खाने छाकमा निषेधाज्ञा नलागाइयोस सरकार !

उपेन्द्र शाही
१७ वैशाख २०७८ ७:३५

काठमाडौं। कोरोना संक्रमण तिव्र बन्दै गएपछि वैशाख १६ बिहीबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा सुरू भएको छ। अत्यावश्यक सेवा बाहेकका व्यवसाय खुल्न नपाएपछि यो एक प्रकारको लकडाउन नै हो। यसले सबैभन्दा चिन्तित कोही छ भने ती हुन् दैनिक ज्यालादारी गरेर दिन गुजारा गर्दै आएका मजदुर वर्ग।

निषेधाज्ञाका कारण राजधानीका विभिन्न ठाउँमा काम गर्ने मजदुरहरूले दैनिकी कसरी चलाउने संकट फेरि आइलागेको छ। उनीहरु खाना र नानाको जोहो कसले गर्देला भन्ने चिन्तामा छन्।

काठमाडौंको असन। प्रायजसो सधै व्यस्त मान्छे ठेलम्ठेल हुन्छ। बिहीबार सुनसान थियो। यता उता कुकुर छन्। फाटफुट मान्छे यता उता गरिरहेका छन्। कोही भरिया सुतेका छन् त कोही टोलाएर बसिरहेका। कोही खाना पाउने आस मारेर सुतेका छन् भने कोही कतैबाट काम र खाना पाइन्छ कि भन्ने झिनो आसको पर्खाइमा।

नजिक पुग्ने बित्तिकै बसिरहेका एक जनाले प्रश्न गर्दै भने ‘कता जानु पर्ने सर?’ विहानदेखि खाना नखाएका उनले आफू समाचार लेख्ने मान्छे भने पछि निराश हुँदै भने ‘ए हो र?’

‘भारी बोकेर जीवन गुजारा चल्थ्यो। दैनिक ५ देखि ७ सय रुपैयाँसम्म कमाइ हुन्थ्यो। त्यसैको भरमा खाना र बस्न थियो। तर, आज केही छैन काम छैन त्यसैले खाना छैन। विहानदेखि भोकै छु।’

गुल्मीका दिलिप तामाङले १० वार्षदेखि यही काम गरेर दुइ जनाको परिवारको दैनिकी चलेको थियो। सरकारले बिहीबार बैशाख १६ गतेदेखि निषेधाज्ञा घोषणा ग-यो। पसल तथा व्यवसाय ठप्प भए। उनको पनि काम खोसियो। त्यही शोकमा टोलाइरहेका छन्, उनी।

न्युरोडको गल्लीमा बसिरहेका दोलखा चरीकोटका ४८ वर्षीय विशाल थापाले यसरी नै काम गर्न थालेको २५ वर्ष पुगेछ। ‘बल भएसम्म हो नभए त छैन। घर परिवार गाउँमै छ। सबै यता बस्न त कहाँ सकिन्छ? विहानदेखि कामको खाजीमा छु, खोइ के पाइएला र काम आज।’

‘गत वर्षको लकडाउनमा पनि धेरै समस्या भोगियो’ उनले सम्झिँदै भने ‘त्यतिखेर त धेरै व्यक्ति तथा संघसंस्थाले खाना सहितको सहायोग गरेका थिए। त्यसले गुजारा भएको थियो। तर, अहिले त कोही कसैले सहयोग गरेन। खोइ।’ आफूले घर जान खोजेपनि गाडि नपाएका कारण घर जान नपाएको उनी बताउँछन्।

चत्रपथ रिङ रोडमा चल्ने बसमा सहयोगीको काम गर्ने प्रकाश खत्री नयाँ बसपार्कमा बसिरहेका थिए। सरकारले निषेधाज्ञा गरेपछि उनको पनि काम खोसियो। आम्दानी पनि गुम्यो।

उनले भने, ‘गाडीधनीकहाँ पुगे, मालिकले गाडी नै नचलेकाले सहयोग गर्न नसक्ने बताए। बसपार्कमा खाना मिल्छ भनेर यहाँ आएको तर, अहिलेसम्म कतैबाट खाना पाइएको छैन। निषेधाज्ञाले त छाकमै निषेध लायो’

काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा सरकारले निषेधाज्ञा लागू गरेको छ। अत्याआवश्यक बाहेकका व्यापार व्यावसाय बन्द भएका छन्। सार्वजनिक सवारीसाधन थन्किएका छन्। यस्तो अवस्थामा देशभरका दैनिक ज्यालादारी गरेर जीवन गुजरा गरिरहेका मजदुरको रोजगारी खोसिएको छ।

कोरोना महामारी र लकडाउनले पिरोली रहेका अधिकांश मजदुरलाई साँझ–बिहानको छाक टार्न पनि समस्या भएको छ। तर, कसैले सहयोग गरेका छैनन्। मजदुरसम्बद्ध संघसंस्था र यातायात व्यवसायीले बेवास्ता गरेका छन्। राज्यले समेत उनीहरू केन्द्रित राहत बाँडेको छैन।

राजनीतिक दलहरुले केही समय पहिले जनसरोकारका विषयलाई बालै फरर गरेर कसले धेरै भिड गर्न सक्छ भनेर प्रतिस्प्रधामा उत्रिए। त्यसको सजाय अहिले यिनै मजदुर वर्गले खेप्नु परेको छ।

बेलैमा सचेत भएर सरकारले नागरिकलाई सजग गराउन सकेको भए अहिलेको यो अवस्था आउँदैन थियो। अघिल्लो दिनसम्म हजारौँ भारतीय नेपालबाट तेस्रो मुलुक जान खुलेयाम आउँदा पनि चु नबोलेको सरकार एकै पटक आत्तिएर निषेधाज्ञामा पुगेको छ।

यसको सिधै असर सडक मान्छेलाई परेको छ। सबैभन्दा धेरै लकडाउनको मारमा उनीहरु छन्। उनीहरुलाई कसरी सम्बोधन गर्ने उपयूक्त योजना बनाएर सरकार अगाडि बढ्न अति आवश्यक छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *