कांग्रेस महाधिवेशन : प्रदेश एकको ठूला शहरमा कुन समूहको को-को बने सभापति?
काठमाडौं। अहिले नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको अधिकांक्ष स्थानीय तहको अधिवेशन सम्पन्न भईसकेको छ। केन्द्रीय नेताहरु वडादेखि जिल्ला तहसम्म आफू अनूकुलको नेतृत्व ठूलै गुटगत प्रतिस्पर्धा गरेका छन्। देउवा, पौडेल, कोइराला, सिटौला समूहबाट कतै प्यानलसहित कतै सर्वसम्मतिको अधारमा नेतृत्व चयन गरेका छन्।
प्रदेश १ को सबै ठूला शहरहरुमा निर्वाचन मार्फन नगर सभापति चयन भएका छन्। प्रदेश एक नेता कृष्ण सिटौला, विजयकुमार गच्छदार, डा.शेखर कोइराला, बलबहादु केसी, डा.मिनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादु कार्की, डा.नारायण खड्का, मिन विश्वकर्मा, विश्वप्रकाश शर्मालगायतका नेताहरुको गृह नगर पनि हो।
प्रदेश १ को धरान, बिराटनगर, इटहरी, दमक, बिर्तामोड, गाइघाटलगायतका ठूला शहरहरुमा प्यानलसहित समूहगत रुपमा निर्वाचनको माध्यमबाट नगर सभापति चयन भइसकेका छन् ।यसरी यी शहरहरुमा सभापति बन्नको लागि समूहगत रुपमा निर्वाचन भएका नगर सभापतिहरुमा कुन समुह बलियो छन् ?
बिराटनगर महानगरपालिका
बिराटनगर स्वभाविक रुपमा कोइरालाहरुको बिरासत र उनीहरुकै वर्चस्व भएको नगर हो। बीपी कोइराला, गिरिजाप्रसाद कोइरालाहुँदै शेखर कोइराला सम्मको प्रभाव बिराटनगरमा रहिआएको छ। यो नगरमा कोइरालाको मात्र प्रभाव नरहेर प्रदेश एक कै ठूलो शहर र प्रदेशको राजधानी पनि भएकाले यहाँको राजनीतिले बिशेष अर्थ राख्ने गर्दछ।
१४ औं महाधिवेशनमा केन्द्रीय सभापतिको उम्मेदारी बन्ने लाइनमा रहेका नेता शेखर कोइरालाको प्रभाव यो महाधिवेशनमा पनि निरन्तर रह्यो। नयाँ नगर सभापतिको रुपमा कोइराला निकट दीपक चापागाँई निर्वाचित भएका छन्।
चापागाईंले तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै भारी मतान्तरले सभापतिमा निर्वाचित भएका छन्। उनको निकटतम प्रतिद्वन्द्वी देउवा पक्षका सन्तोष न्यौपानेले १६५ मत ल्याउँदा चापागाईँले २१२ मतसहित महानगरको सभापति भएका हुन्। अर्का उम्मेदार कृष्ण कार्कीले १३३ मत ल्याएर तेस्रो भएका थिए। उनी पनि कोइराला निकट कै मानिन्छन्।
इटहरी उपमहानगरपालिका
इटहरी नगर सुनसरी जिल्लामा पर्ने भएको यहाँ संस्थापन पक्षका विजय गच्छदार, ज्ञानेन्द्र बहादुर कार्की, मिन विश्वकर्माको प्रभाव रहेको छ। तर इटहरीको नगर अधिवेशनको मत परिणामले पौडेल पक्षको प्रभाव देखिएको छ। असोज ९ गते भएको नगर अधिवेशनमा इतरपक्ष रामचन्द्र पौडेल समूहका हेमकर्ण पौडेल सभापतिमा विजयी बनेका छन्।
इटहरी नगरको दुई कार्यकाल सभापति भइसकेका पौडेलले देउवा समूहका विकाश केसीलाई हराएका हुन्। ४८२ क्षेत्रीय प्रतिनिधिले मतदान गर्दा पौडेलले २५३ मत पाएका थिए। केसीले भने २११ मत पाएका थिए। वाकपटुताका धनी पौडेल युवाहरुमाझ लोकप्रिय नेताका रुपमा चिनिन्छन्।
धरान उपमहानगरपालिका
सुनसरी जिल्लामै पर्ने धरानको राजनीतिले पनि पूर्वमा ठूलो प्रभाव पार्ने गर्दछ। यो नगरमा पनि पौडेल समूह संग निकट रहेका श्याम पोखरेल नगर सभापतिमा निर्वाचित भएका छन्।
नगर सभापतिमा एन्फाका वरिष्ठ केन्द्रीय उपाध्यक्षसमेत रहेका देउवा पक्षका उम्मेदवार किशोर राईलाई हराउँदै पौडेल पक्षका पोखरेलको प्यानल नै विजयी भएका छन्।
पोखरेलले ३९ मतले किशोर राईलाई पराजित गरेका छन्। पोखरेलले २ सय ६२ मत ल्याउँदा राईले २ सय २३ मत प्राप्त गरेका हुन्। धरान नगर केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीन विश्वकर्माको गृह नगर पनि पर्दछ।
विर्तामोड नगरपालिका
विर्तामोड नगरपालिका झपा जिल्लाको ठूलो नगरपालिकामा पर्दछ। नेता कृष्ण सिटौलाको गृह जिल्ला भएकाले यहाँ उनको बलियो प्रभाव रहेको छ। १५ वटा स्थानीय तह भएको झापाका अधिकांश पालिकाको सभापति सिटौला समूहका रहेका छन्।
झापा सिटौलाको मात्र नभएर प्रवक्ता विश्वप्रकाश शर्माको पनि गृह जिल्ला हो। देउवा समूहमा रहेका प्रवक्ता शर्मा र सिटौला समूहका नेताहरु प्यानल सहित निर्वाचनमा होमिएका थिए। तर विर्तामोड नगरपालिकामा सिटौला समूहका भोजराज सिटौलाले बाजी मारेका छन्। उनले देउवा समूहका निकटम प्रतिद्वन्द्वी कुलप्रसाद संग्रौलालाई पछि पारेका हुन्।
त्रियुगा नगपालिका
उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिका गाईघाट शहरमा पर्दछ। केन्द्रीय सदस्य तथा परराष्ट्र मन्त्री समेत रहेका डा.नारायण खड्काको गृह जिल्ला भएकाले उनको राम्रो प्रभाव रहेको छ।
यो नगरमा पनि निर्वाचन मार्फत नगर सभापति चयन भएको छ। सभापतिमा प्रकाश खड्का विजयी बनेका छन्। उनले निकटतम प्रतिद्दन्दी सुमित कुमार चौधरीलाई १२ मतान्तरले पछि पार्दै सभापतिमा निर्वाचित बनेका हुन्। विजयी खड्काले १९५ मत प्राप्त गर्दा चौधरीले १८३ मत पाएका थिए। निर्वाचित खड्का देउवा समूहका हुन् भने चौधरी पौडेल समूहका हुन्।







डिसी नेपाल








Facebook Comment