नियुक्त भएको झण्डै तीन महिनापछि मन्त्रिपरिषदलाई पूर्णता दिँदै प्रधानमन्त्री देउवा

डिसी नेपाल
२२ असोज २०७८ ७:११
200
Shares

काठमाडौं। प्रधानमन्त्रीमा नियुक्त भएको झण्डै तीन महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्। देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका हुन्।

सत्ता गठबन्धन दलहरुबीच मन्त्रालयको भागवण्डामा सहमति जुटेसँगै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका हुन्। प्रधानमन्त्री देउवाले गठबन्धन दलहरुसँग मन्त्रीको नाम आजै दिन भनेका छन् र नाम प्राप्त हुनासाथ मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी छ।

‘सबै विषयमा सहमति जुटिसकेकाले आजै मन्त्रिपरिषदले पूर्णता पाउँछ,’ प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले डिसी नेपालसँग भने, ‘मन्त्रिपरिषद विस्तारको तयारी भएको छ। आजै मन्त्रीहरुको सपथ हुन्छ।’

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले आफूलाई कम मन्त्रालय दिएको भन्दै असन्तुष्टि जनाएपछि मन्त्रिपरिषद विस्तार धकेलिएको थियो।

तर बिहीबार बसेको नेकपा एसको स्थायी कमिटी बैठकले मन्त्रालय कम भएपनि सरकारमा सहभागी हुने निर्णय गरेपछि प्रधानमन्त्री देउवाले आजै सरकारलाई पूर्णता दिने तयारी गरेका हुन्। यद्यपी नेकपा एस र जसपाले भने मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएका छैनन्। नेकपा एसले आजै मन्त्रीको नाम बुझाउने जनाएको छ।

नेकपा माओवादी केन्द्रले बुधबार नै मन्त्री बन्नेहरुको नाम टुंगो लगाइसकेको छ। नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी ९जसपा० भने आन्तरिक छलफलमा छन्।

कांग्रेसले आठ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले पाँच मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीले चार मन्त्री र एक राज्यमन्त्री र जसपाले चार मन्त्री लिने सहमति यसअघि नै जुटिसकेको छ।  दलहरूबीच बिहीबार पनि छलफल भएको थियो। देउवा २९ असारमा प्रधानमन्त्री बनेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.