अविश्वास प्रस्ताव सामना नगरी कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा घोषणा

डिसी नेपाल
९ साउन २०८३ १७:०७

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदबाट राजीनामा दिएका छन्। शनिबार अपरान्ह बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले पद त्यागको घोषणा गरेका हुन्।

सत्ता साझेदार नेपाली कांग्रेसले समर्थन फिर्ता लिँदै असार ३१ गते सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाएपछि कँडेल नेतृत्वको सरकार संकटमा परेको थियो। त्यसपछि असार ३२ गते नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सहितका १६ जना सांसदहरूले मुख्यमन्त्री कँडेलविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

शनिबार दिउँसो ३ बजे सोही अविश्वासको प्रस्तावमाथि छलफल गर्ने कार्यसूचीसहित प्रदेशसभा बैठक आह्वान गरिएको थियो। तर, मतदान प्रक्रिया र अविश्वासको प्रस्ताव सामना गर्नुअघि नै मुख्यमन्त्री कँडेलले संसदमा आफ्नो धारणा राख्दै कुर्सीभन्दा राजनीतिक सिद्धान्त र नैतिकता ठूलो भएको उल्लेख गरे र राजीनामाको घोषणा गरे।

गठबन्धनको फेरबदल र राजनीतिक पृष्ठभूमि

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा संसदीय दलका नेता कँडेल २०८० साल चैत २७ गते कर्णालीको चौथो मुख्यमन्त्रीका रूपमा नियुक्त भएका थिए। सुरुमा तात्कालिक माओवादी केन्द्रको समर्थनमा सरकार गठन गरेका कँडेलले केन्द्रमा सत्ता समीकरण फेरिएपछि २०८१ साउनमा नेपाली कांग्रेसलाई पनि सरकारमा सहभागी गराएका थिए।

तर, पूर्वसहमति अनुसार सत्ता हस्तान्तरण नगरेको र एमालेले सहकार्यमा धोका दिएको आरोप लगाउँदै कांग्रेसका चार मन्त्रीहरू—आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, जलस्रोत मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले सामूहिक राजीनामा दिएका थिए।

मन्त्रीहरूको राजीनामालगत्तै कांग्रेसले माओवादी केन्द्रसँग नयाँ सत्ता सहकार्यको सहमति गर्दै पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी अघि बढाएको छ। कँडेलको राजीनामासँगै कर्णालीमा नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *