मन्त्रिपरिषद तत्काल विस्तार गर्न देउवामाथि पार्टी भित्रैबाट दबाव
काठमाडौं। प्रधानमन्त्रीमा नियुक्त भएको तीन महिना हुन लाग्दासमेत मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेका शेरबहादुर देउवामाथि तत्काल मन्त्रिपरिषद विस्तार गर्न दबाव परेको छ।
स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका नेकपा समाजवादी एकीकृतमा अध्यक्ष माधव नेपाल सोमबार अस्पतालबाट डिस्चार्ज भएपछि यही हप्ताभित्रै मन्त्रिपरिषदलाई पूर्णता दिन देउवामाथि दबाव परेको हो।
गठबन्धन दलका नेताहरुले प्रधानमन्त्री देउवामाथि चाँडो मन्त्रिपरिषद विस्तार गर्न दबाव दिइरहेका बेला पार्टीभित्रै पनि देउवालाई चाँडो मन्त्रिपरिषद विस्तार गर्न दबाव बढेको छ।
लामो समयसम्म सरकार विस्तार हुन नसक्दा गठबन्धन र सरकारको नेतृत्व गरेको दलमाथि जन विश्वास घट्ने भन्दै पार्टीभित्रैबाट देउवामाथि चाँडो मन्त्रिपरिषद विस्तार गर्न दबाव परेको हो।
सोमबार कांग्रेस नेतात्रय उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच प्रधानमन्त्री देउवालाई भेटेर तत्काल मन्त्रिपरिषदलाई पूर्णता दिन दबाव दिने सहमति भएको छ।
असार २९ गते प्रधानमन्त्रीमा नियुक्ती भएका देउवाले सोही दिन कांग्रेसका दुई र माओवादी केन्द्रबाट दुई जनालाई मन्त्री नियुक्त गरेका थिए। त्यसपछि उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त गरेका छन्।
गठबन्धनमा सहभागी दलहरुले मन्त्रीको नाम नदिँदा केही ढिला भएको मन्त्रिपरिषद विस्तार अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले भाग खोजेपछि अझ ढिला भएको छ। प्रधानन्यायाधीश राणाले मन्त्रिपरिषद विस्तारमा भाग खोजेपछि उनको मागलाई कसरी सम्वोधन गर्ने भन्ने विषयमा गठबन्धन दलहरुबीच छलफल भइरहेको स्रोतले जनाएको छ।
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले सरकारमा सहभागी हुने मन्त्रीको नाम फाइनल गरिसकेका छन्। तर प्रधानमन्त्रीको इच्छाशक्ति विना मन्त्रिपरिषदले पूर्णता नपाउने भन्दै गठबन्धन दलहरुले प्रधानमन्त्री देउवाकै कारण मन्त्रिपरिषद विस्तारमा ढिला भएको आरोप लगाउँदै आएका छन्।
यद्यपी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार आयोजित एक कार्यक्रममा केही हिजै मन्त्रिपरिषद विस्तार हुने दाबी गरेका थिए। प्रधानमन्त्रीका प्रेस सहयोगी गोविन्द परियारले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्पतालबाट डिस्चार्ज भसकेकाले अब केही दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताए।







डिसी नेपाल








Facebook Comment