चेपाङ वस्तीमा आगो लगाएको अनुगमन गर्न संसदीय समिति माडीमा

डिसी नेपाल
२० साउन २०७७ २३:३६

चितवन। प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले माडीको कुसुमखोलास्थित निकुञ्ज पीडितको अवस्था बारे जानकारी लिएको छ। समितिका सभापति पूर्णकुमारी सुवेदीसहितको टोलीले मंगलबार माडी पुगेर निकुञ्जले सुकुम्वासीको घरमा आगजनी गरिएको भनिएको विषयमा जानकारी लिएको हो। समितिका सदस्य शान्ति पाख्रीन तामाङ र राजबहादुर बुढा सहितको टोलीले सो क्षेत्रका चेपाङ समुदाय, वडाका जनप्रतिनिधि र माडी नगरपालिकाका प्रमुखसँग छलफल गरेको छ।

सो अवसरमा समितिकी सभापति सुवेदीले जनताको समस्या एकातर्फ र निकुञ्जको कानून अर्कोतर्फ भएकाले समस्या आएको पाइएको बताइन्। उनले भनिन्, “हामीले कुसुमखोलाका पीडितसँग भेट्यौँ, उहाँहरुको समस्या एकातिर र निकुञ्जको कानून अर्कोतिर हुँदा समस्या आएको पायौँ ।” अहिले देखिएको समस्यालाई व्यवस्थापन गरेर अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ । उनले भनिन्, “अहिलेको समस्यालाई व्यवस्थापन गरेर अघि बढ्नुपर्छ । पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गरिनुपर्छ ।”

सुकुम्वासीको अधिकार रक्षाका लागि सरकारले आयोग गठन गरी काम थालि सकेको बताउँदै उनले यस्ता समस्या समाधान हुने विश्वास व्यक्त गरिन्। चेपाङ समुदायको संरक्षण, आयआर्जन र समृद्धिका विषयमा राज्यले सोच्दै आएको पनि उनले जानकारी दिइन्। केही दिनअघि निकुञ्जले चेपाङ बस्ती हटाउनका लागि लगाएको आगोको विषयमा अध्ययन भइरहेको उनको भनाइ छ ।

वन मन्त्रालयअन्तर्गत वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमको अनुगमनका क्रममा आएको टोली मंगलबार बिहान माडी पुगेको थियो । कुसुमखोलास्थित सुकुम्वासी चेपाङ बस्तीमा निकुञ्जले आगो लगाएको पीडितले बताउँदै आएका छन् भने निकुञ्जले अन्यत्र घर हुँदा पनि अतिक्रमण गरेर बनाइएका गोठ र मचान हटाएको जनाउँदै आएको छ । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *