कांग्रेस अधिवेशन : डोटीमा को–को छन्, जिल्ला सभापतिको आकांक्षी?

डिसी नेपाल
२५ असोज २०७८ १२:०५

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा केन्द्रको मात्रै होइन, जिल्ला नेतृत्वका लागि पनि कसरत सुरु भएको छ। जिल्ला–जिल्लामा अधिवेशनको सरगर्मी छाएको छ। केही हिमाली जिल्लाहरुको अधिवेशन सम्पन्न पनि भइसकेको छ।

दशैं पछि हिमाली जिल्लामा चिसो बढ्ने भएकाले निर्वाचन समितिको सूचीअनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुम (पूर्व) र म्याग्दी गरी २१ जिल्ला हिमाली जिल्लाको सूचीमा राखिएको छ। तर, यी सबै जिल्लाहरुमा अधिवेशन सम्पन्न हुन सकेको छैन।

दशैं पछि अधिवेशन हुने जिल्लाको सूचीमा डोटी पनि पर्दछ। सुदूरपश्चिम प्रदेश अन्तर्गत रहेको जिल्लामा आधा दर्जन जति आकांक्षी देखिएका छन्। केन्द्रीय नेताहरु पनि आफू अनुुकुल नेतृत्व ल्याउन रस्साकस्सी चलेको छ। सभापति शेरबहादुर देउवाको गृह प्रदेश पर्ने भएकाले सबै सभापतिको आकांक्षी उनी समूहबाट नै देखिएका छन्।

डोटीमा जिल्ला सभापतिको आकांक्षीरुपमा वर्तमान सभापति प्रदीप देउवा नै पुनःनेतृत्वमा आउन कसरत गरिराखेका छन्। देउवा समूहकै शिखर नगरपालिका प्रमुख सीताराम जोशी, महासमिति सदस्य नरेन्द्र सिंह, पूर्व जिल्ला उपसभापतिद्धय दीपक बिष्ट र राम उपाध्याय, नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष पुष्पकुमार शाही उम्मेदवारीको आकांक्षीमा देखिएका छन्। इतर समूहबाट भने कोइराला समूह निकट मानिने लक्ष्मीराज पाठकको पनि चर्चा चलेको छ।

कुन समूह,बलियो ?

सभापति शेरबहादुर देउवाको गृह प्रदेश भएकाले सुदूरपश्चिमका अधिकांक्ष जिल्लाहरुमा विगत देखि नै उनकै बलियो प्रभाव रहेको छ। कुल ९ वटा स्थानीय तह रहेको डोटीमा २ वटा नगरपालिका र ७ वटा गाउँपालिका रहेको छ। असोज ९ गते भएको पालिका अधिवेशनमा सबै स्थानीय तहहरुमा देउवा समूहकै पालिका सभापति निर्वाचित भएका छन्।

पालिकाको यो नतिजाले पनि इतर समूहको उपस्थिती कमजोर रहेको पुष्टि भएको छ। तर देउवा समूहको अधिकारीक उम्मेदार को हुन्छन्? र कसले सभापतिमा बाजी मार्लान्? यसै भन्ने अवस्था नरहेकोले देउवा समुहबीच नै प्रतिस्पर्धा हुने अनुमान गर्न थालिएको छ। डोटीमा यो खाले रोचक राजनीति हुँदै गर्दा यहाँको राजनीतिमा केन्द्रीय सदस्य तथा पूर्व मन्त्री वीरबहादुर बलायर निर्णायक हुने डोटी कांग्रेस वृतमा चर्चा हुन थालेको छ।

बलायरको गृह जिल्ला भएकाले उनी पनि आफू अनूकुलको नेतृत्व ल्याउन चाहन्छन्। उनले कसलाई समर्थन गर्ने ? कस्लाई नगर्ने ? भनेर सार्वजानिक रुपमा भनेका छैनन्। तर उनी वर्तमान सभापति प्रदीप देउवासँग असन्तुष्ट भएकाले उनले भित्री रुपमा नरेन्द्र सिंहलाई समर्थन गर्न सक्ने डोटी कांग्रेसमा चर्चा र अनुमान लगाउन थालिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *