एमालेले पारित गरेको प्रतिवेदन दशैँअघि नै वितरण गरिने

डिसी नेपाल
२० असोज २०७८ २२:००
64
Shares

काठमाडौं । नेकपा एमालेले पार्टीको प्रथम विधान महाधिवेशनमा पारित गरिएको प्रतिवेदन दशैँअघि नै वितरण गर्ने तयारी गरेको छ ।

पार्टीले अहिले महाधिवेशनमा आएका सुझावको आधारमा राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव प्रतिवेदनलाई अन्तिम रूप दिइरहेको छ ।

एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले अहिले प्रतिवेदनको पुनर्लेखन भइरहेकाले दशैँ अगाडि सबै नेता तथा कार्यकर्ताको हातमा पुर्‍याउने बताए । ‘अहिले पारित गरिएको प्रतिवेदनलाई पुनर्लेखन गरिँदै छ’, उनले भने, ‘कमिटीले पार्टीलाई दिनेबित्तिकै छाप्नेछौँ ।’

उनले दशैँअघि छाप्न नभ्याए पनि विद्युतीय कपी सबै जिल्लामा पठाइने जानकारी दिए ।

गत १५ देखि १७ असोजसम्म भएको विधान महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक र उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव पारित गरेको थियो ।

एमालेले आगामी १० देखि १३ मंसिरसम्म १०औँ राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने निर्णय गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.