सांसद गजेन्द्र महतको आक्रोश : छाउगोठको नाममा सरकारले घर भत्कायो

डिसी नेपाल
१७ माघ २०७६ १२:२२

काठमडौं। प्रतिनिधिसभाका सांसद गजेन्द्रनारायण महतले छाउगोठ भत्काइएकोमा गम्भीर आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै उनले गृहमन्त्रालयले काम नपाएर छाउगोठ भत्काउँदै हिँडेको आरोप लगाए। छाउगोठको नाममा सरकारले आफूहरुको घर भत्काएको आरोप उनले लगाए।

उनले भने, ‘छाउगोठको नाममा घर भत्काइएका छन्। एउटा व्यक्ति मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ? ८ जना मान्छे होटलमा मृत्यु भएको छ। होटल भत्काउँदै हिड्ने? हजारौं मान्छेहरु बसमा मृत्यु भएको छ। बसमा आगो लगाउँदै हिँड्ने? जिल्लामा जाने नुन, औषधि बेचिएको छ। त्यत्रो भ्रष्टाचार भएको छ उनीहरुलाई समाउनु छैन। हिजो गोर्खाली सेनाको नाममा हाम्रो घर भत्काइयो। अहिले छाउगोठका नाममा हाम्रो घर भत्काउने? के हेरेर बसेको छ गृहमन्त्रालय?’

उनले छाउगोठ भत्काएकोमा विरोध गर्दै आफ्नो भनाइ राख्दै गर्दा प्रतिनिधिसभा बैठक हाँसोले गुञ्जिएको थियो। छाउगोठको अन्त्य गरिनुपर्ने भन्दै कुरा उठाउने महिला सांसदपनि हाँसिरहेका थिए।

शून्य समयमा बोल्दै अन्य सांसदहरुले पनि आ–आफ्नो क्षेत्रगत र समसामयिक विषयमा सम्बन्धित क्षेत्रको ध्यानाकर्षण गराएका छन्।
सांसद खगराज अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा लागि थप जग्गा अधिग्रहण गर्ने बारे यथार्थ जानकारी गराउन माग गरे।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप १ सय ४ रोपनी जग्गा अधिग्रहण गर्ने कुरा सत्य हो? उचित मुआब्जा दिइन्छ कि दिइँदैन? अब थप अधिग्रहण गर्ने कार्यक्रम छ कि छैन? एरपोर्टको तल्लो क्षेत्रमा रहेको हजारौं हेक्टर जग्गाको सिँचाईको व्यवस्था के हुन्छ? परियोजनाको वातावरण अध्ययन मूल्यांकन प्रतिवेदन किन सार्वजनिक गरिँदैन? विस्तृत प्रतिवेदन सार्वजनिक गरियोस्,’ उनले भने।

सांसद आशाकुमारी बिकले काठमाडौं महानगरभित्र रहेका ६० मध्ये २० वटा मात्रै सञ्चालनमा रहेको भन्दै मापदण्डयुक्त शौचालय निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइन्।

सांसद उमा रेग्मीले बाजुरा जिल्ला छेडेदह गाउपालिका निवासी २२ बर्षका हेम बहादुर राउतलाई पक्राउ गरि कोटेश्वर प्रहरी वृत्तमा रहेको अवस्थामा मृत्यु भएको भन्दै घटनाबारे अध्ययन गर्न छानविन समिति गठन गर्न माग गरिन्। उनले दोषीलाई कारवाही गरि पीडीतलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरिन्।

सांसद कुमारी तुलसी थापा हिउँदे बालीमा तुसारो र बेमौसमी पानीले खेती बालीलाई नोक्सानी पुगेको भन्दै किसानलाई राहतको व्यवस्था गर्न माग गरिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *