पर्याप्त विदेशी कामदार नभएपछि कोरियाको कृषि क्षेत्रमा कामदारको हाहाकार

डिसी नेपाल
८ वैशाख २०७८ १९:०५
908
Shares

कोरिया। दक्षिण कोरियाको कृषि तथा पशुपालन क्षेत्रका कम्पनीहरुले अहिले कामदार अभावको मार खेप्नुपरेको छ। अहिले कारोनाका कारण विदेशी कामदारलाई कोरिया प्रवेशमा कडाइ गरिनुका साथै केही सिमित संख्यामा मात्र कामदारलाई कोरिया आउन दिइए पनि कामदार ल्याउँदा लाग्ने खर्च बढेका कारण कृषि क्षेत्र मारमा परेको हो। उनीहरुले चाहेजति संख्यामा विदेशी कामदार नपाएका कारण काम गर्न नै गाह्रो पर्न थालेको छ। इपिएस कोरियाअन्तर्गत करिब २८ हजारको संख्यामा नेपाली कामदारहरु कृषि क्षेत्रमा काम गरिरहेका छन्। तर, अहिले नेपाललगायत अन्य मुलुकबाट कोरिया आउने कामदारहरु कोरोना महामारीका कारण भाषा परीक्षा पास भएर पनि कोरिया आउन सकेका छैनन्।

कोरोना महामारीभन्दा अघि धेरैजसो कृषि फारामहरु विदेशी मौसमी कामदारहरुमा निर्भर रहेका थिए। मुख्यगरी दक्षिण पूर्वी एशियाबाट आउने कामदार जसलाई सि–३ भिजा दिइन्थ्यो उनीहरुले ९० दिनसम्म कोरियामा काम गर्न पाउँथे। कृषि तथा पशुपालनको ब्यस्त सिजनमा उनीहरुलाई काम गर्न दिइने गरेको थियो। कोरियाको कृषि तथा सामाजिक मन्त्रालयका अनुसार अप्रिलदेखि जुन महिनामा बर्षभरिको तुलनामा ४० प्रतिशत बढी कामदारको माग हुने गर्दछ।

सानातिना कृषि फार्महरुलाई विदेशी मौसमी कामदारहरुबाट ठूलो सहुलियत हुने गरेको थियो। बुढापाकाहरुको संख्या अत्याधिक बढेपछि कोरियामा अहिले कृषि क्षेत्रमा काम गर्ने मानिसको अभाव बढिरहेको छ। अहिले कृषि क्षेत्रमा कुल कामदारको ८० प्रतिशत विदेशी कामदार रहेका छन्। कोरियाको न्याय मन्त्रालयका अनुसार गत बर्ष कोरियाको ३७ वटा स्थानीय सरकारले ४ हजार ४ सय ६ जनामात्र मौसमी विदेशी कामदारलाई कोरिया आउन अनुमति दिएका छन्।

तर गत बर्षदेखि कुनै पनि सिजनमा मौसमी कामदार कोरिया प्रवेश गर्न पाएका छैनन्। यदि कोही कोरिया आइहाले पनि उनीहरुलाई करिब १४ लाख खर्च गरेर क्वारेन्टिनको व्यवस्था गर्नुपर्ने भएकाले अझ गाह्रो अवस्था आएको छ। छल्लाबुक्दोमा सखरखण्डको खेती गरिरहेका किम सुङ आन भन्छन्, ‘पहिलेभन्दा बढी पैसा तिर्दा पनि कोरियन कामदारसमेत पाइन छाडेको छ।’

कोरियाको कृषि मन्त्रालयका अनुसार कामदार अभावको समस्या समाधानका लागि कोरियाले त्यहाँ भएका कामदारहरुको भिजा अरु १ बर्ष थप गर्ने निर्णय गरेको छ। यो समस्या समाधानका लागि न्याय मन्त्रालयसँग छलफल पनि चलिरहेको छ। त्यसैगरी छुङछबुक्दो प्रदेशले त्यहाँ रहेका विश्वविध्यालयसँग सहकार्य गरी विध्यार्थीहरुलाई उनीहरुको फ्री समयमा कृषि क्षेत्रमा काम दिने योजना बनाइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.