कांग्रेस रामेछाप सभापतिका लागि दोस्रो चरणकाे चुनाव हुने
काठमाडौं । नेपाली कांग्रेस रामेछापको सभापति चयनका लागि पूर्णबहादुर तामाङ (कान्छाराम) र लवश्री न्यौपानेबीच दोस्रो चरणको निर्वाचन हुने भएको छ। पहिलो चरणको निर्वाचनमा सभापतिका कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि आजै दोस्रो चरणको मतदान गर्न लागिएको हो।
जिल्ला निर्वाचन समितिका अनुसार पहिलो चरणको निर्वाचनमा सभापतिमा संस्थापन पक्षका तामाङले ६६८, संस्थापन इतर समूहका न्यौपानेले ३५६ र कृष्णबहादुर महतले ३२८ मत ल्याएका छन्।
महत बाहिरिएपछि दोस्रो चरणमा तामाङ र न्यौपानेबीच प्रतिस्पर्धा हुनेछ । कांग्रेस विधान अनुसार जिल्ला सभापतिमा निर्वाचित हुने कुल खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनुपर्ने हुन्छ।
कांग्रेसले २१ हिमाली जिल्लामा दशैँअघि नै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । आज बिहानसम्म सात जिल्लाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ भने केही जिल्लामा जिल्ला अधिवेशन जारी छ।







डिसी नेपाल







Facebook Comment