कांग्रेस महाधिवेशन : पाँचथरका अधिकांश स्थानमा युवा नेतृत्व

डिसी नेपाल
११ असोज २०७८ १३:३०
68
Shares

पाँचथर। पाँचथरका आठमध्ये तीन स्थानीय तहमा नेपाली कांग्रेसले चुनावमार्फत नयाँ नेतृत्व चयन गरेको छ। स्थानीय तहको नेतृत्व पाएका अधिकांश युवा तथा जनप्रतिनिधिहरू छन्।

जिल्लाका याङवरक र फाल्गुनन्द गाउँपालिका तथा फिदिम नगरपालिकामा कांग्रेसले मतदानमार्फत नेतृत्व चयन गरेको छ । १४ वटा वडा रहेको फिदिम नगरपालिकाको कांग्रेस सभापति पदमा फिदिम–४ का वडाध्यक्ष प्रकाश गुरुङ निर्वाचित भएका छन्।

गुरुङ नेतृत्वको प्यानलको फिदिमका नगर प्रमुख ओनाहाङ नेम्वाङका सल्लाहकार केशव नेम्वाङको प्यानलसँग चुनावी प्रतिस्पर्धा भएको थियो । दुई सय ६१ जना क्षेत्रीय प्रतिनिधि रहेकामा दुई सय ६० जनाले मतदानमा भाग लिएका थिए । नगर कार्यसमितिको सभापतिमा वडाध्यक्ष गुरुङ एक सय ४९ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिद्वन्द्वी नेम्वाङले एक सय आठ मत प्राप्त गरे।

फिदिम नगर कार्यसमितिको उपसभापतिमा बालकृष्ण लावती र सुकपाल तुम्बापो विजयी भएका छन् । उनीहरुले समान १३७ मत प्राप्त गरे । उपसभापतिका अर्का उम्मेद्वार श्रीप्रसाद घिमिरेले १३२ मत गरे ।

उपसभापतिका तीनै जना उम्मेद्वार वडाध्यक्ष हुन् । यस्तै नगर कार्यसमितिको सचिवमा नरेन्द्र गुरुङ र अविनाश भट्टराई विजयी भएका छन् । उनीहरुले क्रमशः १५८ र १३६ मत प्राप्त गरे । सचिवमा निर्वाचित गुरुङ फिदिम–३ का वडाध्यक्ष हुन् । यस्तै सहसचिवमा नवीनकुमार तुम्बापो र कुशल राई निर्वाचित भएका छन् । उनीहरु सबै युवा हुन् ।

यस्तै कांग्रेस फाल्गुनन्द गाउँ कार्यसमितिको सभापति सुकवीर नेम्वाङ विजयी भएका छन् । नेम्वाङ फाल्गुनन्द–३ पौवासारतापका वडाध्यक्ष हुन् । आइतवार राती सम्पन्न मतगणनाअनुसार नेम्वाङले ६३ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी मनप्रसाद चेम्जोङले ४४ मत प्राप्त गरे ।

सातवटा वडा रहेको फाल्गुनन्दमा कांग्रेसका एक सय ३२ जना क्षेत्रीय प्रतिनिधि रहेकामा एक सय २२ जना मतदान प्रक्रियामा सहभागी थिए । गाउँ कार्यसमितिका अन्य पदमा भने सर्वसम्मत नेतृत्व चयन भएको सो पार्टीले जनाएको छ ।

यस्तै याङवरक गाउँपालिकामा समेत चुनावमार्फत कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ । यहाँ गाउँ कार्यसमितिको सभापतिमा ५४ मत प्राप्त गर्दै शेरबहादुर नुगो सभापति निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी सविन माबोले ५१ मत प्राप्त गरे ।

यस्तै, सचिवमा समान ५७ मत प्राप्त गर्दै रामचन्द्र ढुङ्गेल र कृष्णप्रसाद प्याकुरेल निर्वाचित भए । उनीहरुका प्रतिद्वन्द्वी सुवासचन्द्र काम्बाङ र खगेन्द्र सिग्देलले क्रमशः ४० र ३८ मत प्राप्त गरे ।

यस्तै सहसचिवमा समेत मतदानमार्फत नै तिलबहादुर राई र कृष्ण कोइराला विजयी भएका छन् । उपसभापतिमा भने प्रेमराज काफ्ले र देउकुमार योङहाङ सर्वसम्मत निर्वाचित भए । उपसभापति योङहाङ याङवरक–२ का वडाध्यक्ष हुन् । यहाँ निर्वाचित सचिव, सहसचिव लगायत पदाधिकारी युवा छन् ।

बाँकी पाँचवटा गाउँपालिकामा सहमतिमा कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ । जसअनुसार फालेलुङ गाउँपालिकाको सभापति वीरबिक्रम थाम्सुहाङ, हिलिहाङ गाउँपालिकाको सभापतिमा सन्तोष लिङदेन, कुम्मायक गाउँपालिकाको सभापतिमा दुर्गाप्रसाद बम्जन, तुम्बेवा गाउँपालिकाको सभापतिमा बावुराम खड्का र मिक्लाजुङ गाउँपालिकाको सभापतिमा सन्तकुमार शेर्मा (सन्तोष) को नेतृत्वमा सहमतिमा नयाँ कार्यसमिति गठन भएको कांग्रेस पाँचथरमा जनाएको छ ।

गाउँपालिका सभापति निर्वाचित भएका फालेलुङका सभापति थाम्सुहाङ र मिक्लाजुङका सभापति शेर्मासमेत वडाध्यक्ष हुन् । कांग्रेसले स्थानीय तहका अधिकांश पदाधिकारीमा नयाँ पुस्तालाई जिम्मेवारी दिएको छ । सहमतिमा टुङ्गिएका स्थानीय तहका अधिकांश नेतृत्वमा युवा पुस्ताले स्थान पाएका छन् ।

का‌ंग्रेसको जिल्ला कार्यसमिति सभापतिमा काँग्रेसका पाँचथरका पूर्वसचिव सुरेन्द्रकुमार दाहाल र वर्तमान सचिव रुपनारायण जबेगूवीच प्रतिस्पर्धा हुन लागेको छ ।

दुवै समूहले जिल्ला कार्यसमितिका पदाधिकारीमा प्यानल नै खडा गरी प्रतिस्पर्धा गर्न लागेका छन् । दुवै पक्षले जिल्ला कार्यसमितिको पदाधिकारीमा युवा पुस्तालाई उल्लेख्य स्थान दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.