मधेश प्रदेशलाई साक्षर बनाउने काम तीव्र गतिमा भइरहेको छ: शिक्षा मन्त्री पोखरेल
जनकपुरधाम। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने दिशामा सरकारले तीव्र गतिमा काम गरिरहेको बताएका छन्।
सोमबार जनकपुरधामस्थित संकटमोचन विद्यालयमा विद्यार्थीहरूलाई खेलकुद सामग्री वितरण गर्न पुगेका मन्त्री पोखरेलले सञ्चारकर्मीहरूसँग कुरा गर्दै साक्षर प्रदेशको संरचना निर्माणका लागि प्रदेश सरकारलाई प्रतिवेदन बुझाइसकिएको र सोही प्रतिवेदनअनुसार काम द्रुत गतिमा अघि बढिरहेको जानकारी दिए।
उनले प्रदेश प्रमुख तथा एकाइ कार्यालयहरूसँग वस्तुस्थितिको जानकारी लिएर मात्र काठमाडौं फर्किने बताए।
यसैगरी, मन्त्री पोखरेलले जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणमा देखिएको समस्या समाधान तथा जग्गा निरीक्षणलाई पनि आफूले प्राथमिकतामा राखेको बताए।
विश्वविद्यालयका डिनसँग यसबारे छलफल भइसकेको उल्लेख गर्दै उनले जनकपुरधामको मुजेलियास्थित जग्गा र फुलहट्टा/फुलगमामा तोकिएको निर्माणस्थलको सोमबार नै निरीक्षण गर्ने जानकारी दिए। मन्त्री पोखरेलले राजर्षि जनक विश्वविद्यालयको स्तरोन्नति गर्दै शिक्षाको स्तर थप सुदृढ बनाउन गम्भीर चासो व्यक्त गरे
सो क्रममा मन्त्री पोखरेलले संकटमोचन विद्यालयका छात्रछात्राहरूलाई क्रिकेट ब्याट, फुटबल र ब्याडमिन्टन र्याकेट लगायतका खेलकुद सामग्री हस्तान्तरण गरेका थिए। उनले सो विद्यालयमा छिट्टै खेल प्रशिक्षक उपलब्ध गराउने प्रतिबद्धता जनाउनुका साथै विद्यार्थीहरूसँग केही समय क्रिकेट समेत खेलेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment