कांग्रेसकाे ‘कुम्भमेला’ आजदेखि : २१ जिल्लाको वडा अधिवेशन भने अझै अनिश्चित

सम्भव सिंह ठकुरी
१८ भदौ २०७८ १२:१६

काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सुरुवाती महासंग्राम आजबाट सुरु भएकाे छ। देशभरका ६ हजार ७ सय ४३ वडामा नयाँ नेतृत्व छान्न आज अधिवेशन भइरहेको छ।

तर सबै जिल्लाका क्रियाशील सदस्यता एकै पटक सार्वजनिक नहुँदा वडा अधिवेशनका लागि तोकिएको १८ गते नै भने जिल्ला अनुसार फरक फरक हुने भएको छ। अर्थात १८ गते देखि २३ गतेसम्म ७७ वटै जिल्लामा कांग्रेसले वडा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चुन्ने छ।

कांग्रेसले हालसम्म ५६ जिल्लाको क्रियाशील सदस्यताको नामावलीमात्र पार्टीको वेबसाइटमा सार्वजनिक गरेको छ। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको क्रियाशील सदस्यता विवाद समाधान समितिले तयार पारेको सहमतिको प्रतिवेदन कार्यान्वयन नहुँदा बाँकी २१ जिल्लाका वडा अधिवेशन अनिश्चित बनेको छ।

कांग्रेस महाधिवेशनको आधारविन्दु र मेरुदण्ड भनेको क्रियाशील सदस्यता हो। तर, महाधिवेशन मेरुदण्ड क्रियाशील सदस्यता नवीकरण र वितरणमा भएको विवाद समाधान नहुँदा २१ जिल्लाको वडा अधिवेशन १८ भदौमा नहुने निश्चित मात्र भएको छैन, महाधिधवेशनलाई अनिश्चित बनाउन यिनै जिल्लाको विवाद कारण प्रभावित हुने त हैन? भन्ने प्रश्न निकै पेचिलो बनेको छ।

सहमहामन्त्री डा. प्रकाशशरण महतले भने बाँकी २१ जिल्लाको विवाद समाधान भइसकेको दाबी गरे। १० बुँदे प्रतिवेदन अनुरूप निर्णय कार्यान्वयन तीव्र गतिमा भइरहेकाले २३ गतेभित्र नै बाँकी जिल्लाको पनि विवाद समाधान हुने र सबै नामावली वेबसाइटमा राखिने महतले बताए।

‘कार्यदलका साथीहरु अहोरात्र काम गरिरहनु भएको छ। करिव सबै विवादहरु सहमति भइसकेको छ, २३ गतेभित्र सबै टुङ्गोमा पुग्छ र अधिवेशन हुन्छ,’ उनले भने। विधान अनुसार २०७६ फागुनमै हुनुपर्ने कांग्रेसको महाधिवेशन पाँच वर्ष ६ महिनामा सुरु हुन लागेको हो।

प्रत्येक चार वर्षमा महाधिवेशन गर्नुपर्ने कांग्रेस विधानको प्रावधान पार गर्दै थप एक वर्षको सुविधा पनि गुजारेको कांग्रेसले संविधानले दिएको ६ महिनाको सुबिधा प्रयोग गर्दै आएको छ। जुन समयसीमा भदौ २३ गते सकिँदैछ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको अहिलेको कार्यसमिति २०७२ साल फागुन २० देखि २३ गतेको १३ औं महाधिवेशनबाट निर्वाचित भएको हो। लामो समयदेखि क्रियाशील सदस्यता विवादका कारण अनिश्चित भएको अधिवेशन सुनिश्चित गर्न छैटौँ पटक कार्यतालिका परिमार्जन गरिएको थियो।

छैटौं पटक कार्यतालिका परिमार्जन गरेपछि अधिवेशन सुरु

कांग्रेसले सार्वजानिक गरेको ५ पटकको कार्यतालिका प्रभावित बनेको थियो। पटक पटक मिति तोक्दै प्रभावित हुँदै आएको अधिवेशन छौटौँ पटकको कार्यतालिका अनुसार आजबाट वडा अधिवेशन सुरु भएको हो।

कांग्रेसले पहिलो पटक २०७६ फागुन ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको कार्यकाल एक वर्ष थप गर्दै २०७७ फागुन ७ देखि १० मा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो।

कार्यतालिका सार्वजानिक भएको दोस्रो महिनामै कोरोनाका कारण देशभर लकडाउन घोषणा भएपछि महाधिवेशन कार्यतालिका प्रभावित भएको थियो।  त्यसपछि २०७६ माघ १३ गतेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति यथावत् राख्दै तल्लो तहको अधिवेशनको कार्यतालिका परिमार्जन गरेको थियो।

दुई पटक तोकिएको कार्यतालिका पनि कोरोनाकै कारण प्रभावित भएपछि तेस्रो पटक २०७७ असार २३ गतेको केन्द्रीय कार्यसमितिको बैठकले स्थानीयदेखि प्रदेश अविधेशनसम्मको कार्यतालिका संशोधन गरेको थियो भने केन्द्रीय महाधिवेशनको मिति भने २०७७ फागुन ७ देखि १० गतेको कायमै राख्ने निर्णय थियो।

कोरोनाको कारण देखाउदै अधिवेशन प्रभावित भएपनि अधिवेशनको कार्यतालिका प्रभावित बन्नुमा क्रियाशील विवाद् र विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र राप्रपा परित्याग गरि कांग्रेसमा समाहित भएका सुनिल थापाका नेताकार्यकर्तालाई दिएको सदस्यता विवाद नै प्रमुख समस्या बनेको थियो।

त्यसपछि कांग्रेसले २०७७ फागुन ६ गते चौथोपटक कार्यतालिका परिमार्जन गरेको हो। पार्टी विधानले दिएको एक वर्षको समय पनि गुजारेपछि कांग्रेसले संविधानको सुविधा अनुसार थप ६ महिना कार्यकाल थप्दै २०७८ भदौ ७ देखि १० सम्म काठमाडौं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो।

पटकपटक मिति तोक्दै प्रभावित हुँदै आएको कांग्रेसले गत असार ४ गते पाचौँ पटक बसेको केन्द्रीय कार्यसमितिको बैठकले फेरि नयाँ महाधिवेशन कार्यतालिका सार्वजानिक गरेको गरेको थियो।

सोही कार्यतालिकाका अनुसार २०७८ भदौ १६–१९ सम्म केन्द्रीय महाधिवेशन गर्ने उल्लेख थियो। उक्त कार्यतालिकापनि प्रभावित भएपछि गत साउन २९ गतेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी मंसिर ९ गते देखि १३ गतेसम्म काठमाडौंमा केन्द्रीय अधिवेशन गर्ने कार्यतालिका आएको हो। उक्त कार्यतालिका अनुसार नै आज देशका विभिन्न वडाहरुमा अधिवेशन हुँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *