संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु मुख्य दायित्व: प्रचण्ड
काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट प्राप्त ऐतिहासिक उपलब्धिलाई जनताको दैनिक जीवनसँग जोड्नु र बाँकी कार्यभार पूरा गर्नु आजको प्रमुख दायित्व भएको बताएका छन्।
संविधान दिवस २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै संयोजक दाहालले संविधानले परिकल्पना गरेको वास्तविक सामाजिक-आर्थिक रूपान्तरणका लागि सबै पक्षको एकताबद्ध प्रयास आवश्यक रहेकोमा जोड दिए।
उनले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनताले प्राप्त गरेका अधिकारलाई पछाडि फर्काउने कुनै पनि प्रयत्न स्वीकार्य नहुने स्पष्ट पारे। संविधानका मर्म र जनअधिकारलाई कमजोर पार्ने गतिविधिहरूबिरुद्ध लोकतान्त्रिक शक्तिहरू गोलबन्द हुनुपर्ने उनको भनाइ छ।
शुभकामना सन्देशमा राजनीतिक परिवर्तनलाई आर्थिक र सामाजिक प्रगतिसँग जोड्दै शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन र समान अवसरमा सबै नागरिकको सहज पहुँच सुनिश्चित गर्नुपर्ने उल्लेख छ। संविधानका अक्षर मात्र नभई यसको मूल भावना र आत्मालाई जनताले आफ्नो दैनिक जीवनमा अनुभूत गर्ने गरी कार्यान्वयनमा लैजानुपर्ने उनले बताए।
संयोजक दाहालले संविधान केवल एउटा कानुनी दस्तावेज मात्र नभएर नेपाली जनताको अभूतपूर्व त्याग, तपस्या र बलिदानबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिहरूको संस्थागत स्वरूप भएको स्मरण गराए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment