भारतीय रक्षामन्त्रीको हिन्दी भाषणलाई दोभाषेले अंग्रेजीमा अर्कै अनुवाद गरिदिएपछि …

डिसी नेपाल
१५ कार्तिक २०७७ १३:२६
4.1k
Shares

काठमाडौं। अमेरिका र भारतका रक्षा तथा विदेश मन्त्री स्तरीय बैठकमा भारतीय रक्षामन्त्री रानथाथ सिंहले हिन्दीमा गरेको टिप्पणी उनका अंग्रेजी भाषा अनुवादकले अंग्रेजीमा भन्दा अर्कै भएपछि भारतीय पक्षले वक्तव्य जारी गर्ने क्रममा गरेको प्राविधिक त्रुटि उदांगो भएको छ । मंगलबार भारतीय रक्षामन्त्री सिंह र विदेशमन्त्री एस जयशंकरले आफ्नो वक्तव्यको क्रममा चीनबारे कुनै सीधा टिप्पणी गरेका थिएनन् । तर, दोभाषेले गरेको अंग्रेजी अनुवादमा भने सिधै चीनमाथि आरोप लगाएर वक्तव्य आएको थियो ।

द इण्डियन एक्सप्रेसको रिपोर्टअनुसार बैठकमा राजनाथ सिंहले हिन्दीमा सम्बोधन गर्दै भनेका थिए ‘आजको समयमा जुन चुनौती हामीले सामना गरिरहेका छौं त्यसको कारणले हाम्रो साझेदारी अझै महत्वपूर्ण हुन जान्छ ।’ तर, यही कुरालाई अंग्रेजीमा भन्ने क्रममा भारत सरकारका अंग्रेजी भाषा अनुवादकले एक लिखित वक्तव्य पढ्दै अंग्रेजीमा भने ‘महामहिमहरु, रक्षाको क्षेत्रमा हामीले हाम्रो उत्तरी सीमाबाट अत्यन्तै आक्रामक चुनौतीको सामना गरिरहेका छौं ।’

द इण्डियन एक्सप्रेसलाई प्राप्त जानकारी अनुसार भारत सरकारले पहिले नै तयार भएको वक्तव्यलाई पछि परिवर्तन गरेको थियो । राजनाथ सिंहले हिन्दीमा पछि परिमार्जन गरिएको वक्तव्य पढे तर अंग्रेजी दोभाषेलाई भने नयाँ वक्तव्य दिइएन र उनले पुरानै वक्तव्य पढ्दा हिन्दी र अंग्रेजीमा भनाइ फरक पर्न गएको थियो । दुई वक्तव्य एक अर्कासँग मेल नखाएको चाल पाएपछि भारत सरकारले अमेरिकालाई यसबारे जानकारी गराएको थियो ।

तीन दिनपछि अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटले यो वक्तव्यलाई सच्यायो र लेख्यो ‘आज हामीले सामना गरिरहेका चुनौतीका कारण हाम्रो साझेदारी अझै थप महत्वपूर्ण भएको छ र यसले हाम्रो भविष्य निर्धारण गर्छ ।’ तर, शुक्रबार साँझसम्म अमेरिकाको रक्षा विभागले जारी गरेको आधिकारिक दस्तावेजमा भारत सरकारका दोभाषेले भनेकै कुरा उल्लेख छ र तल नोटमा भारत ‘सरकारका अंग्रेजी भाषा अनुवादकले भनेअनुसार’ भनेर लेखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.