कांग्रेस महाधिवेशन: पूर्वसहमहामन्त्री किशोरसिंह राठोरद्वारा सभापतिमा उम्मेदवारी दिने घोषणा
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री किशोरसिंह राठोरले आगामी १५ औं केन्द्रीय महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुन गइरहेको महाधिवेशनका लागि उनले आफ्नो उम्मेदवारीको इच्छा सार्वजनिक गरेका हुन्।
नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षसमेत रहेका नेता राठोरले पार्टीको नेतृत्व सम्हाल्ने इच्छा रहेको बताउँदै महाधिवेशन प्रतिनिधि चुनिएर काठमाडौं आएपछि थप छलफल अघि बढाउने जानकारी दिएका छन्।
उम्मेदवारीका लागि अहिल्यै ठूलो विशेष तयारी आवश्यक नरहेको र समय आएपछि सोही अनुसार अघि बढ्ने उनको भनाइ छ। २०७८ को १४ औं महाधिवेशनमा शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्री निर्वाचित भएका राठोरले प्यानल बनाएर चुनाव लड्ने वा नलड्ने विषयमा भने पछि नै निर्णय लिने बताएका छन्।
विशेष महाधिवेशनपछि सभापति बनेका गगन थापा पनि पुनः सभापतिमै उठ्ने तयारीमा रहेका बेला अहिलेसम्म थापा र राठोरको नाम मुख्य चर्चामा छ। कांग्रेसले यसपटक गुट र प्यानल नबनाउन आग्रह गरिरहेको छ। संशोधन गरिएको विधानअनुसार अब बन्ने नयाँ केन्द्रीय समिति २३१ सदस्यीय हुनेछ, जसमा सभापतिले कोषाध्यक्ष र ६१ जना सदस्य मनोनीत गर्ने व्यवस्था रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment