क्यान्सर रोगको उपचार अति महँगो भयोः राज्यमन्त्री श्रेष्ठ
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले क्यान्सर रोगको उपचार अति महँगो भएको बताउँदै क्यान्सर उपचारका लागि ठूलो रकम विदेशिएको बताए । उनले क्यान्सर उपचार स्वदेशमै हुने गरी अस्पताललाई सुधार गर्नुपर्ने बताए ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २२औँ वार्षिकोत्सव तथा १७औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा स्वास्थ्य क्षेत्रलाई सुधार गर्न आवश्यक रहेको भन्दै उनले भने, “जबसम्म सार्वजनिक स्वास्थ्यलाई सुधार गर्न सक्दैनौँ तबसम्म निजी अस्पतालले ‘डोमिनेट’ नै गर्छन् ।” अब निजी अस्पतालको अनुगमनलाई कडाइ गरिने भन्दै राज्यमन्त्री श्रेष्ठले कुन क्षमताको अस्पताल कस्तो हुनुपर्छ भन्ने कुरा कडाइका साथ अनुगमन हुने बताए ।
कार्यक्रममा राष्ट्रियसभा राष्ट्रिय सरोकार समितिका सभापति एवं नेकपा (एमाले) चितवनका अध्यक्ष पार्वती रावल, प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठ, नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशी, नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारी, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले बोलेका थिए ।
यस्तै माओवादी केन्द्रका प्रतिनिधि बद्री तिमिल्सिना, भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह, अस्पताल सञ्चालक समितिका सदस्य रामप्रसाद न्यौपाने, अस्पतालका पूर्वअध्यक्ष डा भक्तमान श्रेष्ठ, चिनियाँ चिकित्सक टोलीका प्रमुख डा झाङ वी लगायतले शुभकामना मन्तव्य व्यक्त गरे। अस्पताल सञ्चालक समितिका अध्यक्ष डा निर्मल लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालको प्रतिवेदन कार्यकारी निर्देशक डा देजकुमार गौतमले प्रस्तुत गरेका थिए ।







डिसी नेपाल








Facebook Comment