सशस्त्र प्रहरी स्कुल भ्रष्टाचार प्रकरण: अभियुक्तलाई थुनेर अनुसन्धान गर्न थप १० दिनको म्याद
काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) स्कुल, कीर्तिपुरको भ्रष्टाचार प्रकरणमा मुछिएका अभियुक्तहरूलाई थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ। अदालतको इजलासले लेखा अधिकृत कल्पना गुरुङ र एमडी एडभेन्चर टुर्स एण्ड ट्राभल्सका सञ्चालक लीलाबहादुर तामाङलाई थप १० दिन हिरासतमा राख्न अनुमति प्रदान गरेको हो।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले अनुसन्धान प्रक्रियालाई अगाडि बढाउन उक्त म्याद थप गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र १७ बमोजिम अनुसन्धान गरिरहेको छ।
गत असार २० गते जिल्ला प्रहरी परिसरले दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। त्यसयता अदालतबाट पटक-पटक म्याद थप हुँदै आएकोमा पछिल्लो आदेशसँगै उनीहरूको हिरासत अवधि थपिएको यो पाँचौँ पटक हो।
प्रहरी र सरकारी वकिल कार्यालयको समन्वयमा साउन ८ गते दुवै आरोपीलाई थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाइएको थियो। हाल अख्तियारले यस घटनासँग सम्बन्धित प्रमाण संकलन तथा विस्तृत अनुसन्धानको कामलाई तिब्रता दिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment