यो संसद रहेसम्म नेकपा बाहेक अन्य दलको नेतृत्वमा सरकार बन्दैन : लालबाबु पण्डित (भिडियो)

डिसी नेपाल
२० फागुन २०७७ ८:३०

काठमाडौं। यतिबेला सत्तारुढ दल नेकपा दुई समूहका विभाजित बनेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा भित्रको विवाद उत्कर्षमा पुग्दा पार्टी बिग्रहको अवस्थामा पुगेको हो।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेको छ। विशेष गरी नेकपाको प्रचण्ड–नेपाल समूहले नयाँ सरकार गठनमा सहयोग गर्न भन्दै नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई सत्ता साझेदारीको प्रस्ताव गरेको छ।

यी दुवै दलले सत्ता साझेदारीका लागि नेकपाको प्रचण्ड–नेपाल समूहलाई स्पष्ट जवाफ दिइसकेको छैन। संसद बैठक यही २३ गतेका लागि आह्वान गरिएको छ।

प्रतिनिधिसभा बैठक सुरु भएपछि वर्तमान सरकार विरुद्ध अविश्वासका प्रस्ताव गर्ने र नयाँ सरकार गठन गर्ने प्रयास गरिरहेका बेला नेकप एकता अभियानमा लागेका नेता लालबाबु पण्डितले भने नयाँ सरकार पनि नेकपाकै नेतृत्वमा गठन हुने दाबी गरेका छन्।

जनताले नेकपालाई पाँच वर्ष सरकार चलाउन म्याण्डेट दिएको उल्लेख गर्दै अब नयाँ सरकार गठन भयो भने पनि त्यो सरकार नेकपाकै नेतृत्वमा सरकार गठन हुने दाबी गर्छन्। पार्टी एकता हुने दाबी गर्दै आएका नेता पण्डितले अबको एक महिनाभित्र पार्टी एक भइसक्ने पनि दाबी गरे। यो बीचमा उनले पार्टी एकताका लागि भन्दै राष्ट्रपतिदेखि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीलगायत अधिकांश नेतासँग भेट गरेको र सबै भेट सकारात्मक रहेको बताए।

‘दुवै समूह नेकपा नै हो, यी दुवै समूहको चुनाव चिन्ह सूर्य नै हो,’ नेता पण्डितले डिसी नेपालसँग भने, ‘विवादको जरो कार्यशैलीमा छ। केही निश्चित पदहरुमा विवाद छ। सैद्धान्तिक कुनै पनि विवाद छैन। यो पदीय लडाइँ हो। यस्तो विवाद लामो समय रहँदैन। त्यसैले अब पार्टी एकता हुन्छ।’

घटनाक्रम विकास हुँदै जाँदा आक्रोश र इगोमा परिणत भएको त्यसको परिणामले परिस्थिति जटिल बन्दै गएको उनको बुझाइ छ। नेकपाको विवाद समुन्द्रमा आँधी आउनु जस्तै भएको उल्लेख गर्दै उनले भने, ‘आँधी आएपछि विवाश त हुन्छ नै, तर केही समयपछि परिस्थिति सामान्य हुनछ, अहिले नेकपाको विवाद त्यस्तै अवस्थामा पुगेको छ। अहिलेको अवस्था समुन्द्र आँधीपछिको जस्तै हो।’

नेकपा नेता पण्डितसँग डिसी नेपालका लागि मदन कोइरालाले गरेको भिडियो संवाद




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *