मन्त्रालय कम दिएको भन्दै नेकपा एकीकृत समाजवादीभित्र असन्तुष्टि

डिसी नेपाल
२१ असोज २०७८ १०:५६
1.0k
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबादुर देउवाले मन्त्रिपरिषद विस्तारको तयारी गरिरहँदा वर्तमान सरकार गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीभित्र असन्तुष्टि चुलिएको छ। आफ्ना भागमा कम मन्त्रालय परेपछि नेकपा एसभित्र असन्तुष्टि चुलिएको हो।

विगतमा भएको भद्र सहमति कार्यान्वयन गर्नुको साटो नेताहरुले बोली फेरिरहेको भन्दै नेकपा एसभित्र असन्तुष्टि चुलिएको हो। आफ्नो भागमा कम मन्त्रालय परेपछि सरकारमा सहभागिताको विषयमा छलफल गर्न आज स्थायी कमिटी बैठक बस्दैछ। उक्त बैठकले सरकारमा सहभागिताको विषयमा निर्णय गर्ने नेकपा एसका नेता मेटमणि चौधरीले जानकारी दिए।

यसअघि यसअघि ६ वटा मन्त्रालय दिने भद्र सहमति भएपनि अहिले आएर चारवटा मात्रै मन्त्रालय नेकपा एसको भागमा परेपछि पार्टीभित्र असन्तुष्टि बढेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको दल नेपाली कांग्रेसको भागमा सात वटा मन्त्रालय, माओवादी केन्द्रको भागमा ६ अनि नेकपा एस र समाजवादीलाई चार चार वटा मन्त्रालय दिने भएपछि सो निर्णयप्रति नेकपा एसले आपत्ति जनाएको हो।

‘हामी मन्त्री हुन कै लागि यी सबै कदम चालेको होइन,’ नेता चौधरीले भने, ‘तर कम्तिमा राजनीति गर्ने नेताहरुको बोलीमा इमान्दारिता र जवाफदेहिता हुनुपर्ने हो। विगतमा भएको भद्र सहमति कार्यान्वयन गर्नुपर्ने बेलामा अहिले बोली फेरिएको छ। यसले जनतामा राम्रो सन्देश जाँदैन।’

उनले आफूहरुले सहयोग नगर्ने गठबन्धन बलियो नहुने र अहिले नै गठबन्धनलाई कमजोर बनाउने पक्षमा आफूहरु नरहेको पनि बताए।
वर्तमान सरकार गठनमा माधव नेपालले ठूलो योगदान दिएका छन्।

पार्टीबाट विद्रोह गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मुख्य भूमिका निर्वाह गरेका नेता र उनको दललाई अन्तिममा आएर अवमूल्यन गरेको भन्दै पार्टीभित्रका नेता र कार्यकर्ताले धेरै चित्त दुखाएको एक नेताले जानकारी दिए।

तर नेकपा एसका स्थायी कमिटी सदस्य विरोध खतिवडाले भने सरकारमा सहभागी हुने विषयमा कुनै विवाद नरहेको दाबी गरे। उनले आज बस्ने स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने विषयलाई अन्तिम रुप दिने बताए।

नेकपा एसको भागमा पर्यटन तथा नागरिक उड्डयन, कानुन–न्याय तथा संसदीय मामिला, श्रम रोजगार तथा समाजिक सुरक्षा र सहरी विकास मन्त्रालय परेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.