चाकरी, कोटरी र अहंकारले पतनको डिलमा कांग्रेस

जितेन्द्र जिसी
१३ वैशाख २०८३ ११:३५

निर्वाचन सकिएको छ। नयाँ सांसदहरूले शपथ ग्रहण गरिसकेका छन्। तर, आफूलाई लोकतान्त्रिक प्रक्रियाको ‘एकल ठेकेदार’ र ‘मसिहा’ ठान्ने नेपाली कांग्रेसले यति लामो समयसम्म संसद्‌मा आफ्नो संसदीय दलको नेता (प्रतिपक्षी दलको नेता) छान्न सकेको छैन।

यो सामान्य ढिलासुस्ती होइन, यो कांग्रेसभित्र मौलाएको चरम अविश्वास, गुटबन्दी र वैचारिक टाटपल्टाइको नग्न तस्बिर हो। करिब तीन दर्जन सांसदहरूलाई समेत एक ढिक्का बनाएर एउटा सर्वसम्मत वा लोकतान्त्रिक प्रक्रियाबाट नेता चुन्न नसक्ने दलले तीन करोड नेपालीको भाग्य र भविष्यको नेतृत्व गर्छ भन्ने सोच्नु आफैंमा एक भद्दा मजाक हो।

बदलिएको राजनीतिक परिस्थिति र जनमतको झापड खाएपछि पनि कांग्रेसले थोरै सांसदहरूबीच पनि एकरूपता र सुझबुझ देखाउन सकेन। अफसोस! यो कुनै प्राविधिक त्रुटि होइन, यो कांग्रेसको रगतमै परिसकेको ‘पैतृक रोग’ हो, जुन यति सहजै बदलिन सक्दैन।

कागजका पानाहरूमा विधान संशोधन गरेर वा घोषणापत्रमा ‘बदलिएको कांग्रेस’ लेखेर मात्र नेताहरूको चेतना र बुझाइ बदलिँदैन। किनकि, आजको कांग्रेस ‘चाकरहरू’ को घेराबाट मुक्त हुन चाहँदैन र कोटरीबाहिरका कुनै पनि इमानदार विचारलाई विश्वास गर्न सक्दैन।

सुधारका कुरा, उन्नत संगठनात्मक प्रोटोकल र क्लिन पोलिटिक्सका मुद्दाहरू अरूको मस्तिष्कमा जति नै उन्नत भए पनि, आज सतहमा देखिएका कांग्रेस नेताहरूले त्यसलाई स्वीकार गर्न सक्दैनन्।

उनीहरूको मनोविज्ञानमा “कांग्रेस हुनु भनेको सर्वज्ञानी हुनु हो।” यो अहंकारले उनीहरूलाई युगानुकूल बदलिनबाट रोकेको छ। कांग्रेस अझै पनि बीपी कोइरालाको तत्कालीन सिद्धान्त र सन्दर्भको सिरानी हालेर २१ औं शताब्दीको निद्रा निदाइरहेको छ।

जसले उन्नत र कुशल संगठनात्मक ढाँचा निर्माण गर्न सक्छ, जसले नीति र विकासको ब्लुप्रिन्ट कोर्न सक्छ, ऊ ‘कोटरी’ को सिफारिसबिना गन्तीमै आउँदैन।

आफ्नै वरिपरि ‘कुमार परिक्रमा’ गरिरहने, देशलाई कंगाल बनाउने र संस्थालाई डुबाउने दागी र भ्रष्ट नेताहरू सधैं शक्तिमा टिकिरहन्छन्। किनकि, कांग्रेसमा आज ‘ट्रस्ट’ (विश्वास) भनेको क्षमता वा इमानदारितामा होइन, चाकरको अनुहार र उसको चाकरीको स्तरमा मात्र प्रतिबिम्बित हुन्छ।

नेपाली कांग्रेस किन सुध्रिँदैन र किन यो क्रमिक रूपमा समाप्तिको बाटोमा छ भन्ने यथार्थलाई पुष्टि गर्ने १० तथ्यपरक र निर्मम कारणहरू यहाँ प्रस्तुत छन्:

‘चाकर’ र ‘कोटरी’ को दासत्व: कांग्रेसमा माखो झैं भन्किने चाकरहरूले नेतृत्वलाई बन्धक बनाएका छन्। स्व-जिम्मेवारीले अनवरत काम गर्ने, संगठन निर्माण गर्ने र जनताको बीचमा रहने नेता-कार्यकर्ता सधैं पाखा लगाइन्छन्। नेतृत्वलाई सत्य सुन्नु छैन, केवल आफ्नो जयजयकार सुन्नु छ। कोटरीको स्वार्थ नै पार्टीको नीति बन्ने गरेको छ।

‘सर्वज्ञानी’ हुनुको भ्रम र अहंकार: कांग्रेसका नेताहरूमा एउटा अचम्मको मनोवैज्ञानिक भ्रम छ-“हामीले जति कसैले बुझेको छैन।”

आधुनिक राजनीतिक सञ्चार, संकट व्यवस्थापन, र डाटा-ड्रिभन चुनाव प्रचारप्रसार जस्ता कुराहरू उनीहरूको बुझाइभन्दा बाहिर छन्। अरूले दिएका उन्नत सल्लाहलाई ‘आयातित’ वा ‘अव्यावहारिक’ भनेर पन्छाउने सर्वज्ञानी अहंकारले कांग्रेसलाई कुवाको भ्यागुतो बनाएको छ।

आफ्नै कार्यकर्ता लुट्ने ‘आरजु-प्रवृत्ति’: कुनै पनि दल तबसम्म लोकतान्त्रिक वा प्रगतिशील रहन सक्दैन, जबसम्म त्यसका नेताहरू आर्थिक रूपमा पारदर्शी हुँदैनन्।

आफ्नै कार्यकर्तासँग राजनीतिक नियुक्ति, टिकट र अवसरका लागि पैसा असुल्ने ‘आरजु राणा’ जस्ता प्रवृत्तिहरू हावी रहेको कांग्रेसले देशलाई समुन्नतिको बाटोमा लैजान्छ भन्ने सोच्नु दिउँसै सपना देख्नु हो। जहाँ पदको लिलाम बढाबढ हुन्छ, त्यहाँबाट देश बनाउने ‘स्टेट्सम्यान’ होइन, ठेकेदार मात्र जन्मिन्छन्।

चेतावनीलाई चुनौती ठान्ने दृष्टिविहीनता: शेरबहादुर देउवाको चुनाव क्षेत्र डडेल्धुरामा एक युवा (जसको कुनै राजनीतिक विरासत थिएन) ले चुनाव लडेर त्यति ठूलो मत ल्याउनु कांग्रेस नेतृत्वप्रतिको ठाडो चुनौती मात्र थिएन, त्यो सुध्रिनका लागि जनताले गरेको गम्भीर आग्रह थियो। तर, नेतृत्वले त्यसलाई ‘प्राविधिक विषय’ भन्दै बेवास्ता गर्‍यो। जनमतको पदचाप नबुझ्ने नेतृत्वले पार्टीलाई भीरबाट खसाल्नुबाहेक केही गर्न सक्दैन।

अवसरवाद र टिकटको फोहोरी बार्गेनिङ: आदर्श र सिद्धान्तको मृत्यु त त्यहीँ देखिन्छ, जहाँ टिकट वितरणको अघिल्लो रातसम्म कुनै व्यक्ति अर्कै दलसँग ‘टिकट बार्गेनिङ’ गर्दै बस्छ, र भोलिपल्ट बिहान कांग्रेसको टिकट पाएपछि ‘म त जन्मजात कांग्रेस हुँ’ भन्दै भाषण गर्छ। विचारविहीन र अवसरवादीहरूको यस्तो फौज जम्मा गरेर कांग्रेसले देश बनाउँछ भन्नु आफैँलाई धोका दिनु हो।

विगतको ब्याज र बीपीको जडसूत्रवाद: बीपी कोइराला दूरदर्शी नेता थिए, तर उनका सिद्धान्तहरू तत्कालीन शीतयुद्ध, पञ्चायती व्यवस्था र कृषिमा आधारित समाजका लागि लेखिएका थिए।

आजको आर्टिफिसियल इन्टेलिजेन्स, डिजिटल अर्थतन्त्र र स्मार्ट सहरीकरणको युगमा कांग्रेसले नयाँ विचार निर्माण गर्न सकेको छैन। बीपीको तस्बिर बेचेर खाने तर उनको चिन्तनको ‘अपग्रेड’ नगर्ने जडसूत्रवादले कांग्रेसलाई पछाडि धकेलिरहेको छ।

गुणात्मकताको सट्टा पैतृक/गुटगत नेतृत्व: आजका युवाहरू ‘डेलिभरी’ (नतिजा) खोज्छन्। तर कांग्रेसमा डेलिभरी दिने मानिसलाई होइन, कुन गुटको झोला बोकेको छ वा कसको सन्तान हो भन्ने आधारमा नेतृत्व सुम्पिइन्छ। दागी र भ्रष्ट नेताहरू गुटको छहारीमा सुरक्षित हुन्छन्, जसले गर्दा आम नागरिकमा कांग्रेसप्रति चरम वितृष्णा फैलिएको छ।

संकुचित आन्तरिक लोकतन्त्र: संसद्‌मा मुस्किलले ३ दर्जन सांसद जितेर आएको अवस्थामा पनि संसदीय दलको नेता सर्वसम्मत वा सौहार्दपूर्ण चुनावबाट छान्न नसक्नु भनेको कांग्रेसभित्र आन्तरिक लोकतन्त्रको हत्या भइसकेको प्रमाण हो। गुटगत भागबन्डा नमिलेसम्म संसद्‌लाई नै बन्धक बनाउने यस्तो रबैया लोकतन्त्रको उपहास हो।

कांग्रेसको प्रमुख दुश्मन कांग्रेस नै: आज कुनै पनि कम्युनिस्ट पार्टी वा नयाँ उदाएका दलहरू कांग्रेसका प्रमुख दुश्मन होइनन्; कांग्रेसको प्रमुख दुश्मन कांग्रेस नै हो। निर्वाचनमा एउटा कांग्रेसीले अर्को कांग्रेसीलाई भोट माग्दैन, बरु उसलाई कसरी हराउने र आफ्नो गुटको वर्चस्व कसरी कायम गर्ने भन्ने षड्यन्त्रमा समय खर्चिन्छ। आफ्नै जरा काट्ने यो प्रवृत्तिले कांग्रेसलाई भित्रैबाट धमिराले झैँ खाइसकेको छ।

भविष्यको ‘ब्लुप्रिन्ट’ अभाव: अबको १० वा २० वर्षमा नेपाललाई कसरी समृद्ध बनाउने? स्मार्ट मोबिलिटी, आधुनिक कृषि, बहुमले पार्किङ प्रणाली र वैदेशिक रोजगारमा गएकाहरूको रेमिट्यान्सलाई कसरी राष्ट्रिय पुँजीमा बदल्ने? यी विषयमा कांग्रेससँग कुनै ‘ब्लुप्रिन्ट’ छैन। सत्तामा कसरी पुग्ने र राज्यको दोहन कसरी गर्ने भन्ने जोडघटाउ मात्रै कांग्रेसको दैनिक कार्यतालिका बनेको छ।

सक्किएका दलहरूको इतिहास र कांग्रेसको बाटो

इतिहास साक्षी छ, समयको पदचाप नबुझ्ने र आफूलाई रूपान्तरण नगर्ने जतिसुकै ठूला दलहरू पनि कालान्तरमा संग्राहलयका वस्तु बनेका छन्। भारतमा दशकौंसम्म एकछत्र राज गरेको भारतीय राष्ट्रिय कांग्रेस आज गान्धी परिवारको चाकरी र कोटरीको राजनीतिले गर्दा कसरी खुम्चिएर अस्तित्वको संकटमा छ भन्ने ज्वलन्त उदाहरण हाम्रै सामुन्ने छ।

मेक्सिकोमा ७१ वर्ष राज गरेको इन्स्टिच्युसनल रिभोल्युसनरी पार्टी होस् वा युरोपका परम्परागत सोसलिस्ट पार्टीहरू-जब उनीहरूले जनताको भावनालाई लत्याएर ‘चाकरतन्त्र’ र ‘भ्रष्टाचार’ लाई संस्थागत गरे, जनताले उनीहरूलाई इतिहासको पानाबाटै बढारिदिए।

नेपाली कांग्रेस आज त्यही बाटोमा द्रुत गतिमा दौडिरहेको छ। नयाँ दलहरू र युवा पुस्ताले ‘डेलिभरी’ र ‘क्लिन पोलिटिक्स’ को भाष्य निर्माण गरिसक्दा पनि कांग्रेस अझै पुरानै धङधङीमा छ।

जाँदाजाँदै सुधारकालागि सुझाव

यदि कांग्रेस साँच्चै समाप्त नहुने हो,कमसेकम रास्वपाको प्रतिस्पर्धी हुने हो, भोलिका दिनमा भने र देशको नेतृत्व गर्ने हो भने, उसले परम्परागत कर्मकाण्ड छोडेर निर्मम शल्यक्रिया गर्नैपर्छ:

कोटरी प्रणालीको अन्त्य र ‘प्राइमरी इलेक्सन’: टिकट वितरण केन्द्रीय समिति वा सभापतिको खल्तीबाट होइन, तल्लो तहका क्रियाशील सदस्यहरूले भोट हालेर छान्ने प्राइमरी इलेक्सनमार्फत हुनुपर्छ। यसले चाकरी प्रथाको अन्त्य गर्छ।

भ्रष्टहरूलाई ‘नो इन्ट्री’: नियुक्तिमा पैसा असुल्ने वा भ्रष्टाचारको आरोप लागेका कुनै पनि तहका नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी तत्काल निष्कासन गर्ने कठोर आर्थिक अनुशासनको प्रोटोकल लागू गर्नुपर्छ।

विज्ञहरूको ‘थिंक ट्यांक’ : सर्वज्ञानी हुने भ्रम त्यागेर, अर्थतन्त्र, प्रविधि, इन्जिनियरिङ र परराष्ट्र नीतिका विज्ञहरू सम्मिलित शक्तिशाली थिंक ट्यांक बनाउनुपर्छ र उनीहरूले दिएको ‘डकुमेन्ट’ नै पार्टीको आधिकारिक नीति बन्नुपर्छ।

नेतृत्वको ‘एक्जिट पोलिसी’ : दुई पटकभन्दा बढी पार्टी सभापति वा प्रधानमन्त्री बन्न नपाउने र एउटा निश्चित उमेर (जस्तै: ७० वर्ष) पछि सक्रिय राजनीतिबाट ‘मार्गप्रशस्त’ गर्नुपर्ने वैधानिक व्यवस्था गर्नुपर्छ।

निष्कर्षमा, जबसम्म नेपाली कांग्रेसले आफ्ना वरिपरि भन्किने ‘चाकरहरू’ लाई लखेटेर इमानदार संगठकलाई अगाडि बढाउँदैन, जबसम्म पैसामा पद बेच्ने आरजु-प्रवृत्तिलाई जरैदेखि उखेल्दैन, र जबसम्म विचारविहीन अवसरवादीहरूलाई ढोका बन्द गर्दैन-तबसम्म कांग्रेस सुध्रिँदैन।

र, नसुध्रिएको कांग्रेसले देश बनाउने त परको कुरा, अबको एक दशकमा आफ्नो राजनीतिक अस्तित्व जोगाउनसमेत हम्मेहम्मे पर्ने निश्चित छ। समयको घडी उल्टो घुम्दैन; या त कांग्रेस ‘अपग्रेड’ हुनुपर्छ, या त इतिहासमा सीमित हुन तयार हुनुपर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *