रोपाइँको चटारोमा किसान, यो वर्षपनि रासायनिक मलको अभाव

मदन कोइराला
८ असार २०७७ ८:३९

काठमाडौं। जल तथा मौसम विभागका अनुसार नेपालमा मनसुन सुरु भइसकेको छ। मनसुन सुरु हुनुको अर्थ खेतीको सिजन सुरु हुनु पनि हो। बर्खा लागेसँगै नेपालमा रोपाइँको चटारो सुरु हुन्छ। तर खेतीपातीको समयमा पनि रासायनिक मलको अभाव भएपछि किसान चिन्तित बनेका छन्।

अहिले मुलुकभर रासायनिक मलको अभाव देखिएको छ। किसानको माग बमोजिम कृषि सामाग्री केन्द्रले रासायनिक मल उपलब्ध गराउन सकोके छैन। जिल्लामा कृषि सामाग्री कम्पनी लिमिटेडले मल प्रयाप्त मात्रामा नभएको भन्दै किसानको माग बमोजिम मल उपलब्ध गराउन नसकिएको जनाएको छ। अहिले युरिया मलको चरम अभाव भएको छ। डिएपी केही मात्रामा मौजाद भएपनि युरिया मल नहुँदा किसान चिन्तित बनेका छन्।

लकडाउनका कारण प्रयाप्त मात्रामा रासायनिक मल ढुवानी गर्न नसक्दा मल अभाव भएको हो। धान, मकै र अन्य खेती किसानीका लागि आवश्यक पर्ने अनुदानको रासायनिक मलको अभाव भएको हो। अनुदानको मल अभाव भएपछि किसानले निजी क्षेत्रबाट आएको चर्को मूल्य तिरेर मल खरिद गर्न बाध्य भएका छन्।

कृषि सामाग्री कम्पनी लिमिटेडका महानिर्देशक नेत्र भण्डारीले चार लाख ४८ हजार मेट्रिकटन रासायनिक मल खरिद गर्ने योजना भएपनि लकडाउनका कारण भनेजति रासायमिक मल ल्याउन नसकिएको बताए। हालसम्म १ लाख ७५ हजार मेट्रिकटन मल ल्याइसकेको उनले बताए। तर भनेजति मल ल्याउनलाई भने लकडाउनका कारण समस्या भएको उनको भनाइ छ।

कृषि सामाग्री कम्पनी लिमिटेडका महानिर्देशक नेत्र भण्डारीले चार लाख ४८ हजार मेट्रिकटन रासायनिक मल खरिद गर्ने योजना भएपनि लकडाउनका कारण भनेजति रासायमिक मल ल्याउन नसकिएको बताए। हालसम्म १ लाख ७५ हजार मेट्रिकटन मल ल्याइसकिएकाे छ।

‘अहिले रासायनिक मल नै नपाउने भन्ने होइन,’ महानिर्देशक भण्डारीले डिसी नेपालसँग भने, ‘विगतका वर्षभन्दा यो वर्ष धरै मल खरिद गर्ने निर्णय भएको थियो। तर लकडाउनका कारण सबै मल ल्याउन सकिएको छैन।’ कलकत्ताबाट मल ल्याउनु पर्ने भएपनि रेल र बस संचालन नहुँदा ढुवानीमा समस्या भएको उनले जनाए।

महानिर्देशक भण्डारीले धान रोपाइँमा डिएपी र पोटास मल प्रयोग गर्नुपर्ने र धान गोड्ने बेलामा मात्रै युरिया मल प्रयोग गर्नुपर्ने भएपनि कतिपय किसानले रोपाइँ गर्दा नै युरिया मल प्रयोग गर्ने गरेको बताए। ‘बुझाइमा समस्या भएका कारण रोपाइँ गर्दा किसानले युरिया मल प्रयोग गरेको पाइयो,’ उनले भने, ‘रोपाइँ गर्दा डिएपी र पोटास प्रयोग गर्ने हो। धान गोड्दा युरिया प्रयोग गर्नुपर्छ।’

कृषि तथा पशुपंक्षी मन्त्रालयले मुलुकभर सात लाख ८५ हजार मेट्रिकटन रासायनिक मल आवश्यक पर्ने तथ्यांक निकालेको छ। नेपाल कृषि प्रधानमुलुक भएका कारण कृषकलाई मलको समस्या नहोस भनेर विगतका वर्षमा भन्दा यो वर्ष धेरै मल खरिद गर्ने निर्णय पनि गरेको थियो। तर लकडाउनका कारण मल ल्याउन नसकिएको कृषि सामाग्री केन्द्र लिमिटेडले जनाएको छ।

मल बिक्री वितरण प्रभावकारी नभएको गुनासो बढेपछि सरकारले स्थानीय तहमार्फत मल बिक्री वितरण गर्ने कार्यविधि तयार पारेको छ। कृषि मन्त्रालयले तयार पारेको कार्यविधि हाल मन्त्रिपरिषदमा पुगेको र मन्त्रिपरिषदले पारित गरेपछि स्थानीय तहमार्फत मल बिक्री वितरण गर्ने सरकारको योजना छ।

उता राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेतले सरकारको वितरण प्रणाली राम्रो नभएका कारण खेतीपातीको सिजनमा रासायनिक मलको अभाव भएको बताए।

‘सरकारले वर्षैपिच्छे कृृषिमा बजेट बढाउँछ, यो पटक पनि बढाएको छ,’ उनले डिसी नेपालसँग भने, ‘तर वितरण प्रणाली राम्रो नभएका कारण अनुदानको मल कृषकसम्म पुग्न सक्दैन।’ सरकारले मल वितरण गर्ने जिम्मा कृषि सामाग्री कम्पनी लिमिटेडलाई र साल्ट ट्रेनिङ कम्पनीलाई दिएको हुन्छ।

यी कम्पनीले केही सहकारीमार्फत मल बिक्री वितरण गर्दै आइरहेका छन्। उनले मुलुकभर रोपाइँ गर्ने सिजनमा मल अभाव भएको तर सरकारी बेवास्ताका कारण किसानले मल नपाएको गुनासो गरे। विशेष गरी सीमा क्षेत्रका किसानले मल नपाएर चिन्तित भएको उनको भनाइ छ।

मल वितरण व्यवस्थित बनाउन सरकारले वितरण प्रणालीलाई सुधार गर्नुपर्ने र मल बिक्री वितरणको जिम्मा स्थानीय तहलाई दिनुपर्ने उनको सुझाव छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *