वसन्तपुरमा इन्द्रजात्राको तयारी अन्तिम चरणमा

डिसी नेपाल
५ असोज २०८३ ९:५०

काठमाडौं। विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा यस वर्षको इन्द्रजात्राको तयारी तीव्र पारिएको छ। जात्राका लागि रथ निर्माण, सरसफाइ, रङरोगन तथा अन्य आवश्यक व्यवस्थापनका काम अन्तिम चरणमा पुगेका छन्।

दरबार क्षेत्रका काष्ठमण्डप, कुमारी घर, शिव–पार्वती मन्दिरलगायतका सम्पदामा रङरोगन गर्ने तथा रातो ध्वजा फेर्ने काम भइरहेको छ। इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यका अनुसार जात्राका लागि आवश्यक अधिकांश तयारी पूरा भइसकेको छ।

उनका अनुसार इन्द्रजात्रालाई व्यवस्थित र भव्य रूपमा सञ्चालन गर्न व्यवस्थापन समितिसँग आबद्ध ३१ गुठी खलःसँग पटक–पटक छलफल गरिएको छ। जात्राका क्रममा शान्ति सुरक्षाका लागि नेपाल प्रहरीका सम्बन्धित निकायसँग पनि समन्वय गरिएको उनले बताए।

इन्द्रजात्रा राष्ट्रिय पर्व भएकाले स्वदेशी तथा विदेशी पर्यटकको उल्लेख्य सहभागिता हुने अपेक्षा गरिएको छ। पर्यटक तथा श्रद्धालुको व्यवस्थापनलाई ध्यानमा राखेर आवश्यक तयारी भइरहेको अध्यक्ष शाक्यले बताए।

विशेषगरी नेवार समुदायमा ठूलो सांस्कृतिक तथा धार्मिक महत्त्व बोकेको इन्द्रजात्रा काठमाडौं उपत्यकासहित ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायतका क्षेत्रमा परम्परागत रूपमा मनाइन्छ।

इन्द्रजात्राको मुख्य विधिअन्तर्गत हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याउने गरिन्छ। यस धार्मिक विधिलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ। लिङ्गोको फेदमा भैरवको पूजा गर्ने परम्परासमेत रहेको छ।

धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार शत्रुमाथि विजय प्राप्त गरेपछिको उत्सवका रूपमा इन्द्रजात्रा मनाउने गरिएको विश्वास छ। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गर्ने र त्यसको प्रदर्शन गर्ने पर्वका रूपमा समेत इन्द्रजात्राको विशेष महत्त्व रहेको छ।

इन्द्रजात्राका अवसरमा हनुमानढोकास्थित गद्दी बैठकबाट राष्ट्रपतिले जीवित देवीका रूपमा पुजिने श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा अवलोकन गर्ने परम्परा छ।

इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने जात्रामा विभिन्न परम्परागत नाच तथा सांस्कृतिक झाँकी प्रदर्शन गरिन्छ। भक्कुनाच, महाकाली नाच, लाखेनाच, दशावतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीक मानिने पुलुकिसी नाच इन्द्रजात्राका प्रमुख आकर्षण हुन्।

लिङ्गो ठड्याइएको आठौँ दिन अर्थात् आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वज पातन गरेपछि इन्द्रजात्राको विधिवत् समापन गर्ने परम्परा रहेको अध्यक्ष शाक्यले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *