ज्योतिष पेशामा युवापुस्ताको आकर्षण बढ्दो, विदेशी नागरिकदेखि उच्चपदस्थसम्मकाे चासाे

अमृत पौडेल
२७ असार २०७७ ७:५१

काठमाडौँ। द्वन्द्वको समयताका निकै हेपिएको र चेपिएको पेशा ज्योतिष तथा कर्मकाण्डप्रति पछिल्लो समय युवापुस्तामा आकर्षण बढ्दै गएको छ। पहिले ब्राह्मण जातिले मात्र अपनाएको यो पेशालाई अहिले थुप्रै जातजाति र युवा पुस्ताका व्यक्तिले पनि अनुशरण गरी व्यवसाय बनाएर मनग्य आम्दानी गर्दै आएका छन्।

सरकारले संस्कृत विषय पढ्नकालागि विद्यार्थीहरुलाई छात्रवृत्ति पनि दिँदै आएको छ। प्राचीन समयमा संस्कृत तथा कर्मकाण्ड बुझेको परिवारका सन्तानले मात्रै पढ्दै आएको यो विद्या आधुनिकतासँगै कम्युटर सफ्ट्वेर तथा केही तालिम केन्द्रमा पनि सजिलै पढ्न तथा सिक्न सकिन्छ।

छोटो समय र कम खर्चमा नै राम्रो आम्दानी गर्न सकिने भएका कारण पनि पछिल्लो समय युवा पुस्ता तथा अन्य व्यक्तिमा यो पेसाप्रति आकर्षण बढ्न थालेको देखिन्छ।

हाई टेक शैली

पहिले जस्तो नेपाली कागजमा घण्टौँ कोरेर जन्मकुण्डली तयार पारी व्यक्तिको भविष्यफल बताउनु पर्ने झण्झट अहिले देखिँदैन्। आधुनिकतासँगै यो विद्या पनि परिमार्जित भएको छ। अझ भन्नुपर्दा ज्योतिष शास्त्र हाई टेक शैलीमा रुपान्तरण भएको छ।

दैवज्ञ अनिरुद्र भट्टराई -कार्यकारी प्रमूख, वैदिक होरा नेपाल प्रा.लि.

प्रविधिको विकाससँगै नेपाली ज्योतिष प्रविधिमैत्री बनेका छन्। अब ५ मिनेटमै ज्योतिषहरुले ग्रह–दशा हेर्न, जन्मकुण्डली तयार पार्न, भविष्यफल बताउन सक्छन्। उक्त ज्योतिष सफ्टवेर नेपालमै विकास भइरहेका छन्। सफ्टवेरको विकास भएसँगै युवापुस्तामा ज्योतिष विद्या तथा पेशाप्रति आकर्षण बढ्दो देखिएको ७/८ वर्षदेखि ज्योतिषी पेशा गर्दै आएका ३२ वर्षीय ज्यो. पण्डित अनिरुद्र भट्टराई बताउँछन्।

उनी भन्छन्, ‘विश्व प्रविधिमय बनेका बेला प्राचीन विद्यामा पनि प्रविधिको प्रयोग भएको हो। कम्युटरको प्रयोगले यो पेशालाई सजिलो त बनाएको छ नै, अपवाद बाहेक विश्वसनीय पनि तुल्याएको छ।’

राम्रो आम्दानी
ज्योतिष पेशा अपनाएका व्यक्तिले मासिक ६० हजार देखि १ लाखसम्म आम्दानी गर्छन्। सिजनमा त यो आम्दानी झनै दोब्बर बढी हुने गर्दछ। आफ्नो ग्रह दशा, जन्मकुण्डली तथा भाग्यफल हेरिदिन भन्दै थुप्रै मानिसहरु आफूकहाँ आउने गरेको ज्योतिष पेसामा अभ्यस्त बनेका भट्टराई बताउँछन्।

उनी भन्छन्, ‘हामी कहाँ कतिपय मानिसहरुले भेटेरै आफ्नो ग्रहदशा हेराउने गर्नुभएको छ भने धेरैजसोले अनलाइन मार्फत पनि हेर्न लगाउनुहुन्छ। प्रविधिको विकास भएका कारण उहाँहरु जहाँ भएपनि सजिलै आफ्नो भाग्यफल जान्न सक्नुहुन्छ।’

गाउँमा कहलिएका भट्टराई पण्डितका दोस्रो सन्तानका रुपमा जन्मिएका उनले बुबाकै दबाबमा धरानको चन्द्र संस्कृत माविबाट संस्कृत शिक्षा आरम्भ गरेका थिए। भट्राईले पिण्डेश्वरी विद्यापिठबाट शास्त्रीसम्म र काठमाडौँको वाल्मिकी क्याम्पसमा आचार्य गरे।

बुबाको दबाबमा स्कुलसम्मको पढाई सकेपछि भट्टराईले अँग्रेजी र ज्योतिष पेशालाई निरन्तरता दिँदै गर्दा राम्रो आम्दानी हुने देखेपछि यही क्षेत्रमा सक्रिय बनेको बताउँछन्। बाहिर काम गर्दा उनको मासिक तलब १५ हजार मात्र थियो। तर ज्योतिष पेसा गर्न थालेपछि मासिक कमाई १ देखि १ लाख ५० हजारसम्म हुने गरेको उनको भनाइ छ।

नेपाली मात्रै नभएर धेरै विदेशी नागरिकहरु पनि आफ्नो भाग्य हेर्न आउँछन्। कोही अफिसमै त कोही अनलाइनको माध्यमबाट। धेरैजसो विदेशीले अनलाइनबाटै आफ्नो भाग्य हेर्ने गरेका छन् भने कोही उच्च पदस्थ व्यक्ति पनि उनको कार्यालयमा आउने गरेका छन्। अनलाइनबाट हेराउँदा एउटा प्रश्न सोधे वापत ३ डलर शुल्क लिने उनी बताउँछन्।

स्कुलमा बुबाका लागि संस्कृत पढेको बताउने ज्योतिष भट्टराई अहिले गाउँमा उदाहरण नै बनेका छन्। भट्टराई भन्छन्, ‘गाउँमा कसैले भनेको मानेन भने बाबुआमाले ऊ भट्टराई पनि यस्तै भएर पढेको हो। अहिले कति राम्रो छ। ऊ जस्तै बन्नुपर्छ भन्छन्। मलाइ त्यसमा गर्व पनि लाग्छ।’

विदेशी नागरिकदेखि उच्चपदस्थसम्म
ग्रहदशा तथा भाग्यफल बारे विदेशी नागरिकदेखि उच्च पदस्थ व्यक्तिहरु पनि चासो राख्छन्। ती व्यक्तिले आफ्नो काम सफल भयो भने वा राम्रो भयो भने दक्षिणास्वरुप राम्रै रकम दिने गरेको ज्योतिषाचार्य भट्टराई बताउँछन्।

मेरोमा नेपाली मात्रै नभएर धेरै विदेशी नागरिकहरु पनि आफ्नो भाग्य हेर्न आउँछन्। कोही अफिसमै त कोही अनलाइनको माध्यमबाट। धेरैजसो विदेशीले अनलाइनबाटै आफ्नो भाग्य हेर्ने गरेका छन् भने कोही उच्च पदस्थ व्यक्ति पनि उनको कार्यालयमा आउने गरेका छन्। अनलाइनबाट हेराउँदा एउटा प्रश्न सोधे वापत ३ डलर शुल्क लिने उनी बताउँछन्। यसरी हेराउनेमा धेरै अमेरिकी नागरिक हुने गर्दछन्। एउटै व्यक्तिले कहिलेकाही त ५०–६० वटासम्म प्रश्न सोध्ने गरेको उनी बताउँछन्।

यसका लागि ‘होरा’ नामक मोबाइन एप निकै लोकप्रिय बनेको छ। ज्योतिष सेवाका लागि एउटा मोबाइल एप डाउनलोड गर्दा एउटा प्रश्न भने सित्तैमा सोध्न पाइने व्यवस्था गरिएको छ। बाँकी प्रश्न सोध्नलाई भने प्रति प्रश्नको ३ डलर लाग्ने उनी बताउँछन्।

भट्टराईले हेर्ने र कर्म गर्ने मात्र नभई आफ्नै वैदिक होरा नेपाल प्रा. लि. र अन्य संस्थाबाट करिब २ हजार बढीलाई ज्योतिष शिक्षा दिइसकेको बताउँछन्। जसबाट उनको आम्दानी अझै राम्रो छ।

‘विद्यालयका पाठ्यक्रममा अनिवार्य समावेश गर्नुपर्छ’

ज्योतिष शास्त्र प्रत्यक्ष शास्त्र भएका कारण पनि यो विज्ञान विषय जसरी नै विद्यालयको पाठ्यक्रममा अनिवार्य समावेश गरिनु पर्ने पञ्चाङ्ग निर्णयक समितिका सदस्य सचिव समेत रहेका ज्योतिष पण्डित सूर्य प्रसाद ढुङ्गेल बताउँछन्।

पछिल्लो समय ज्योतिषशास्त्रप्रति युवा पुस्तामा आकर्षण देखिएपनि तुलनात्मक रुपमा कमनै रहेको उनको तर्क छ। उनी भन्छन्, ‘पछिल्लो समयदेखि यो पेसा प्रतिको आकर्षण थोरै बढेको छ। तर सोचे अनुरुप अझै कम नै छ। ज्योतिष शास्त्र प्रत्यक्ष शास्त्र भएका कारण पनि यो विज्ञान विषय जसरी नै विद्यालयको पाठ्यक्रममा अनिवार्य समावेश गरिनु पर्छ।’

ज्यो पण्डित सूर्य प्रसाद ढुँगेल, सदस्य सचिव, पञ्चाङ्ग निर्णायक समिति

ज्योतिषशास्त्रलाई विज्ञानले पनि पुष्टि गरिसकेका कारण पनि यसलाई अनिवार्य रुपमा विद्यालयको पाठ्यक्रममा समावेश गरिनु पर्ने उनको माग छ। पछिल्लो समय यो विद्यालाई अमेरिका, यूरोलगायतका देशमा पनि निकै चासो र महत्वका साथ हेरिएको छ।

पछिल्लो समय विदेशी मुलुकले पनि यो विद्याका बारेमा गहन चासो राखिरहेका बेला नेपालको प्राचीन विद्याको संरक्षण गर्नका लागि पनि यसलाई विद्यालय स्तरको पाठ्यक्रममा समावेश गर्नुपर्ने ढुङ्गेल बताउछँन्।

उनी भन्छन्, ‘अहिले विदेशी मुलुकमा ज्योतिष शास्त्रका बारेमा गहन अध्ययन भइरहेको छ। उनीहरुले यो विद्यालाई विज्ञानसँग तुलना गरिरहेका छन्। विस्तारै यसको महत्व व्यापक हुँदै गएको छ। विदेशमा आकर्षण बढिरहेका बेला हामीले आफ्नै संस्कृति तथा संस्कारलाई संरक्षण गर्नुका साथसाथै अन्तर्राष्ट्रियकरण गर्दै लैजान सक्नुपर्छ।’

यसअघि नेपाली पाठ्यक्रममा यो शिक्षा समावेश गरिनुपर्ने भनेर तयारी गरिएपनि पढाउनका लागि शिक्षकको अभाव भएकाले त्यसले निरन्तरता पाउन नसकेको उनी बताउँछन्।

विज्ञान र गणितीय शास्त्रका हरेक कुरा समावेश भएको ज्योतिषशास्त्रलाई विज्ञानले पनि स्वीकार गरिसकेको ज्योतिषशास्त्री बताउँछन्। यो प्रमाणिक तथा प्रत्यक्ष शास्त्र भएका कारण सर्वव्यापी भएको उनको तर्क छ।

पाठ्यक्रम तयार हुँदै

केही तालिम केन्द्र तथा व्यक्तिहरुले ज्योतिषशास्त्र तथा कर्मकाण्डका बारेमा अनौपचारिक रुपमा तालिम तथा कक्षाहरु दिइरहेको भएपनि यसका लागि अहिलेसम्म निश्चित पाठ्यक्रम भने निर्माण हुन सकेको छैन्। अहिले केही व्यक्ति तथा ज्योतिषीहरुले स्थापना गरेका संघसंस्थाले पाठ्यक्रम बिनानै कक्षा तथा तालिमहरु दिइरहेको ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष माधवराज पाण्डे बताउँछन्।

माधवराज पाण्डे – केन्द्रीय अध्यक्ष, नेपाल ज्योतिष परिषद्

उनी भन्छन्, ‘ज्योतिष परिषद्ले अहिलेसम्म यस्ता तालिम तथा कक्षाहरु सञ्चालन गरेको छैन्। तर ज्योतिष परिषद्मा आवद्ध पूर्व पदाधिकारीहरुले भने त्यस्ता कक्षा दिइरहनुभएको छ।’

निकट भविष्यमा परिषद्ले छुट्टै पाठ्यक्रम निर्माण गरेर त्यस्ता तालिम तथा कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको उनले जानकारी दिए। ज्योतिष परिषद्ले पाठ्यक्रम निर्माणका लागि समिति नै तयार पारेको छ। लकडाउनका कारण केही ढिलाइ भएपनि अब छिट्टै पाठ्यक्रम तयार हुने उनले बताए।

उनका अनुसार पाठ्यक्रम निर्माण भएपछि ज्योतिष परिषद्ले पनि अनौपचारिक रुपमा तालिम तथा निश्चित कक्षाहरु सञ्चालन गर्ने छ। जसमा ज्योतिष परिषद्मा आवद्ध तथा बारिहका व्यक्ति पनि सहभागी हुन पाउने छन।

देशभर एक लाख बढी ज्योतिष

अहिले थुप्रै व्यक्तिले आफू ज्योतिष भएको दाबी गरेपनि नेपालमा क्रियाशिल ज्योतिषहरुको संख्या एक लाखको हाराहारीमा रहेको ज्योतिष परिषद्ले जनाएको छ।
परिषद्का अध्यक्ष माधवराज पाण्डेका अनुसार अहिले सक्रिय ज्योतिषको संख्या एक लाख बढी रहेको अनुमान छ। यद्यपि यसको वास्तविक तथ्यङ्क भने अहिलेसम्म कुनै निकायसँग पनि छैन।

परिषद्का अध्यक्ष भन्छन्, मुलुकभर ज्योतिष पढेकाको संख्या २ लाखको हाराहारीमा छ। तर सक्रिय ज्योतिषको संख्या भने एक लाख बढी मात्रै छ। पछिल्लो समय आफू ज्योतिष हुँ भन्दै ठगी गर्ने व्यक्ति बढेका कारण यसको वास्तविक तथ्यांकन बनाउनु पर्ने कुरा तिब्र रुपमा उठि रहेको पनि छ। यसका लागि छलफल भएपनि ठोस निर्णय भने हुन सकेको छैन।

यसरी लिन सकिन्छ अनलाइन कक्षा

विश्वभर कोरोना भाइरसको संक्रमणसँगै र लकडाउनका कारण यो ज्योतिष क्षेत्र पनि प्रभावित भएको छ। कोरोनाको प्रभावसँगै ज्योतिष कक्षाहरु र पेशामा प्रभाव परेको ज्योतिषहरुले बताएका छन्। लकडाउनअघि कमै मात्रामा अनलाइन कक्षाहरु सञ्चालन हुने गरेको भएपनि पछिल्लो समय अनलाइन कक्षा लिनेको संख्या बढेको ज्योतिष भट्टराई बताउँछन्।

उनी भन्छन्, ‘लकडाउनसँगै अनलाइन कक्षा लिनेको संख्या बढिरहेको छ। लकडाउनले कक्षा लिन नपाएकाहरुलाई पनि यसले फाइदा नै गरेको छ। अहिले मैले ३–४ वटा कक्षा लिइरहेको छु। म सँग धेरै व्यक्तिहरु पूर्व कर्मजारीहरु सिक्नका लागि आउने हुँदा उहाँहरुका कक्षा अहिले स्थगित छन्।’

अनलाइन कक्षाका लागि सामान्यतया १० हजारदेखि पूरा कोष गर्नका लागि ४० हजारसम्म लिने गरेको ज्योतिष भट्टराई बताउँछन्। प्राय तालिक केन्द्रहरुमा यसको शुल्क उस्तै–उस्तै छ ।

के हो ज्योतिषास्त्र ?
आकाशमा रहेका आकाशीय पिण्ड, ग्रह नक्षत्र र ग्रह नक्षत्रबाट उत्पन्न हुने तरङ्गहरुको अध्ययन गरेर त्यसबाट मानव जीवनमा हुन सक्ने (घटित) घटनाको व्याख्या गर्नु नै ज्योतिष हो। ज्योतिष बिषय अध्ययन गर्नेलाई जोतिषी भनिन्छ। यो एउटा पूर्ण विज्ञान नै थियो तर समयको कालान्तरमा धेरै कुराहरु लोप हुँदै गए।

ज्योतिषशास्त्रको प्रारम्भ मेसोपोटामियाको प्राचीन सभ्यताबाट भएको थियो। ग्रिसहुँदै भारतमा र नेपालमा पनि त्यही विद्या फैलिएको प्राचीन ग्रन्थमा उल्लेख छ। यहाँको सामाजिक परम्परा, दर्शन, स्थानीय विश्वास आदिका आधारमा यसको रूप नै अर्को जस्तो भइसकेको बताइन्छ। प्रत्येक ग्रहको आफ्नो प्रकृति हुन्छ र ब्रह्माण्डमा आफू रहेको ठाउँअनुसार फरक–फरक प्रभाव पार्दछ भन्ने विश्वास यसको आधार हो। पृथ्वी र यहाँका घटनाक्रम वा मानिसहरूमाथि यी प्रभावले निम्त्याउने परिणामको भविष्यवाणी गर्नु नै ज्योतिषशास्त्रको मुख्य उद्देश्य हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *