नागरिक एपमार्फत सोझै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

डिसी नेपाल
१० साउन २०८३ ९:५६

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा एपमार्फत नै सोझै बैंक खाता खोल्न सकिने नयाँ डिजिटल सुविधा सार्वजनिक गरेको छ।

नेपालमै पहिलो पटक सुरुवात गरिएको यस प्रविधिबाट अब सर्वसाधारणलाई बैंक खाता खोल्न थप सहज हुने भएको छ। यस सुविधा अन्तर्गत १८ वर्ष वा सोभन्दा माथिका राष्ट्रिय परिचयपत्र बनाएर नागरिक एपमा आबद्ध भएका नेपाली नागरिकहरूले घरबैठै अनलाइनबाट ग्लोबल आइएमई बैंकमा व्यक्तिगत बचत खाता खोल्न सक्नेछन्।

खाता खोल्नका लागि नागरिक एप प्रयोगकर्ताले राष्ट्रिय परिचयपत्रको आधारमा बैंकको वेबसाइट वा तोकिएको लिंक (https://nagarik.gibl.com.np) मा रहेको QR कोड स्क्यान गर्नुपर्नेछ।

ग्राहकको पूर्वस्वीकृति लिएर बैंकले आवश्यक व्यक्तिगत विवरण नागरिक एपबाटै सुरक्षित रूपमा प्राप्त गर्नेछ। यसले गर्दा फाराम भर्दा व्यक्तिगत विवरण पुनः प्रविष्टि (Re-entry) गरिरहनुपर्ने झन्झट हट्नेछ भने ग्राहकको गोपनीयता र सूचनाको सुरक्षा समेत सुनिश्चित हुने बैंकले जनाएको छ।

एपमार्फत खोलिएको खाता पूर्ण रूपमा सञ्चालन गर्नका लागि ग्राहकले आफ्नो नजिकैको शाखा कार्यालयमा गएर वा भिडियो केवाईसी (V-KYC) मार्फत प्रमाणीकरण गर्नुपर्नेछ। सरकारी डिजिटल पूर्वाधारको प्रयोग गरी सुरक्षित र सरल डिजिटल बैंकिङ सेवा विस्तार गर्न पाउँदा खाता खोल्ने प्रक्रिया अझ पारदर्शी र प्रविधिमैत्री बनेको बैंकको भनाइ छ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकले ३४२ शाखा कार्यालय, ३६८ एटिएम, १४७ शाखा रहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १ हजारभन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *