एमाले विधान महाधिवेशन : आज पाँच समूहले सुझाव राख्ने, केन्द्रीय निर्वाचन आयोग गठन हुने

डिसी नेपाल
१७ असोज २०७८ ७:१३
48
Shares

काठमाडौं। ललितपुरको गोदावरीमा जारी नेकपा (एमाले)को प्रमुख विधानसभाको अन्तिम दिन आज आइतबार बिहान ८ बजेबाट बन्द सत्र सुरु हुँदैछ। १० मध्ये पाँच समूहले शनिबार नै सुझाव पेस गरिसकेका छन्, बाँकी प्रदेश १ समूह, प्रदेश २ समूह, गण्डकी प्रदेश समूह, उपत्यका विशेष कमिटी र सम्पर्क समन्वय कमिटी समूहको सुझाव प्रस्तुत गरिनेछ।

शनिबार कर्णाली प्रदेश समूह, केन्द्रीय विभाग समूह, लुम्बिनी प्रदेश समूह, सुदूरपश्चिम समूह र बागमती प्रदेश समूहले आफ्नो समूहमा छलफल गरी सुझाव प्रस्तुत गरिसकेका छन्।

प्रतिवेदनमाथि प्राप्त सुझावमा दस्तावेज प्रस्तोताले सम्बोधन गरी आज पारित गर्ने कार्यसूची छ। महाधिवेशनले पार्टीको केन्द्रीय निर्वाचन आयोग पनि गठन गर्नेछ।

शनिबार तीन वटा केन्द्रीय निकायका प्रतिवेदन पनि प्रस्तुत भए। बन्दसत्रको सुरुमै केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल र केन्द्रीय सल्लाहकार परिषद्‍का अध्यक्ष केशव बडालले आआफ्नो निकायका तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए।

महाधिवेशनमा शुक्रबार पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए।

ती प्रतिवेदनमाथि छलफल र सुझाव प्रस्तुत गर्न केन्द्रीय निकाय र विभाग, सात वटा प्रदेश कमिटी, उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन तथा प्रवासको समेत प्रतिनिधित्व रहेको १० वटा समूह बनाइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.