व्यक्तिगत स्वामित्व रहेसम्म सुकुम्बासी समस्या हल हुँदैन : गौतम

डिसी नेपाल
२४ साउन २०७८ १४:०३
196
Shares

काठमाडाैं। नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले जमिनमाथि व्यक्तिगत स्वामित्व कायम हुँदा सुकुम्बासी बन्ने प्रक्रिया शुरु हुने भएकाले खण्डीकरण गरिएका जमिनलाई राज्यले खरिद गरेर चक्लाबन्दीसहित कृषि उत्पादकत्व बढाउनुपर्ने बताएका छन्।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सभाका सदस्य गौतमले सबै भूमिहीनलाई जनही पाँच/पाँच कट्ठा पनि जमिन दिन नसकिने भएकाले जमिन नहुनेलाई रोजगारी दिएर समृद्धितर्फको यात्रा प्रारम्भ गर्न सकिने सुझाए।

विसं २०५१ देखि हालसम्मका विभिन्न सरकारले पटकपटक सुकुम्बासी आयोग गठन गरेर जमिन बाँड्ने योजना सफल नभएकाले यो बाटो वैज्ञानिक नभएको तर्क राखे।

“जमिनमाथि व्यक्तिको स्वामित्व रहेसम्म एकथरी मानिस धनी र जमिन नहुने गरिब तथा भूमिहीन हुँदै जानेछन्”, उनले भने, “त्यसकारण टुक्राटुक्रा पारिएको जमिन राज्यले बैंक ग्यारेन्टी गरेर खरिद गर्नुपर्छ र उपयोग गर्नुपर्छ, अन्यथा भूमिहीन र सुकुम्बासीको समस्या कायमै रहनेछ।”

नेपाली काँग्रेसका अनिता देवकोटाले कोभिड सङ्क्रमणबाट प्रभावित शैक्षिकसत्रलाई स्वास्थ्य मापदण्डको पालना गरेर नियमित गराउन माग गर्नुभयो । उहाँले कक्षा ११ र १२ सञ्चालन हुने विद्यालयका लागि शिक्षक दरबन्दीको व्यवस्था गर्न पनि ध्यानाकर्षण गराए।

नेकपा (माओवादी केन्द्र) का महेशकुमार महराले सशस्त्र जनयुद्ध र आन्दोलनका क्रममा विस्थापन भएका शिक्षकलाई जाँचबुझ समितिको सुझावका आधारमा पुनःस्थापना गर्न माग गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.