हवाई इन्धन ढुवानी प्रकरण : चालकहरुले सामूहिकरुपमा साँचो बुझाए
काठमाडौं। ९ बुँदे माग राख्दै हवाई इन्धन ढुवानी रोकेका ट्यांकर चालकहरुले आइतबार ट्यांकरको साँचो ट्यांकर व्यवसायीलाई बुझाएका छन्।
चालक संघका अध्यक्ष पशुपति पाठकले पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहोरालाई साँचो बुझाएको बताए।
शनिबारदेखि ढुवानी रोकेका चालकहरुले आइतबार व्यवसायीसँगको छलफलपछि साँचो बुझाएका हुन्। अध्यक्ष पाठकले आइतबार आफ्ना मागहरुबारे कुनै सहमति नभएकाले आफूहरुले सामूहिकरुपमा साँचो बुझाएको जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘हामीले काम गर्ने वातावरण नभएकाले सामूहिकरुपमा साँचो बुझाएका छौं। भोली (सोमबार) फेरि वार्ताका लागि बोलाउनु भएको छ। कुरा मिल्यो भने काममा फर्किन्छौं।’
उनले गएको महिना १३ गते नै आयल निगमलाई आफूहरुले ९ बुँदे माग पत्र दिए पनि सुनुवाई नभएको गुनासो गरे। उनले बाध्य भएर जागिर छोड्ने अवस्थामा पुगेको बताए। उनले भने, ‘०.२५ प्रतिशभन्दा धेरै चुवाहटको दोब्बर क्षतिपूर्ति दिने गरी काम गर्न सकिँदैन। रक्शौलमै हामीलाई २० लिटरसम्म कम इन्धन लोड गरिएको हुन्छ। यो समस्या समाधान गर्नुहोस् भन्दा पनि हाम्रो कुरा सुनिएन।’
उता निगमले भने यो समस्या व्यवसायी र चालकहरुबीचको भएको भन्दै उनीहरु आफैले कुरा मिलाउनुपर्ने बताएको छ। तर, पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहोराले भने यो समस्या निगमकै भएको बताए। उनले डिसी नेपालसँग भने, ‘यो समस्या निगमले हामीतर्फ हालेर आफू उम्किन मिल्दैन। निगमले काम गर्ने वातावरण त बनाउनु पर्यो नी।’
उनले आइतबार पनि चालकहरु र निगमसँग यो विषयमा छलफल भएको बताए। उनले सोमबार फेरि वार्ता हुने बताउँदै ढुवानी सुचारुमा हुनेमा आफू विस्वस्थरहेको बताए।







डिसी नेपाल








Facebook Comment