डुङ्गाको आश र त्रासमा पलाएको भविश्य

डिसी नेपाल
१७ फागुन २०७६ १४:१७

जाजरकोट। सल्यानको वनगाड कुपिण्डे नगरपालिका– १ नाम्रा र सुर्खेतको सिम्ता गाउँपालिकाको कालीखोलास्थित भेरी नदीमा पुल नहुँदा वर्षौदेखि समस्या हुँदै आएको छ।

दैनिक विद्यार्थीदेखि अभिभावकसम्म भेरी नदी डुङ्गाको भरमा वारपार गर्दै आएका छन्। यहाँ बस्ती बसेदेखि अहिले अझै कति वर्षसम्म डुङ्गाको सहारा लिएर नदी पार गर्नुपर्ने हो? कसैलाई थाहा नभएको स्थानीयवासी बताउँछन्।

अभिभावकभन्दा बढी पीडा विद्यालय उमेरका बालबालिकालाई दैनिक पर्दै आएको छ। उनीहरु भेरी नदी वारपार गर्दा होस् नै गुम्ने गरेको बताउँछन्। पाँच वर्षकै उमेरमा आमा, बाबाले विद्यालयमा भर्ना गरिदिएपछि भेरी नदी पार गर्दै दैनिक विद्यालय जानु अर्जुन पोखरेलका लागि त्यति सहज थिएन। राम्रो, नराम्रो छुट्याउन नसक्ने उमेरमा भेरी नदी छालसँगै पौठेजोडी खेल्दै दैनिक डुङ्गा चढेर दुई घण्टा टाढा रहेको लङ्गृणा रिवर विद्यालयमा जानु उनका लागि फलामको चिउरा चपाए झैँ हुँदै आएको छ। ‘अभिभावकको सल्लाह, दबाब र मायाका कारण भेरी नदीको उरर्लिदो भेललाई जित्दै डुङ्गाको सहारामा दैनिक आउने र जाने भइरहन्छ’ अर्का कक्षा ७ मा पढ्ने सगुन आचार्यले भने।

उनी जस्तै अर्का कक्षा ४ मा पढ्ने सुगम शर्माको पीडा पनि कम्ती छैन। भेरी नदीको डर मान्दा पढाइ छुट्ने, नमान्ने हो भने दैनिक डरले मुटुको धड्कन बढ्दै डुङ्गाको यात्रा गरी विद्यालय जानुपर्ने अर्को बाध्यता रहेको उनले बताए। डुङ्गा चलाउँदै आएका विष्णु ओलीको भेरी नदीसँग मित्रता गाँसिएको सात वर्ष भइसकेको छ। उनले लामो समयसम्म यो काम गर्दा धेरै तितामीठा घटना व्यहोरीसकेको बताए। ओलीका अनुसार अहिलेसम्म खासै केही भएको छैन। सल्यान नाम्रा गाउँ र सुर्खेत कालीखोलाका स्थानीयवासीको सम्बन्ध जोड्ने नै यही डुङ्गा भएको ओलीले बताए। विवाह गरेर आउने नयाँ जोडीदेखि दुःखमा परेका अनि दैनिक कामसम्म गर्ने सबैको सहारा बन्दै आएको डुङ्गा कति दिन चल्छ उनलाई थाहा छैन। उनको प्रार्थना छ, ‘मैले चलाउँदासम्म कसैलाई केही नहोस्।’ नाम्रा गाउँबाट दुई घण्टा पैदल हिँडेपछि भेरी नदीको झुलुङ्गे पुल भेटिन्छ। काली खोलाका हस्तबहादुर लुहारले भने, ‘गाउँबाट टाढा रहेको पुलसम्म पुग्न र आउन मात्र चार घण्टा खर्चनु, यो हाम्रा लागि धेरै समय वर्वाद गर्नु हो।’

वर्षौदेखि यहाँका स्थानीयवासीले पुलका लागि अनुरोध गर्दा मागको सुनुवाइ नभएको बताउँदै आएका छन्।

सरकारले तुइन हटाउने लक्ष्य लिएपछि यहाँका स्थानीयवासी हाम्रो ठाउँमा पनि पुल निर्माण हुने भो भन्दै खुशी भएको बताए पनि अहिलेसम्म पुल निर्माण नुहँदा निरास हुँदै आएको बताएका छन्। नाम्रा गाउँदेखि आसपासमा अन्य गाउँका स्थानीयवासी राकम, सल्लीबजार आउन दैनिक यही भेरी नदी तर्नुपर्दछ। सुर्खेत कालीखोलाका स्थानीयवासी सोही नदी तरेर सल्यान जानुपर्ने बाध्यता रहँदै आएको छ।

हिउँदयाममा मात्र चल्ने डुङ्गा वर्षायाममा पूरै बन्द हुने गर्दछ। वर्षायाममा भेरी नदीमा पानीको मात्रा अत्यधिक बढ्ने भएकाले डुङ्गा बन्द हुने गर्दछ। डुङ्गा बन्द हुँदा यहाँका स्थानीयवासी तथा विद्यार्थी समस्या हुँदै आएको छ। विद्यार्थी घर आउन नपाउने भएकाले बाहिर नै डेरा खोजेर बस्ने गर्दछन्। विद्यार्थी महिनामा दुईपटक घरमा लामो बाटो प्रयोग गरेर आफन्तसँग भेटघाट गर्ने गरेको बताउँछन्। आँखाले हेर्दा नजिकै देखिने ठाउँ पनि नदीले टाढा बनाइदिएको स्थानीयवासी बताउँछन्। नाम्रा हुँदै सल्लीबजारसम्म बाटो बनाएपनि सो बाटोमा यातायातका साधन नचल्दा सास्ती हँुदै आएको हो।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.