पूर्व प्रधानन्यायाधीश जबराले मागे थप सुरक्षा

डिसी नेपाल
१२ असोज २०८३ १३:१६

काठमाडौँ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो र परिवारको जिउज्यानको सुरक्षामा गम्भीर चुनौती थपिएको भन्दै प्रहरीसँग थप सुरक्षा माग गरेका छन्।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा निवेदन दर्ता गराउँदै पूर्वप्रधानन्यायाधीश राणाका छोरा सचिन्द्र शमशेर ज.ब.रा. ले विगतमा न्यायपालिका प्रमुखको हैसियतमा सम्पादन गरेका न्यायिक निर्णयहरू, सामाजिक सञ्जाल तथा मिडियामा आएका विषय र देशको वर्तमान अवस्थाका कारण निवास तथा परिवारको सुरक्षामा जोखिम बढेको भन्दै थप प्रहरी दस्ता खटाउन माग गरेका हुन्।

यो निवेदन दर्ता भएसँगै प्रहरीले उनको निवासमा सुरक्षा व्यवस्था कडा पारेको छ। यसअघि असोज ११ गते (सेप्टेम्बर २७) आइतबार बिहान करिब ३ बजे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राणालाई महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको थियो।

सुरुमा पक्राउ गरिएको खबर सार्वजनिक भए पनि पछि प्रहरीले सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै ‘सुरक्षात्मक नियन्त्रण’ मा राखिएको दाबी गरेको थियो। सोही दिन दिउँसो करिब २ बजे उनलाई मुद्दा नचलाइ परिवारको जिम्मा लगाइएको थियो।

२०७५ पुस १८ मा नेपालको २९ औँ प्रधानन्यायाधीश बनेका राणाको कार्यकाल सुरुवातदेखि नै निकै विवादित रह्यो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई उनको नेतृत्वमा रहेको संवैधानिक इजलासले बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।

उनीमाथि कार्यपालिकामा भागबण्डा खोजेको, न्यायपालिकामा बिचौलिया बढाएको र कार्यक्षमताको अभाव रहेको आरोप लगाउँदै नेपाल बार एसोसिएसन र सर्वोच्चकै न्यायाधीशहरूले लामो समयसम्म इजलास बहिष्कार गरी आन्दोलन गरेका थिए।

विवाद चरम उत्कर्षमा पुगेपछि २०७८ फागुन १ गते उनीविरुद्ध प्रतिनिधि सभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो, जसका कारण उनी निलम्बनमा परेका थिए।

लामो समयसम्म महाअभियोगको प्रक्रिया अनिर्णित रहेपछि र उनी उमेर हदका कारण अनिवार्य अवकाशमा गइसकेपछि, २०८३ भदौ २४ मा सर्वोच्च अदालतको संवैधानिक इजलासले महाअभियोगको औचित्य टुंगिएको ठहर गर्दै उनका रोकिएका सेवासुविधाहरू फुकुवा गर्ने आदेश दिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *