मानवीय स्वार्थ र स्वार्थहरूको चिरफार
स्वार्थ त हरेक मानिससँग हुन्छ नै। जब मानिसको अस्तित्व हुन्छ, तब स्वार्थ पनि उसँगै जोडिएर आउँछ। मानिस एक सामाजिक प्राणी भएकाले यही स्वार्थका कारण मानिसहरू समाजमा एकआपसमा मिलेर बस्न सक्षम हुन्छन्।
स्वार्थकै कारण मानिसहरू विभिन्न व्यवसाय गर्दछन्, खेतीपाती गर्छन्, उद्योग-धन्दा सञ्चालन गर्छन् र सरकारहरू परिवर्तन हुन्छन्। स्वार्थकै कारण मानिसले विभिन्न सामाजिक उथलपुथलको सामना गर्नुपर्ने हुन्छ।
स्वार्थकै कारण मार्क्सवादी दर्शनको जन्म भयो भने स्वार्थकै कारण नै पुँजीवाद आजको रूपसम्म आइपुगेको छ। मानिसहरूका स्वार्थका कारण र उद्देश्यहरू विभिन्न छन्।
जीविकोपार्जन गर्ने, स्तरीय जीवन जिउने, सृष्टि धान्ने र निसन्तान हुनबाट बच्ने, स्वाभिमान र सम्मानपूर्ण जीवन जिउने, सामाजिक र सामुदायिक हित गर्ने, समाजमा वर्चस्व कायम गर्ने तथा अथाहा धनराशि जम्मा गरेर संसारभर आफ्नो हैकम जमाउने जस्ता कुराहरू स्वार्थका आधार र उद्देश्यभित्र पर्दछन्।
मानिसको पहिलो स्वार्थ भनेको जीविकोपार्जन गर्नु र यो धर्तीमा जीवित रहनु हो भने दोस्रो स्वार्थ स्तरीय जीवन जिउनु हो। त्यसका लागि मानव श्रमलाई कसरी कम गरेर पनि उत्पादन बढाउन सकिन्छ भन्ने सोचका कारण आधुनिक प्रविधिहरूको आविष्कार भयो।
यसैले स्वार्थको पनि वर्गीकरण गर्नुपर्ने आवश्यकता देखिन्छ। यही मानवीय स्वार्थलाई राम्रोसँग नबुझ्दा संसारमा असंख्य समाजवादी सत्ताहरू ढलेका उदाहरणहरू छन्।
सर्वहारा वर्गको नाममा क्रान्ति गरी सत्तामा पुगेका शासकहरू किसान र मजदुरहरूको भलाइका लागि सधैँ दत्तचित्त हुन्छन् भन्ने कल्पना गरियो, तर परिणाम उल्टो भयो। यिनै शासकहरूले समयक्रमसँगै सत्तामा निरन्तर टाँसिरहने सत्तालिप्सा प्रवृत्ति देखाए र जनताका समस्याहरू बुझ्न छाडे।
यहाँनिर कमजोरी के रह्यो भने मानिसका स्वार्थहरू समयअनुसार परिवर्तन र रूपान्तरण हुन्छन् भन्ने कुरा भुलियो। वर्गहरू पनि रूपान्तरण हुन सक्छन् र रूपान्तरण भएको वर्गको स्वार्थ पनि परिवर्तन हुन सक्छ भन्ने कुरा नै बिस्रियो।
यसैले समाजवादी आन्दोलनमा मानवीय स्वार्थलाई गहिर गरी बुझ्नु र त्यसै अनुसारका नियम-कानुनहरू बनाउनु अत्यावश्यक छ। उत्तर कोरियामा राजतन्त्र नभए पनि बाबुछोरा पछि शासक बन्दै जाने परम्परा यसै कारण बनेको हो भन्ने लाग्छ।
मानवीय स्वार्थले मानव समाजमा सामाजिक, आर्थिक र राजनीतिक रूपमा निकै गम्भीर अन्तरक्रिया र उतारचढाव पैदा गर्ने गर्छ। स्वार्थहरूलाई सामाजिक र राजनीतिक रूपमा निजी वा व्यक्तिगत स्वार्थ, सामूहिक वा सामुदायिक स्वार्थ, वर्गीय स्वार्थ र राष्ट्रिय स्वार्थ गरी चार भागमा वर्गीकरण गर्न सकिन्छ।
व्यक्तिगत वा निजी तरिकाले सोचिने र गरिने सम्पूर्ण क्रियाकलापहरू निजी स्वार्थभित्र पर्दछन्। मानिसलाई जीविकोपार्जनका लागि पनि व्यक्तिगत र निजी स्वार्थको आवश्यकता पर्दछ।
बालक जन्मिनेबित्तिकै दूध खान नपाए रोएर आमालाई सुनाउँछ भने ठूलो भएपछि जीविकोपार्जनकै लागि मानिसहरूले धेरै किसिमका कामहरू गर्दछन्।
देशभित्रै रोजगारी पाउनु, सम्मानित जीवन जिउन पाउनु, आफू र आफ्नो परिवारको लागि जीविकोपार्जन गर्न पाउनु व्यक्तिको व्यक्तिगत अधिकार हो। व्यक्तिगत फाइदाका लागि धन कमाउने आजकल अनेक माध्यमहरू हुन सक्छन्।
प्रविधिले मानिसलाई सम्पन्न बनाउँदै लगिएकाले पहिलेको जस्तो धन कमाउन शारीरिक परिश्रम मात्रै धेरै गर्नुपर्छ भन्ने छैन। अथाहा धन कमाउने मानिसको इच्छा हुन्छ र यो कमाउने कुरामा जबसम्म वैध तौरतरिकाहरू मात्र प्रयोग हुन्छन्, तबसम्म यो धन पनि वैध हुन्छ।
अवैध धन्दाबाट कमाइ गरेमा यसलाई समाजले राम्रो मान्दैन। हाम्रो जस्तो समाजमा भ्रष्टाचार गरेर पनि अथाह धन बटुल्ने गरिएका उदाहरणहरू छन्। उदाहरणका लागि, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो घरमा लुकाइराखेको अथाह रुपैयाँ जलेको दुनियाँले देखेपछि सिङ्गापुर पुगेका थिए।
यसैले धन कसरी कमाउने भन्ने कुरा गम्भीर रूपमा सोचिनुपर्दछ। नितान्त वैध तरिकाले कमाएको धन मात्र सर्वसाधारण सबैको नजरमा मान्य हुन्छ। पुराना जमानामा मार्क्सवादी अर्थशास्त्र अनुसार शारीरिक परिश्रम गरेर कमाएको सम्पत्तिलाई मात्र वैध मानिन्थ्यो, तर आजकल प्रविधिको व्यापक प्रयोगका कारण शारीरिक परिश्रम नगरेर पनि प्राप्त धनले वैध मान्यता पाउन सक्छ।
मानिस व्यक्तिगत रूपमा बाँच्छ र सामूहिक रूपमा जिउँदछ। यसको मतलब यो हो कि ऊ समाजबिना रहन सक्दैन। मानिस स्वाभाविक रूपमा सामाजिक प्राणी भएकाले उसमा सामाजिक दायित्व पनि हुन्छ।
उहिले-उहिले काठमाडौँ उपत्यकामा कुदिएका ढुङ्गेधारा र हिटीहरू सामूहिक हितका लागि समुदायले बनाएका संरचनाहरू हुन्। सार्वजनिक बाटोघाटो, पुल-पुलेसा, चौतारी र पाटी जस्ता संरचनाहरू सामूहिक स्वार्थका लागि बनेका हुन्, जसले ऐतिहासिक महत्त्व बोकेका छन्।
ऐतिहासिक रूपमा नै हाम्रो समाज सामूहिक र सामुदायिक स्वार्थका लागि दत्तचित्त छ। तर अहिले विकासका नाममा गाउँमा बजेट विनियोजन हुन थालेपछि र त्यसमा भ्रष्टाचार हुन थालेपछि सामूहिक स्वार्थका लागि श्रम गर्ने व्यक्तिको जागर र सोचमा कमी आएको देखिन्छ।
गाउँपालिकाले प्रत्येक योजनामा १५ प्रतिशत श्रमदान गर्नुपर्ने अनिवार्य गरे तापनि अहिले यो औपचारिकता पूरा गर्ने मेलो मात्र भएको छ।
सामूहिक बचत गर्ने समूहहरू अहिले पनि गाउँ-गाउँमा सक्रिय छन्। आवश्यक पर्दा ऋण लिने र अरू बेला बचत गर्ने परिपाटी सामूहिक स्वार्थ पूरा गर्ने थलो हो, यद्यपि यसलाई अझै वैज्ञानिक ढङ्गले चलाउनु आवश्यक छ।
समुदाय हाम्रो प्राचीन संरचना भएकाले यसको हितका लागि मानिस मरिहत्ते गरेर लाग्छ। यसैले उद्योग-धन्दाहरू पनि अब सामुदायिक रूपमा खोलिनुपर्छ। समुदाय-नियन्त्रित अर्थतन्त्र नै समाजवादमा पुग्ने सही बाटो हो भन्ने लाग्छ।
राज्य-नियन्त्रित अर्थतन्त्र विश्वमा असफल भइसकेको आर्थिक मोडल हो र कम्युनिस्ट व्यवस्था विश्वमा असफल हुनुको मुख्य कारण नै यही हो। चिनियाँ अर्थतन्त्रलाई हेर्दा पनि माओकालीन अवस्था अहिले त्यहाँ छैन भने त्यहाँ विविधता र मिश्रित अर्थतन्त्रको मोडल देखिन्छ। सामूहिक स्वार्थ पूरा गर्न सामुदायिक आर्थिक मोडल समाजवादमा पुग्ने अबको गन्तव्य हुन सक्छ।
मार्क्सवादी दर्शनमा मजदुर, किसान, पुँजीपति र सर्वहारा जस्ता विविध वर्गहरूको बारेमा उल्लेख गरिएको छ। राज्यसत्ता पुँजीवादी प्रकृतिको भएमा पुँजीपति वर्ग र सर्वहारा वर्ग गरी दुई अन्तरविरोधी वर्गका रूपमा व्याख्या गरिएको छ।
पुँजीपति वर्गको सत्ता पल्टाउन सर्वहारा वर्गले क्रान्ति गरी जबरजस्त सत्ता आफ्नो हातमा लिनुपर्छ भन्ने उल्लेख छ। पुँजीवादको यथेष्ट विकास भइनसकेका विकासोन्मुख देशहरूमा मजदुर, किसान र राष्ट्रिय पुँजीपति वर्ग समेतको मिलीभगतमा सामन्तवाद विरुद्ध क्रान्ति गर्नुपर्ने कुरा माओवादी विचारको सार हो।
चीनमा माओले यस किसिमको क्रान्तिलाई ‘नौलो जनवादी क्रान्ति’को नाम दिनुभयो, जुन मार्क्सवाद र लेनिनवादभन्दा फरक प्रकारको क्रान्ति थियो।
आजको विश्वमा पुँजीवाद संरक्षणवादी, प्रतिस्पर्धी र एकाधिकारवादी पुँजीवादबाट विकसित हुँदै भूमण्डलीकृत पुँजीवादमा रूपान्तरण भइसकेको छ। माओले भनेजस्तो नौलो जनवादी क्रान्ति अब विश्वको कुनै पनि कुनामा सम्भव छैन।
यसको मुख्य कारण राष्ट्रिय पुँजीपति वर्गको अस्तित्व समाप्त हुँदै जानु र संसारका पुँजीवादीहरू सिन्डिकेट, कार्टेल एवं निगमको माध्यमबाट सङ्गठित हुनु हो। अहिले पनि धेरैमा हाम्रो जस्तो विकासशील देशमा नौलो जनवादी क्रान्ति गर्नुपर्छ भन्ने भ्रम रहेको छ।
कुरोको चुरो के छ भने, मार्क्सले भनेजस्तो हुबहु लागू गर्न खोजेको भए रुसमा अक्टोबर क्रान्ति र चीनमा नौलो जनवादी क्रान्ति हुने थिएन। अब पनि माओ विचारको नक्कल गरेर विश्वको कुनै पनि देशमा क्रान्ति सम्भव छैन।
अन्ततः वर्गहरूको सामूहिक हितमा आधारित स्वार्थ नै वर्गीय स्वार्थ हो। पुँजीपति वर्गको स्वार्थमा धक्का पर्नेबित्तिकै सारा पुँजीवादी वर्ग एकजुट हुन्छन् भने मजदुर र किसानहरूको सामूहिक स्वार्थमा प्रश्नचिह्न खडा भएमा उनीहरू पनि एक हुन बाध्य हुन्छन्।
मार्क्सवादी दर्शन अनुसार पुँजीपतिहरूको सत्ता क्रान्तिद्वारा पल्टाई सर्वहारा वर्गको सत्ता स्थापना गर्नु मुख्य उद्देश्य भए तापनि जसलाई सर्वहारा वर्ग भनियो, उसको चरित्र सदा-सर्वदाका लागि सर्वहारा नै रहन्छ भन्ने परिकल्पना व्यवहारमा असत्य साबित भएको छ।
यही गल्तीका कारण मार्क्सवादी दर्शन पनि पुन: काल्पनिक धारमा डुबुल्की मारेको महसुस हुन्छ। यसैले शासकीय स्वरूप व्यावहारिक र सामूहिक भावनाले ओतप्रोत बनाउने हो भने मानिसको मानवीय विशेषता र स्वभावजन्य पक्षलाई पनि दर्शनमा समेट्नु अत्यावश्यक छ।
राष्ट्रको हित, उन्नति, प्रगति र राष्ट्रिय अखण्डताको सवाल नै राष्ट्रिय स्वार्थको सवाल हो, जसलाई बलियो बनाउनु हामी सबै नेपालीको कर्तव्य हो। देशको सार्वभौमिकता, भौगोलिक सीमा, नदीनाला, खनिज तत्त्व, सामाजिक संस्कार र संस्कृतिको संरक्षण गर्नु राष्ट्रिय स्वार्थभित्रै पर्दछ।
पृथ्वीनारायण शाहकालीन विश्वमा साम्राज्यवादी स्वार्थका कारण अङ्ग्रेजहरूको खुनी पञ्जा विश्वभरिका निर्बल राष्ट्रहरूमा परेको थियो। उनीहरू सुरुमा क्रिश्चियन पादरीहरू मार्फत बाइबलको प्रचारप्रसार गराउँथे र व्यापार सुरु गरेर राष्ट्रहरूलाई आफ्नो पञ्जामा पारी जनतालाई गुलाम बनाउँथे।
यो कुरा बुझेका राजा पृथ्वीनारायण शाहले फिरन्तेहरूलाई राज्यमा प्रवेश गर्न निषेध गर्ने नीति लिएका थिए र अङ्ग्रेजहरूसँग अनेक युद्ध गर्दै उनीहरूलाई परास्त गरेका थिए।
यसबाट नेपालका राजा पृथ्वीनारायण शाहलाई विश्वका एक सफल साम्राज्यवाद-विरोधी अभियन्ताका रूपमा पनि हामी लिन सक्छौँ। अमेरिकी स्वतन्त्रता सङ्ग्राममा समेत नेपाल एउटा साम्राज्यवाद-विरोधी देशका रूपमा उदाहरण बनेको थियो र उनीहरूलाई पनि नेपालबाट ऊर्जा मिलेको थियो।
महात्मा गान्धीको अङ्ग्रेजी सामान बहिष्कार र भारतीय स्वतन्त्रता सङ्ग्राममा पनि पृथ्वीनारायण शाहको नीति अवलम्बन गरिएको थियो भन्न सकिन्छ, किनकि विदेशी कपडा मनाही गर्दै “कपडा बुन्न जान्नेलाई नमुना देखाई कपडा बुन्न लगाउनु” भन्ने उहाँको उपदेश थियो।
यसैले राष्ट्रिय स्वार्थको विषयमा कुरा गर्दा पृथ्वीनारायण शाहका ‘दिव्य उपदेश’हरूलाई हामी नमुना मान्न सक्छौँ, जसमा देशलाई कसरी समृद्ध बनाउनुपर्छ भन्ने कुरा स्पष्ट छ। देश समृद्ध भयो भने राष्ट्रियता बलियो हुन्छ और राष्ट्रियता बलियो बनाउनु नै हाम्रो मुख्य राष्ट्रिय स्वार्थ हो।
No ads found for this position



Facebook Comment