: दिन्छ रे
मित्रतामा हाम्रो खोट नहोला
उदाहरण सबको बनूला
मिसाल एउटै राखूला
देख्नेहरू हाम्रो कपि गर्लान्
त भन्छौँ, तर किन हो ?
सहयोग नि स्तह: ऋण हुँदो रहेछ ।

रगतको सम्बन्धभन्दा प्यारो त्यो
साथी सबैभन्दा माथि भनाइ यो
परिवेश छुट्टै, चालचलन छुट्टै
रहनसहन छुट्टै, बोलिचाली छुट्टै
सङ्कोच कुनै पनि नहोला
मनका कुरा निर्धक्क भनूला
त भन्छौँ, तर किन हो ?
सानो छल नि आँफैमा शङ्का हुँदो रहेछ ।

वसन्तहरू जति थपिदै जान्छन्
अनुभूति आँफैमा गाढा हुँदै जान्छ
परिपक्वताले सिँढी उकाल्दै जान्छ
अनुभवले व्यवहार निखार्दै लान्छ
भन्थे, सबलाई खुसी राखूला
सही गन्तव्यमा सबलाई हाकूला
त भन्छौँ, तर किन हो ? आरोपले खुट्टा नि डग्मगाउँदो रहेछ ।

स्वार्थले सिङ्गारिएको छ परिवेश
भावनाको कदर नभएको देख्दा
नजरअन्दाज गर्ने माहोल त्यस्तै
टिकाटिप्पणीमा जमाना छ व्यस्तै
राम्रोमा भन्दा नराम्रोमा चाँसो अहो !
देख्दा अचम्म लाग्छ तिनमा एकाग्रता छ बडो
कुनै मोटिवेशनले छुदैन होला
विलिन हुँने मान्छेको चोला
त भन्छौँ, तर किन हो ?

परिवर्तनले नि सही दिशा नपाउँदो रहेछ ।

मित्रताको मीठो सुगन्ध छरूला
अपनत्वको भावले सबलाई हेरूला
पीडा वेदना सबका कहूला
समान दृष्टि सबमा राखूला
दुरदराजका आवाज सुनूला आवाजविहिनका आवाज बनूला
भाइचाराको सम्बन्ध मजबुत गरूला
परिवर्तनका आवाज बुलन्द पारूला
नेपाल रहे हामी रहूला
ताज देशको शिरमा हालूला
त भन्छौँ, तर
सबै जुटे असम्भव नि नहोला ।।

गद्य कविता : क्रान्ति

ऊ क्रान्तिको अर्थ भन्छ
भाषणमा क्रान्ति दङ्गाफसादमा
मासमा क्रान्ति नारा जुलुसमा
कोणसभामा क्रान्ति युद्धमा
द्वन्द्वमा क्रान्ति सडकमा
प्रतिस्पर्धामा क्रान्ति विद्रोहमा
ऊ केवल दोहोर्याई रहन्छ, केवल दोहोर्याई रहन्छ ।

म भन्छु
हिमालको अटलतामा छ क्रान्ति
रत शान्त रहन्छ ।
पहाड अनि चट्टानमा छ क्रान्ति अडिग रहन्छ
नदीमा छ क्रान्ति निरन्तर आफ्नो गति पछ्याई रहन्छ
झरनामा छ क्रान्ति सुस्साएर लगातार झरिरहन्छ
हावामा छ क्रान्ति मान्छे चलायमान छ
जमिनमा छ क्रान्ति फसल उत्पादन भई रहन्छ
आकाशमा छ क्रान्ति घामपानी वर्षी रहन्छ ।

बुवाको जिम्मेवारीमा छ क्रान्ति
आमाको संस्कारमा
वृद्धको वैशाखीमा छ क्रान्ति
युवाको जोसमा
बालकको तोते बोलीमा छ क्रान्ति
दौँतरीको साथमा
दिदीको सामिप्यतामा छ क्रान्ति
अटुट नातामा
सहनशीलतामा छ क्रान्ति
सम्बन्धमा ।

विधवाको रातो पहिरनमा छ क्रान्ति
उसको सङ्घर्षमा
कविको विचारमा छ क्रान्ति
बुलन्द आवाजमा
दुरदराजका गाउँमा छ क्रान्ति
वेसहाराको आशमा
किसानको दशनङ्ग्रामा छ क्रान्ति
गरिबको छाकमा
परिवारको विछोडमा छ क्रान्ति
फर्कने आशमा
आवाजविहिनका आवाजमा छ क्रान्ति
उसको मौनतामा
असक्तको पिडामा छ क्रान्ति
उसको छट्पटीमा
लुप्त छन् केवल लुप्त ।

के गर्छौ घमण्डको कुरा ?
धनको यदि घमण्ड हो भने
मृत्युशैयाबाट फर्काउँन सक
जवानीको यदि घमण्ड हो भने
बालापन बचाउँन सक
रूपको यदि घमण्ड हो भने
बुढ्यौली लुकाउँन सक
शासनको यदि घमण्ड हो भने
विश्वास टिकाउँन सक
बलको यदि घमण्ड हो भने
बुद्धिमत्ता जित्न सक ।
म भनिरहन्छु, केवल भनिरहन्छु ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *