कांग्रेस महाधिवेशन : तीन शक्तिबीच भीडन्त
काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबारबाट औपचारिक रूपमा सुरू हुँदैछ। शुक्रबार वडा तहको अधिवेशन हुँदैछ। तर, यसको सरगर्मी केन्द्रीय तहसमेत परिसकेको छ। आगामी नेतृत्वका लागि विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ र कल्याण गुरुङले सभापति पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन्।
बिहीबार रामचन्द्र पौडेल समूहले पनि आफूहरुले सामूहिक नेतृत्वमार्फत एकजनालाई सभापतिमा उठाउने विश्वास दिलाउन पत्रकार सम्मेलन गरेको थियो। कोइराला र सिंह परिवारको साथमा पौडेलले बिहीबार पत्रकार सम्मेलन गरेर आफूहरूमध्येबाट एकजना सभापतिको उम्मेदवार हुने बताए।
पत्रकार सम्मेलनमा कोइराला परिवारबाट शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइराला र सिंह परिवारबाट प्रकाशमान सिंह तथा अर्जुननरसिंह केसी, गगन थापालालाई दायाँ बायाँ राखेर नेता पौडेलले महाधिवेशनका लागि आफूहरू एकजुट भएको सन्देश दिए।
यस्तै शेरबहादुर देउवा पनि सभापतिमा उम्मेदवारी दिने तयारीमा छन्। हालसम्मको गतिविधि हेर्दा सभापतिका लागि आधा दर्जन नेताहरू प्रतिस्पर्धामा उत्रने देखिन्छ। तर, सघन प्रतिस्पर्धा भने तीन समूहबीच हुने देखिएको छ।
शेरबहादुर देउवा, रामचन्द्र पौडेल र विमलेन्द्र निधि समूहबीच मुख्यतः प्रतिस्पर्धा हुने देखिएको हो। लामो समय देउवालाई साथ दिँदै आएका निधिले यसपटक आफैँ सभापति पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन्।
१३औं महाधिवेशनमार्फत सभापतिमा निर्वाचित देउवा यसपटक दोहोरिने मनशायमा छन्। उता कोइराला र सिंह परिवारको साथसहित अर्जुननरसिंह केसी र गगन थापाको साथ पाएका रामचन्द्र पौडेल पनि सभापतिमा निर्वाचित हुने विश्वासमा छन्।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिकाअनुसार १८–२३ भदौसम्म वडा अधिवेशन हुनेछ। गाउँ/नगरपालिका अधिवेशन २७ भदौमा, प्रदेश अधिवेशन १ असोजमा, संघीय निर्वाचन क्षेत्रको अधिवेशन ५ असोजमा, जिल्ला अधिवेशन १० असोजमा, प्रदेश अधिवेशन १०–१२ कात्तिक र केन्द्रीय महाधिवेशन ९–१३ मंसिरमा हुँदैछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment