नेपालमा थन्किएको पुरानो भारुबारे प्रश्न उठाउन पूर्व अर्थसचिवको सुझाव

डिसी नेपाल
२१ असोज २०७८ १२:१७
240
Shares

काठमाडौं । नेपाल सरकारका पूर्व अर्थसचिव रामेश्वर खनालले भारतले अवैध घोषणा गरेपछि नेपालमा थन्किएको पुरानो भारतीय रुपैयाँबारे भारतसमक्ष प्रश्न उठाउन भारत जान लागेको नेपाली कांग्रेसको टोलीलाई सुझाव दिएका छन्।

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा नेपाली कांग्रेसको नेतृत्व गर्दै कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतको टोली आज बिहीबार भारत जाँदैछ।

अहिले भारत जाने टोलीका नेतृत्वकर्ता डा. महत ५ वर्षअघि भारतले आफ्नो त्यतिबेलाको ५ सय र १ हजार दरको नोटलाई अवैध घोषणा गर्दा नेपालका परराष्ट्रमन्त्री थिए।

तत्कालीन समयमै नेपालमा रहेको भारतीय नोटबारे भारतसँग छलफल गरी नेपालीको वैध पैसा साटिने व्यवस्था गर्ने जिम्मेवारीमा रहेका कारण महत अहिले भारत जान लाग्दा उनलाई यसबारे स्मरण गराएको खनालले बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसंग सम्बन्ध सुदृढ पार्न महत सहितको टोली भारत पठाएको बताए पनि कांग्रेसको नजिकिदो महाधिवेशन र मन्त्रिपरिषद बिस्तार गर्न नसकेको बेला यो भ्रमणलाई अर्थपूर्ण तरिकाले हेरिएको छ।

महतको टोली भारत जाने भएपछि पूर्व सचिव खनालले ट्वीटर मार्फत नेपालका अधिकारीहरुलाई प्रश्न गर्दै भनेका छन्, ‘नोटबन्दीपछि नेपाली अधिकारीहरुले नेपालीसँग रहेका भारतीय नोटहरु भारतले स्वीकार गरिदिने बयान दिएका भए पनि भारतले आधिकारिक रुपमा नेपालीसँग रहेका ती नोटहरु स्वीकार गरेको छैन। के यो कुरा अब पूर्ण रुपमा बिर्सिएको हो ? केवल नेपाली कांग्रेसको प्रतिनिधिमण्डललाई स्मरण गराउनका लागि, जसको नेतृत्वकर्ता त्यतिबेला परराष्ट्रमन्त्री थिए ।’

उनको यो ट्वीट पश्चात भ्रमण टोलीका सदस्य उदयशमशेर राणाले यो खाले सुझाव दिएकोमा खनाललाई धन्यवाद ब्यक्त गरेका छन्। राणाले जवाफ दिँदै भनेका छन्, ‘हामीले यो विषय एकदमै ख्याल गरेका छौँ र यो विषयलाई गम्भिरता पूर्वक उठान गर्नेछौँ।’

खनालले ट्वीटरमा यस्तो लेख्नुको कारणबारे प्रस्ट पार्दै नेपाली गरिब जनताको श्रममा भारत सरकारले र नेपाल सरकारले खेलवाड गरेको आरोप लगाएका छन् । नेपालीसँग भएको त्यो नोट नेपालीले पसीना बगाएर कमाएको बताउँदै उनले ती नोट साटिनुपर्ने बताएका छन्।

‘२०७३ को कात्तिकमा भारतले पुरानो नोट प्रतिबन्ध लगायो। त्यो दशैं तिहारको समय थियो र भारतमा मजदुरी गर्ने नेपालीहरुले कमाएर ल्याएको पैसा भारतीय मुद्रामै ल्याएका थिए। उनीहरु ठूलो मर्कामा परेका छन्’ खनालले डिसीनेपालसँग भने ।

उनका अनुसार सुदुरपश्चिम प्रदेशको बझाङ, बाझुरा, डोटी, अछाम लगायतका जिल्लाहरुका युवा रोजगारको लागि भारत जाने गर्दछन्। ‘वर्षौ मजदुरी गरेर कमाएर ल्याएको पैसा ती श्रमिकहरुले प्रयोग गर्न पाएनन्’ उनले भने ‘सबैभन्दा मारमा ती गरिब वर्ग परेका छन्।’ भारतले नेपालसँग कुनै सल्लाह नगरी पुरानो नोट प्रतिवन्ध लगाउँदा परराष्ट्रमन्त्री डा.महत नै थिए ।

डा. महतले एक सार्वजानिक कार्यक्रममा यो विषयमा कुरा उठाउँछु भनेर प्रतिबद्धता गरेको समेत खनाल बताउँछन् । आज उनै महत भारत जाने भएपछि ट्वीटर मार्फत आग्रह गरेको खनालले बताए ।

‘भारतले रोटी बेटीको सम्बन्ध, संस्कार, संस्कृति समान छ भन्ने अनि नेपाल माथि बेला–बेलामा कुनै बहानामा पेलिरहने परम्परा छ’ उनले भने ‘नेपालका नेताहरु यस्ता विषय उठान गर्न नसक्दा यो विडम्वना दोहोरिइरहेको छ। २०७३ यता धेरै सरकार फेरिए तर यो विषयले निकास पाउन सकेको छैन।’

नेपालमा करिब ३ देखि ४ अर्ब जति पुरानो भारतीय मुद्रा थन्किएको खनाल बताउँछन् । डा. महत अहिले सरकारमा नभएपनि सत्तारुढ दलको एक प्रभावशाली नेता र पूर्व पराराष्ट्र मन्त्री भएकाले उनलाई यो विषय स्मरण गराएको खनालले बताए । ‘सरकारको प्रतिनिधि बनेर नगएको भए पनि परराष्ट्रमन्त्री भएको बेला गरेको प्रतिबद्धता त पूरा गर्नुपर्यो नि’ खनालले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.