संस्कार सहितको शिक्षाः आजको आवश्यकता
मानव सभ्यताको विकासक्रममा शिक्षा सधैं परिवर्तनशील रहँदै आएको छ। समय, परिस्थिति र आवश्यकता अनुसार शिक्षाको स्वरूप फेरिँदै गए पनि यसको मूल उद्देश्यः मानवलाई ज्ञानवान, सभ्य र जिम्मेवार बनाउनुः अपरिवर्तित छ। आजको युगमा विज्ञान र प्रविधिको तीव्र विकासले संसारलाई सानो बनाएको छ, जीवन शैलीलाई सहज बनाएको छ र अवसरका ढोकाहरू खोलेको छ। तर, यसैसँगै नैतिकता, मानवीयता र संस्कारको अभाव झन् प्रष्ट रूपमा देखिन थालेको छ। यही सन्दर्भमा “संस्कार सहितको शिक्षा” आजको प्रमुख आवश्यकता बनेको छ।
संस्कार भन्नाले केवल धार्मिक अनुष्ठान वा परम्परागत अभ्यास मात्र बुझिँदैन; यो मानव व्यवहार, मूल्य, अनुशासन, सहानुभूति, जिम्मेवारी र सामाजिक मर्यादाको समष्टि हो। शिक्षा यदि केवल जानकारी र सीप हासिल गर्ने माध्यम मात्र रह्यो भने त्यसले पूर्ण मानव निर्माण गर्न सक्दैन। संस्कारले नै शिक्षालाई अर्थपूर्ण बनाउँछ। ज्ञानले मानिसलाई सक्षम बनाउँछ भने संस्कारले उसलाई सही मार्गमा हिँड्न प्रेरित गर्छ।
नेपालको सन्दर्भमा हेर्दा, हाम्रो शिक्षाको जरो सनातन वैदिक परम्परामा गहिरो रूपमा गाडिएको छ। गुरुकुल प्रणालीमा आधारित शिक्षा केवल पाठ्यज्ञानमा सीमित थिएन; त्यहाँ जीवनोपयोगी सीप, आत्मअनुशासन, गुरु–शिष्य सम्बन्ध, प्रकृतिसँगको सह–अस्तित्व र नैतिक मूल्यहरूलाई विशेष महत्त्व दिइन्थ्यो। वेद, उपनिषद् र अन्य धार्मिक ग्रन्थहरूले ज्ञानसँगै आचरणलाई जोड दिएका छन्। “सत्यं वद, धर्मं चर” जस्ता शिक्षाले सत्य बोल्ने र धर्माचरण गर्ने मार्ग देखाउँछन्। यसले स्पष्ट गर्छ कि शिक्षा र संस्कार एक–अर्काका पूरक हुन्।
तर आधुनिक समयमा शिक्षाको स्वरूप धेरै हदसम्म परीक्षामुखी र रोजगारमुखी हुँदै गएको छ। विद्यार्थीहरूलाई प्रतिस्पर्धामा अघि बढ्न, अंक ल्याउन र करियर बनाउन सिकाइन्छ, तर जीवनका मूल्यहरूबारे गहिरो रूपमा छलफल गरिँदैन। परिणामस्वरूप, उच्च शिक्षित व्यक्तिहरू पनि कहिलेकाहीँ नैतिक विचलनमा पर्ने, सामाजिक उत्तरदायित्वबाट टाढा हुने वा व्यक्तिगत स्वार्थमा केन्द्रित हुने समस्या देखिन्छ। यसले समाजमा असन्तुलन सिर्जना गर्छ।
वर्तमान युग विज्ञान र प्रविधिको युग हो। कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि, जैविक अनुसन्धान र अन्तरिक्ष अन्वेषणजस्ता आधुनिक आविष्कारहरूले मानव जीवनलाई अभूतपूर्व उचाइमा पु¥याएका छन्। नेपाल पनि यस प्रवाहबाट अछुतो छैन। सूचना प्रविधिको विस्तार, अनलाइन शिक्षा, डिजिटल बैंकिङ, स्वास्थ्य प्रविधि आदि क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको छ। तर प्रविधिको प्रयोग सही दिशामा हुनका लागि नैतिक चेतना आवश्यक छ। यदि संस्कारको अभाव भयो भने यही प्रविधि दुरुपयोगको साधन बन्न सक्छ।
संस्कार सहितको शिक्षाले विद्यार्थीलाई केवल ‘के गर्ने’ मात्र होइन, के नगर्ने’ र ‘कसरी गर्ने’ भन्ने कुरा पनि सिकाउँछ। यसले निर्णय क्षमतामा सुधार ल्याउँछ, सहिष्णुता बढाउँछ र सामाजिक सद्भाव कायम राख्न मद्दत गर्छ। विविधता भएको नेपाली समाजमा सह–अस्तित्व र आपसी सम्मान अत्यन्त आवश्यक छ। जात, भाषा, धर्म र संस्कृतिको विविधतालाई स्वीकार गर्दै एकता कायम राख्न संस्कारयुक्त शिक्षा महत्वपूर्ण आधार हो।
विद्यालय र विश्वविद्यालयहरूले पाठ्यक्रममा नैतिक शिक्षा, जीवनोपयोगी शिक्षा र सांस्कृतिक चेतनालाई समावेश गर्नुपर्ने आवश्यकता छ। शिक्षकहरू केवल ज्ञान दिने माध्यम नभई आदर्श व्यक्तित्वका रूपमा प्रस्तुत हुनुपर्छ। अभिभावकको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ, किनकि संस्कारको पहिलो पाठ घरबाट सुरु हुन्छ। समाज, सञ्चार माध्यम र राज्यले पनि सकारात्मक वातावरण निर्माण गर्नुपर्ने हुन्छ।
संस्कार सहितको शिक्षाले राष्ट्रिय विकासमा पनि महत्वपूर्ण योगदान पुर्याउँछ। जब नागरिकहरू इमान्दार, जिम्मेवार र कर्तव्यनिष्ठ हुन्छन्, तब मात्र सुशासन सम्भव हुन्छ। भ्रष्टाचार, अनियमितता र सामाजिक विकृतिहरू नियन्त्रण गर्न कानुन मात्र पर्याप्त हुँदैन; नैतिक चेतना आवश्यक हुन्छ। यस्तो चेतना संस्कारयुक्त शिक्षाबाट नै विकसित हुन्छ।
अन्ततः, शिक्षा र संस्कारलाई छुट्याएर हेर्न मिल्दैन। यी दुई एकअर्काका परिपूरक हुन्। आधुनिक विज्ञान र प्रविधिको प्रगतिसँगै हाम्रो मौलिक मूल्य, संस्कृति र वैदिक दर्शनलाई समेटेर अघि बढ्नु आजको आवश्यकता हो। यसले मात्र सन्तुलित, सभ्य र समृद्ध समाज निर्माण गर्न सकिन्छ।
त्यसैले, “संस्कार सहितको शिक्षा” केवल एक नारा होइन, यो आजको युगको अपरिहार्य आवश्यकता हो। जसले ज्ञान र चरित्र दुबैलाई सशक्त बनाउँदै उज्ज्वल भविष्यको आधार तयार गर्छ। अस्तु।।
No ads found for this position


Facebook Comment