सांसद गणेश पौडेलमाथि भएको दुर्व्यवहारप्रति रास्वपा संसदीय दलको आपत्ति: दोषीमाथि कारबाहीको माग
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद) गणेश पौडेलमाथि भएको दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घोर भर्त्सना गरेको छ।
सांसद पौडेलमाथि गत साउन ७ गते जनतासँगको भेटघाट कार्यक्रम सकेर फर्किने क्रममा कालो मसी प्रहार तथा दुर्व्यवहार गरिएको थियो। सोही घटनालाई लिएर रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा यस्ता हिंसात्मक तथा अमर्यादित गतिविधिको कडा शब्दमा निन्दा गरिएको छ।
लोकतान्त्रिक व्यवस्थामा असहमति र विरोध व्यक्त गर्ने अधिकार सुरक्षित रहे पनि जनप्रतिनिधिमाथि हुने हिंसा, दुर्व्यवहार वा अपमानजनक व्यवहार कुनै पनि सुसंस्कृत समाजमा स्वीकार्य हुन नसक्ने रास्वपाको भनाइ छ। यस्ता गतिविधिले विधिको शासन, लोकतान्त्रिक संस्कार र शान्तिपूर्ण राजनीतिक अभ्यासमाथि नै गम्भीर प्रहार गर्ने विज्ञप्तिमा उल्लेख छ।
रास्वपा संसदीय दलले घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न व्यक्तिहरूमाथि कानुनबमोजिम कडा कारबाही गर्न, सत्यतथ्य छानबिन गरी सार्वजनिक गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी जनप्रतिनिधिहरूको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार तथा सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। साथै, पार्टी लोकतान्त्रिक मूल्य-मान्यता, विधिको शासन र अहिंसात्मक राजनीतिप्रति सदैव प्रतिबद्ध रहने पुनरोच्चार पनि गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment