धमाधम सांसदहरुलाई पदमुक्त गर्दै माओवादी, प्रदेश २ का चार सांसद पदमुक्त

डिसी नेपाल
३० चैत २०७७ १७:४५

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका सांसदहरुलाई धमाधम पदमुक्त गर्न थालेको छ । सोमबार प्रदेश २ का चार र कर्णालीका एक प्रदेशसभा सदस्य पदमुक्त भएका छन् ।

प्रदेश २ प्रदेशसभाको सोमबार बसेको बैठकमा सभामुख सरोजकुमार यादवले रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दन प्रसाद कुशवाहा र मोहम्मद समीर पदमुक्त भएको जानकारी दिएका हुन् । यस्तै, कर्णाली प्रदेशसभा सचिव जीवराज बुढाथोकीले एक सूचना प्रकाशित गरी धर्मराज रेग्मीले दल त्याग गरेको सूचना माओवादी केन्द्र संसदीय दलबाट चैत २० गते प्रदेशसभा सचिवालयमा प्राप्त भएको जानकारी गराएपछि उनी पदमुक्त भएका हुन् ।

कुनै सांसदले दल त्याग गरेको सूचना प्रदेशसभा चालु रहेको अवस्थामा प्रदेशसभा बैठकमा जानकारी गराउने र प्रदेशसभा अधिवेशन स्थगित भएको अवस्थामा सचिवालयले सूचना प्रकाशित गरेपछि ती सांसदको पद रिक्त भएको मानिने कानुनी व्यवस्था छ ।

प्रदेश २ मा पदमुक्त हुने तीन जना प्रत्यक्ष निर्वाचन प्रदेशसभा सदस्य हुन् भने एक समानुपातिक हुन् । समानुपातिक सदस्यको स्थानमा दलले नयाँँ पठाउन सक्छ ।

यसअघि एमालेमा प्रवेश गरेका माओवादीका लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दधिराम न्यौपाने, दिनेश पन्थी र प्रदेश एकका टंक आङ्बो पदमुक्त भएका थिए । यस्तै, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग,वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्ट, सहरी विकास मन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई सांसद पद नरहने गरी कारवाही गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *